तेह्रथुम । दक्षिण एशियाको सबैभन्दा अग्लो ह्यात्रुङ झरनालाई विकास गर्न पैदलमार्गको निर्माण गरिएको छ । तेह्रथुमको फेदाप गाउँपालिकामा पर्ने झरनामा जानका लागि ५ सय मिटरभन्दा बढी पैदलमार्गको निर्माण गरिएको हो । फेदाप गाउँपालिकाको ४ र ५ नम्बर वडाको सिमानामा रहेको झरना हेर्न आएकाहरू बास बस्ने स्थान नहँदा समस्या हुने गरेको छ । झरना हेर्न जाने पर्यटकले छातेढुङ्गासमेत हेर्न सक्ने भए पनि बासस्थानकै अभावमा पर्यटकहरू पाँचथर सदरमुकाम फिदिम तथा तेह्रथुम सदरमुकाम म्याङलुङ हँदै फर्कने गरेका छन् । सम्दुबाट झरनाको दृश्यावलोकन गर्न सजिलो छ । फेदाप गाउँपालिकाका अध्यक्ष हरि चोङवाङका अनुसार सम्दुतर्फ ३ सय मिटरमा सिँढी बनाएर पैदलमार्गको निर्माण गरिएको छ भने इसिबुतर्फ २ सय मिटरको पैदलमार्ग निर्माण गरिएको छ ।
झरनाको डीपीआर बनाइसकिएको छ । डीपीआरमा बञ्जी जम्पदेखि होम स्टेसम्मका योजना रहेका छन । गाउँपालिका र प्रदेश सरकारको सहयोगमा निर्माण भएको उक्त मार्गपछि बञ्जी जम्प तथा होमस्टेका लागि विज्ञहरूसँग छलफल भइरहेको चोङवाङले बताए । ‘पर्यटकलाई आकर्षित गर्नका लागि झोलुङ्गे पुल निर्माण गर्नुपर्ने आवश्यकता देखिएको छ’, उनले भने, ‘बजेट थोरै छ । प्रदेश तथा सङ्घीय सरकारसँग हारगुहार गरेर भए पनि ह्यात्रुङ गाउँपालिकाको भविष्य बनाउँछौँ ।’आगामी दिनमा गाउँपालिकाको मुख्य आम्दानीको स्रोत पनि झरना नै बनाउने लक्ष्य गाउँपालिकाको रहेको उनले बताए । होम स्टे पहिलो आवश्यकता देखिएको पनि उनले बताए । अहिले त्यहाँ गएर चिया खाने होटल समेत नभएको उनको भनाइ छ ।पर्यटकका लागि गुन्दु्रक, सिन्कीदेखि स्थानीय रैथाने जातका कुखुरा, ढिकीमा कुटेका चामलको भात, ढिकीमै कुटेका चिउरा खुवाउन सकिने उनको भनाइ छ । पेय पदार्थका रूपमा गाईभंसीको मोहीलाई प्राथमिकता दिने उनको भनाइ छ । पहिले हिउँदमा मात्रै सवारीका साधन चल्ने गरेकामा अहिले बर्खामा पनि चल्ने गरेको तथा खोलामा पक्की पुल बनिए थप पर्यटक तान्न सकिने उनको भनाइ छ ।
झरनाका विशेषताः
३ सय ६५ मिटर माथिबाट पानी भुइँमा झर्दा कपडाको भुवाजस्तै देखिने गरेकाले त्यही हेर्नका लागि समेत पर्यटक त्यहाँ पुग्ने गरेका छन् । प्रचारप्रसार नहुँदा धेरै पर्यटक पुग्न सकेका छैनन् । तराईका जिल्लाबाट पुगेका पर्यटकहरू झरनामा पुगेपछि हातमुख धुने मात्रै नभई नुहाइधुवाइ समेत गर्ने गर्छन । झरनाको मध्यभागमा घाम लाग्नेबित्तिकै आकर्षक इन्द्रेणीको दृश्य हेर्न पाइन्छ । सरकारको एक सय पर्यटकीय गन्तव्यको सूचीमा यो झरना परेको छ ।