टेम्केडांडाको काखमा आकर्षक महभीर झर्ना

September 22, 2019     Paryatan Yatra

पर्यटकीय क्षेत्र भोजपुरको टेम्केडाँडाको काखमा रहेको महभीर झर्ना पर्यटकको आकर्षणको केन्द्रको रूपमा स्थापित हुँदै गएको छ । करिब ६० मिटर अग्लो झर्नाको मनोरम दृश्य र भिरमौरी हेर्नका लागि पर्यटक यहाँ पुग्ने गरेका छन ।

भोजपुर सदरमुकामबाट २९ किलोमिटर र गाउँपालिकाको केन्द्रबाट ४ किलोमिटरपश्चिममा अवस्थित यो झर्नामा बाह्रै महिना पानी उत्तिकै मात्रामा बग्ने गर्दछ । झर्नाबाट झरेको पानीको फोहोराले पर्यटकको मन लोभ्याउने गरेको छ । दैनिक १० देखि १२ समूह झर्ना भएको स्थलमा रमाइलो गर्न पुग्ने गरेको गाउँपालिकाले जनाएको छ । गाउंपालिकाले यसको विकास गरेर आयआर्जनको स्रोत सङ्कलन गर्ने लक्ष्यका साथ यहांसम्म पुग्ने पदमार्ग निर्माण गरिएको छ ।

पर्यटकलाई यहाँ पुग्न निकै सहज भएसंगै आन्तरिक पर्यटकको आकर्षण बढेको हो । पर्यटकहरूले यहां पुगेर भीरमौरीसँगै झरनाको मनोरम दृश्य अवलोकन गर्ने गरेका छन । यसलाई अझ प्रचारसँगै आवश्यक पूर्वाधारको विकास गर्न सके गाउँपालिकालाई आर्थिक स्रोत सङ्कलन गर्न धेरै सहज हुने स्थानीयको भनाइ छ ।

स्थानीय शिव राईले भने, ‘यो झर्ना प्रचारप्रसारको अभावले ओझेलमा थियो । तर गाउँपालिकाले पदमार्ग निर्माण गरिदिएपछि अहिले यहाँ आउने पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको छ ।’ विगतमा प्रचारप्रसारको अभावले यो झर्ना निकै ओझेलमा परेको देखिन्छ । तर स्थानीय सरकार सञ्चालनमा आएपछि यसले प्राथमिकता पाएको छ । गाउँपालिकाले करिब ६ लाख बजेट विनियोजन गरेर सो क्षेत्रमा पुग्नका लागि पदमार्ग निर्माण गरिदिएपछि अन्तरिक पर्यटकको आगमन बढेको छ ।

यस झर्नाको विकास गर्नका लागि काम भइरहेको गाउँपालिका अध्यक्ष धु्रवराज राईले बताए । उनले भने, ‘हाम्रो गाउंपालिका पर्यटकीय तवरले निकै राम्रो छ । यहाँका पर्यटकीय क्षेत्रको विकासमा गाउँपालिका लागेको छ । यो झर्ना हेर्न आउने पर्यटकका लागि चिया नास्तालगायत कुरा खानाका लागि विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार गरेर संरचना निर्माणका काम अगाडि बढाउँछौँ ।’ मध्यपहाडी लोकमार्गले छोएको कारणले पनि यो झर्नामा आउने पर्यटकको सङ्ख्या दिनानुदिन बढिरहेको छ ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.