नेपाल घुम्न हतारिए चिनियाँ

October 20, 2019     Paryatan Yatra

लक्ष्मी लम्साल

बेइजिङ — नेपाल भ्रमण वर्ष २०२० को लागि चिनियाँ सद्भावना दूत नियुक्त भएपछि अभिनेत्री स्वी छिङ्प्रति चिनियाँ सर्वसाधारणले सकारात्मक र तीव्र प्रतिक्रिया जनाएका छन्।

सद्भावना दूत बने लगत्तै चिनियाँ ट्वीटर मानिने ‘वैपो’ सामाजिक सञ्जालमा उनले फोटो सहित आफ्नो प्रतिक्रिया लेखेकी थिइन्। केही घण्टामै लाखौं शुभेच्छुकहरूले उनीप्रति सद्भाव र गौरव लागेको भन्दै नेपाल यात्राका लागि व्यग्र प्रतीक्षा गरिरहेको उल्लेख गरेका छन्।

चिनियाँ समयअनुसार आइतबार दिउँसो सवा १ बजेतिर उनले नेपाल र चीनबीचको मित्रता युगौदेखि पुरानो रहेको उल्लेख गर्दै एउटा स्टाटस् वैपोमा पोस्ट गरेकी थिइन्। उनले लेखिन्, ‘नेपाल र चीनबीचको युगौं पुरानो मित्रता छ। हिमालय क्षेत्र रहस्य र सौन्दर्यले भरिएको छ। नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूत बन्न पाएकोमा अत्यन्त सम्मानित महसुस गरेकी छु।’

अभिनेत्री स्वी छिङले पोस्ट गरेको केही घण्टामै हजारौंले रिट्वीट गरेका छन् भने उत्तिकै संख्यामा कमेन्ट र लाइकहरू देखिएका छन्। अधिकांश प्रयोगकर्ताले नेपालको भ्रमण गर्न आतुर रहेको प्रतिक्रिया दिएका छन् भने कतिपयले मन्त्री योगेश भट्टराई र स्वी छिङ् सँगसँगै भएको तस्बिर पोस्ट गर्दै ‘राम्रो’ देखिएको टिप्पणी लेखेका छन्।

युआन् अर नाम गरेकी वैपो प्रयोगकर्ताले भ्रमण गर्न मन पराउने अभिनेत्रीका लागि पर्यटनदूत बन्नु निकै सान्दर्भिक अवसर भएको उल्लेख गरेकी छन्। अधिकांश प्रयोगकर्ताले जस्तै उनले स्वीलाई चिनियाँकी गौरवको संज्ञा दिएकी छिन्। स्याउ चिङ् नाम गरेकी वैपो प्रयोगकर्ता लेख्छिन्, ‘समय भएमा नेपाल यात्राको ‘भ्लग’ पोस्ट गर्नुहोस्, हामी पनि हेरौं, नेपाल कस्तो छरु’

‘रहस्यले भरिएको देश नेपाल, अर्की प्रयोगकर्ता समरले लेखेकी छन्, ‘मेरो नयाँ यात्राको पवित्र गन्तव्य।’ आफ्नो विदेश यात्राको एउटा गन्तव्य थपिएको भन्दै उनले स्वीबाट प्रभावित भएको जनाउ दिएकी छन्।

नेपालकी दुलही भन्दै जेड्वाईडब्लु एलडी नाम गरेका प्रयोगकर्ताले नेपालको प्राकृतिक दृश्यको भ्लग पर्खिरहेको प्रतिक्रिया लेखेका छन्। त्यस्तै स्याउ याथौ थोङले लेखेकी छन्, ‘रहस्यमयी तथा विशेष नेपाल, रहस्यमयी तथा विशेष तिमी।’

चिनियाँ रंगमञ्चमा निकै लोकप्रिय यी अभिनेत्रीका लाखौं प्रशंसक छन्। उनको यो नियुक्तिप्रति सौन्दर्य देवी, चिनियाँकी गौरव, रहस्यमयी सुन्दरी, अद्भूत प्रतिभाशाली जस्ता विशेषण प्रयोग गरेर धेरै वैपो प्रयोगकर्ताहरूले प्रशंसा गरेका छन्।

यो पोस्ट सार्वजनिक हुँदासम्म स्वी छिङका वैपो फलोअरको संख्या एक करोड ६८ लाख ५५ हजार भन्दा बढी पुगेको छ। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच चिनियाँ तथा हलिउड अभिनेत्री स्वीलाई नेपाल भ्रमण वर्ष सद्भावना दूत घोषणा गरिएको थियो।

सन् १९६९ मा बेइजिङमा जन्मिएकी स्वी छिङले ‘पियान् चौ पियान् छाङ्’ अर्थात् लाइफ अन अ स्ट्रिङ नामक छन् खाइ क निर्देशित चलचित्रबाट डेब्यू गरेकी थिइन्। हलिवुड तथा चिनियाँ चलचित्र दुनियाँमा निरन्तर सक्रिय स्वीको पछिल्लो उपलब्धी ‘गुड अगेन्स्ट् एभिल’ नाम चलचित्र गत वर्ष ५५औं ताइवान गोल्डेन हर्स अवार्डमा छानिनु थियो। यसबाहेक उनीद्वारा अभिनित नाटक, टेलिचलचित्र लगायत कलाकर्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारका लागि छानिएका थिए।

साभार. इ कान्तिपुरवाट

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.