तेह्रथुम
चोलुङ पार्क तेह्रथुमको लालीगुराँस नगरपालिकाको बसन्तपुर बजारमा पर्छ । परम्परागत शैलीका घर छन् । कुनै घरलाई खरले छाइएको छ भने कुनै घर झिँगटीले छाइएको छ । कतै अग्ला ढुंगा गाडिएका छन् भने हिँड्ने बाटो, बस्ने ठाउँ ढुंगाको बनाइएको छ । पोखरी, धारा, कुवा बनाइएको छ । गुराँसका सानासाना बोट छन् ।
पुष्पलाल (मध्यपहाडी) लोकमार्गसँग यो पार्क जोडिएको छ । थरीथरीका गुराँस फुल्ने टीएमजेको काखमा रहेको चोलुङ पार्क यहाँको मुख्य विशेषता बनेको छ । लिम्बू परम्परा झल्काउने गरी यो पार्क बनाइएको छ । लालीगुराँस नगरपालिकाले ६ वर्षअगाडिदेखि निर्माण सुरु गरेको यो पार्कका अनेक विशेषता छन् । यही विशेषतामा रमाउन, हेर्न र अध्ययन गर्न दैनिक आन्तरिक पर्यटक पुग्ने गरेका छन् । विभिन्न अवसरमा विदेशी पर्यटकसमेत पुग्ने गरेको बताइएको छ । पार्कआसपासमा गुराँसलगायतका बिरुवाहरू रोपिएका छन् ।
फेदाङ्बाले साँझ, बिहान आफ्नो प्रस्तुति राख्छन् । थरीथरीका गुराँस फुल्ने टीएमजे क्षेत्रको काखमा रहेको यस पार्क निर्माण गर्दा यहाँका संरचना अड्याउनबाहेक सिमेन्टको प्रयोग नगरिएको बताइन्छ । मेयर अर्जुनबाबु माबोहाङको परिकल्पनामा बनेको यो पार्कले जलवायु परिवर्तनमा स्थानीय भूमिका, प्राकृतिक संरक्षणलाई जोड दिएको बताइन्छ ।
‘चोलुङ लिम्बूहरूको परम्परा हो । जलवायु परिवर्तनले निम्त्याएको जोखिम न्यूनीकरण गर्नका लागि समुदायको, जातिको र सरकारको प्रयास हुनुपर्छ भन्ने हो । पहाडबाट बसाइँ सरेकाहरूलाई आफ्नो परम्परा देखाउन खोजिएको हो,’ माबोहाङ भन्छन्, ‘लिम्बू जातिमा ढुंगाको महत्त्व निक्कै छ । मुन्धुममा आधारित पार्क हो यो । गाउँघरबाट सामग्री संकलन गरेका छौँ । कतिपय किन्यौँ पनि ।’
न्युयोर्क टाइम्मले सन् २०२५ विश्वमा घुम्नुपर्ने १ सय स्थानमध्ये यो पार्कलाई ४२औँ स्थानमा राखेको छ ।
यहाँ संग्रहालय पनि बनाइएको छ । संग्रहालयमा मान्छेको परम्परागत जनजीवनमा प्रयोग हुने सामग्रीहरू संकलन गरेर राखिएको छ । अनेकन सामग्री छन् यहाँ । यहा निकै पुराना कागजात पनि भेला गरेर राखिएको छ । जसले अध्ययन अनुसन्धानमा सहयोग पुग्ने देखिन्छ । यो ठाउँमा गएर फोटो खिच्ने, घुम्ने रुचि बढ्दै गएको देखिन्छ । थप सूचनामूलक सामग्रीसमेत राख्दै लैजाने तयारी रहेको बताइएको छ ।
विकासका नाममा प्राकृतिक स्वरुप भत्काउने, जतासुकै सिमेन्टको प्रयोग गरेर संरचना निर्माण गर्ने काम भइरहँदा यो पार्क भने संरचना निर्माण गर्दा सिमेन्टको प्रयोग नगरिएकाले उदाहरणीय देखिन्छ । गत वर्ष मात्र यहाँ पर्यटकबाट १६ लाख राजस्व संकलन भएको छ । २० रुपैयाँको दरले प्रतिव्यक्ति टिकट काट्दा उक्त परिमाणको आम्दानी भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घमिराउले जानकारी दिए । अहिले भने टिकटदर वृद्धि गरेर प्रतिव्यक्ति ५० रुपैयाँ बनाइएको छ ।