रेडपान्डा जोगाउन कुकुर र बिरालोलाई खोप

October 23, 2024     Paryatan Yatra

दुर्लभ रेडपान्डा पाइने क्षेत्र आसपासका बस्तीमा रहेको बिरालोलाई खोप लगाइँदै ।

चन्द्र पन्दाक

ताप्लेजुङ, कात्तिक ७ गते। ताप्लेजुङमा रेडपान्डा जोगाउन कुकुर र बिरालोलाई रेबिजविरुद्ध खोप लगाउने अभियान सुरु गरिएको छ। अभियानअन्तर्गत रेडपान्डा पाइने क्षेत्र आसपासमा रहेका कुकुर र बिरालोलाई रेबिजविरुद्धको खोप लगाउन थालिएको हो।

विश्वमै दुर्लभ रेडपान्डा (हाब्रे) को संरक्षणमा क्रियाशील संस्था हिमाली संरक्षण मञ्च ताप्लेजुङले रेडपान्डा पाइने क्षेत्र आसपासका बस्तीमा पुगेर कुकुर र बिरालोलाई रेबिज खोप तथा भिटामिन दिने काम गरिरहेको छ। मञ्चका कार्यक्रम संयोजक रमेश राईका अनुसार फुङ्लिङ नगरपालिका–९ हाङ्देवा, वडा १० फुरुम्बु, वडा ११ फावाखोला र पाथीभरा क्षेत्रको काफ्लेपाटी तथा माथिल्लो फेदीमा रहेका कुकुर बिरालोलाई खोप लगाइएको छ।

यस्तै पाथीभरा याङ्वरक गाउँपालिका–३ तिरिङ्गे र सिरिजङ्घा गाउँपालिका–३ सिकैँचाका बस्तीमा रहेका कुकुर र बिरालोलाई रेबिजविरुद्धको खोप दिइएको कार्यक्रम संयोजक राईले जानकारी दिनुभयो। उहाँकाअनुसार हालसम्म ३६८ वटा कुकुर र बिरालोलाई खोप दिइएको छ। त्यस्तै कुकुर र बिरालोका लागि भिटामिन, लुतोको औषधि र जुम्राको औषधिसमेत वितरण गरिएको उहाँले जानकारी दिनुभयो।

जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्राविधिकहरूमार्फत अभियान सञ्चालन गरिएको राईले बताउनुभयो। मञ्चले आगामी कात्तिकको अन्तिम सातादेखि कुकुरको बन्ध्याकरण शिविर सञ्चालन गर्नेसमेत योजना बनाएको मञ्चले जनाएको छ। ताप्लेजुङमा रेडपान्डा नेटवर्कको आर्थिक सहयोगमा हिमाली संरक्षण मञ्चले रेडपान्डा संरक्षणसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। साभार गोरखापत्र अनलाइन डटकम

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.