इलाम । पर्यटन प्रवर्धनका लागि कचनकवल टु कञ्चनजंगा ट्रेलकाे रूपमा सरकारले विकास गर्न थालेपछि इलामको माई पोखरीमा पर्यटकहरूको आवागमन बढेको छ ।
सरकारले पर्यटकका लागि विभिन्न ट्रेलको विकास गर्न भौतिक पूर्वाधार र प्रचार प्रसारमा लगानी बढाउन थालेपछि माई पोखरी पुग्ने पर्यटकको सङ्ख्य बढेको हो ।
अहिले दैनिक ३ सय जति बाह्य तथा आन्तरिक पर्यटक माई पोखरी पुग्ने गरेको सन्दुकपुर गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष लीलबहादुर बुर्जाले बताए ।
माई पोखरी सन्दुकपुर गाउँपालिकाको वडा नम्बर ३ मा पर्छ । हिन्दु बौद्ध र किराँत धर्मावलम्वीहरुले माई पोखरीलाई आस्थाका साथ पूजा आजा गर्ने गर्छन् ।
मेची राजमार्गको विव्ल्याँटे बजारबाट करिब १३ किलोमिटरको दुरीमा प्रसिद्ध धार्मीक तथा पर्यटकीय स्थल माई पोखरी पर्छ ।
माई पोखरीमा पुग्न अव अढाई किलोमिटर मात्रै बाटो कालोपत्रे हुन बाँकी रहेको बुर्जाले बताए । बन क्षेत्र पर्ने भएकाले केही विवाद रहेकाले बाटो कालोपत्रे गर्ने काम अवरुद्ध भए पनि चाँडै सम्पन्न हुने बताए ।
माई पोखरीको पर्यटन विकासका लागि सङ्घीय, प्रदेश र स्थानीय सरकारहरूले काम गरिरहेको छ । प्रदेश सरकारले गत वर्ष मात्रै २५ लाख रुपैयाँ बजेट विनियोजन गरेकाले सूचना केन्द्रका लागि भवन बनाइएको छ ।
यस्तै माई पोखरीसँगै रहेको अर्को पोखरीमा पनि पानी लगेर डुङ्गा सञ्चालन गर्ने तयारी भएको छ । जोर पोखरीको रूपमा विकास गर्न खोजिएको हो ।
वडाध्यक्ष बुर्जाले भने, ‘अर्को पोखरीमा पनि पानी छ। नपुगेको पानी माई पोखरीबाट झार्ने गरी तयारी भइरहेको छ ।’
माई पोखरीमा वनस्पति विभागले बोटानिकल गार्डेन निर्माण गरेको छ । बोटानिकल गार्डेनमा विद्यार्थी र अनुसन्धानकर्ताहरू पुग्ने गरेका छन् । यस्तै माई पोखरीको सौन्दर्यीकरणका लागि वरी परि फेन्सिङ गर्ने र रङ् रोगन गर्ने काम सम्पन्न भएको छ ।
माई पोखरीमा अहिले होमस्टे र होटेल सञ्चालनमा रहेका छन् । यहाँ एकै दिन एक सय ५० भन्दा बढिलाई राख्न सकिने व्यवस्था भएको बुर्जाले बताए ।
समुन्द्री सतह देखि ७ हजार २०० फिटको उचाइमा रहेको यस पोखरीमा असोज, कार्तिक, मङ्सिर, फागुन, चैत्र र वैशाखमा बढी पर्यटकहरू पुग्ने गरेका छन् । माई पोखरी नौ कुने आकारको तारा आकृतिको छ ।
यसको क्षेत्रफल १।८८ वर्ग किलोमिटर क्षेत्रफल छ भने पोखरीको अर्ध व्यास ७५० मिटर रहेको छ । पोखरको वरी परि लौठ सल्ला, सुनाखरी, गलैंचे झ्याउ वनस्पति पाइन्छन् । माई पोखरीको पानी कञ्चन भएकाले पानीमा देखिने बाटो बिरुवाको आकृतिले सवैमा मन लोभ्याउँछ । माई पोखरी रामसार क्षेत्रको रूपमा सूचिकृत रहेको छ । यहाँ २ सय ५० प्रजातिका उभयचर र ३ सय प्रजातिका चार चराचुरुङ्गी बस्ने गरेको बताइन्छ ।
यस्तो छ धार्मिक महत्त्व
माई अर्थात् आमा र पोखरी अर्थात् तलाउ जसबाट माई पोखरी नाम रहेको भन्ने विश्वास गरिन्छ । माई पोखरीलाई देवीको रूपमा पूजा गरिन्छ आएको छ । माई पोखरीको दर्शन गरे मनोकामना पूर्ण हुने विश्वास रहेको छ । यहाँ मनोकामना पुरा होस भनेर भाकल गर्दै परेवा उडाउने प्रचलन रहेको छ ।
माई पोखरीमा खसेका पातहरू चराहरूले टिपेर बाहिर फ्याँक्ने गरेका किंवदन्तीहरू रहेको स्थानीयले बताएका छन् । पोखरीमा पञ्चेबाजा, शङ्ख घण्ट बज्ने गरेको अकस्मात् अनौठो ज्योति निस्कने गरेको समेत स्थानीयहरूले बताए ।
महाभारत कालमा पाँच पाण्डवहरू वनवास गएको बेला वराहक्षेत्र, अर्जुनधारा हुँदै माई पोखरीसम्म पुगेको जनविश्वास रहेको छ । माई पोखरीलाई हिन्दु, बौद्ध र किराँत मुन्धुम धर्मको आस्थाका रूपमा लिइन्छ ।
माई पोखरी परिसरमा सत्य धुनी आश्रम, निर्मला माई आश्रम, टाँसी छोलिङ गुम्बा, शिवालय, सरस्वती मन्दिर तथा भगवती मन्दिर रहेका छन् । वैशाखे पूर्णिमा र ठुली एकादशीका दिन माई पोखरीमा विशेष मेला लाग्ने प्रचलन रहेको छ । साभार नेपालप्रेस डटकम