मार्टले विकासमा फड्को मार्ने व्यवसायीको विश्वास

September 22, 2019     Paryatan Yatra

शनिबारदेखि धरानमा शुरु भएको पूर्वी क्षेत्रको पर्यटकीय कुम्भ मेला इस्टटुरिज्म मार्टले प्रदेश एकको पर्यटन विकासमा कोसेढुंगा सावित हुने सरोकारवालाले बताएका छन् । नेपाल पर्यटन बोर्डको आयोजनामा शुरु भएको तीन दिने मेलामा स्वदेशसहित, भारत, बंगलादेश र भुटानका गरि करिव ५ सय पर्यटकको सहभागिता रहेको छ ।

इष्टटुरिज्म मार्टको दोस्रो संस्करणको रुपमा रहेको मेलामा विदेशीसहितको सहभागीताले नेपालको पर्यटकीय विकासमा फड्को मार्ने यहाँका व्यवसयीले विश्वास लिएका छन् । व्यवसायी कृष्ण शाहले नेपालको सम्भावित बजार नजिक भएपनि व्यवसायीकताको विकास नभएको बताउनु भयो । यस मेलाले व्यवसायीक गतिविधि बढ्ने र छिमेकी मुलुकसँगको सम्बन्ध थप बलियो समेत बन्ने दाबी गर्नुभयो ।

त्यस्तै विराटनगरका पर्यटन व्यवसायी पुण्य भट्टराईले व्यवसायीहरुबीच पुलको काम गर्ने बताउनु भयो । ‘यहाँको पर्यटकलाई विदेशसम्म पुर्याउने र त्यहाँका पर्यटक नेपाल भित्र्याउने महत्वपुर्ण भुमिका खेल्नेछ,’ उहांले भन्नुभयो । धरानका पर्यटनकर्मी वासुदेव बरालले एक दुइ कार्यक्रमले मात्र खासै परिवर्तनको महशुस नहुने भन्दै निरन्तरको प्रयासले लक्ष्य हांसिल गर्न सकिने बताए । ‘सामान्य शब्दमा यो हटिया हो’ उनले भने ‘यहाँ किन्ने र बेच्नेको संगम भएको छ, यस अघि सामुहिक तवरमा यस्तो भएको थिएन ।’ नेपालका प्रचुर सम्भावना बोकेका स्थललाई विदेशी पाहुनासमक्ष प्रचार गर्न पाउनु र त्यहाँ पुगेर प्रचार गर्ने वातावरणसम्म बनाउनुले अब प्रदेश एकको पर्यटनले आशालाग्दो मौका पाएको दाबी गर्नुभयो ।

छिमेकी मुलुक भारत र तेस्रो देशका पर्यटक भित्र्याउन सक्ने प्रसस्त आधार रहेपनि सरकारी र नीजि क्षेत्रबाट पर्याप्त पहल नभएको पर्यटन क्षेत्रसँग आवद्ध व्यवसायीको गुनासो थियो । दुबै क्षेत्रको सक्रिय सहभागीताले पूर्वको पर्यटनले काँचुली फेर्ने विश्वास लिइएको छ  । विदेशी पाहुनालाई यहाँका विभिन्न पर्यटकीय गन्तव्य घुमाएर प्रचारप्रसारमा सहयोग गरिदिन र थप पर्यटक नेपल भित्र्याउन आग्रह गरिने इष्टटुरिज्म मार्ट २०१९ आयोजक समितिका अध्यक्ष भवेश श्रेष्ठले जानकारी दिनुभयो ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.