‘लेटाङको आधार: कृषि, पर्यटन र पूर्वाधार’

September 29, 2024     Paryatan Yatra

लेटाङ।  मोरङ भन्नासाथ सामान्यतया असाध्यै गर्मी तराई क्षेत्र भन्ने बुझ्ने गरिएको छ । तर यो बुझाइ पूर्ण छैन । मोरङमा बाह्रमास शीतल हुने ठाउँहरू पनि छन् । पहाड छन् । झरना छन् । प्र कृतिका सुन्दर हरियाली क्षेत्र पनि छन् । उत्तरी मोरङमा पहाडी र भित्री मधेस क्षेत्र पनि पर्छ । ती स्थान प्राकृतिक सुन्दरता र कृषि कर्ममा अब्बल छन् । तीमध्येको एक हो– लेटाङ नगरपालिका ।

पूर्वपश्चिम राजमार्गबाट उत्तर धार्मिक र पर्यटकीय स्थलले भरिपूर्ण नगरका रूपमा लेटाङ चिनिन्छ । केही भौगोलिक विकटताका छ । तर प्राकृतिक स्रोतले भरिपूर्ण अनि पौरखी बासिन्दाको बसोबास भएकाले सुन्दर छ । समृद्धिको मार्गमा अघि बढिरहेको छ । स्थानीय तह निर्वाचनपछि आएको जनप्रतिनिधिको टिमले नगरमा विकासका कामलाई व्यवस्थित र तीव्र गतिमा अघि बढाइरहेको छ । 

नगरको प्रमुख चुनौती भौगोलिक विकटता हो । यसलाई चिर्दै पूर्वाधार विकाससँगै पर्यटकीय क्षेत्रलाई प्राकृतिक स्वरूपमै व्यवस्थित बनाउने, धार्मिक गन्तव्यहरूलाई अझ सुविधायुक्त बनाउनेदेखि शैक्षिक केन्द्रहरूको विकासमा नगरपालिकाले विशेष ध्यान दिइरहेको छ ।

पहाड र भावर प्रदेशको समतल भौगोलिक अवस्था रहेको उत्तरी मोरङको लेटाङ नगरपालिका प्रदेश १ को राजधानी विराटनगरबाट ४९ किलोमिटर पूर्वोत्तरमा छ । २०७३ सालमा लेटाङ भोगटे नि नगरपालिका, वारंगी गाउँ विकास समिति र जाँते गाउँ विकास समितिका ७ वटा वडाहरू मिलाएर लेटाङ नगरपालिका बनाइएको हो । यहाँ ९ वटा वडा छन् ।

२०६८ सालको जनगणना अनुसार नगरको जनसङ्ख्या ३२,०५३ छ । २१९.२३ वर्ग किलोमिटर क्षेत्रफलमा रहेको लेटाङ नगरपालिका समुद्र सतहबाट २७६ देखि २४१० मिटरसम्म उचाइमा अवस्थित छ ।

पूर्वमा मिक्लाजुङ गाउँपालिका, पश्चिममा केराबारी, उत्तरमा धनकुटाको चौबीसे गाउँपालिका र दक्षिणमा मोरङकै बेलबारी नगरपालिकासँग लेटाङ जोडिएको छ । कानेपोखरी गाउँपालिका र पथरीशनिश्चरे नगरपालिकासँग पनि सीमा जोडिएको छ । निर्वाचन क्षेत्रका हिसाबले लेटाङ मोरङको क्षेत्र नम्बर १ मा पर्छ ।

 

कसरी पुगिन्छ लेटाङ बजार

हवाई यात्रा गर्दा काठमाडौँबाट ३० देखि ४५ मिनटमा विराटनगर विमानस्थल पुगिन्छ । विराटनगरबाट २ वटा सुविधा सम्पन्न सडकमध्ये कुनै रोज्न सकिन्छ । 

विराटनगरबाट पुष्पलाल चोक, झोरा हाट हुँदै विराट चोक, बेलबारी हुँदै जाने हो भने ४९ किलोमिटर पार गर्नुपर्छ । पुष्पलालचोक–विराट चोक सडक अहिले फोरम्यानको बन्दै छ । निर्माण पूरा भएसँगै लेटाङ जानलाई यो सडक छोटो र छिटो पनि हुनेछ ।

विराटनगरबाट इटहरी हुँदै जाने हो भने ५७ किलोमिटर पार गर्नुपर्छ । विराटनगर–इटहरी–विराचोक–बेलबारी हुँदै कानेपोखरी बजारभन्दा पूर्वतर्फ रहेको कालोपत्रे सडकबाट उत्तर लागेपछि लेटाङ पुग्न सकिन्छ । कानेपोखरी वाट लेटाङ बजारसम्मको दूरी ७ किलोमिटर हो । यहाँ जान सार्वजनिक यातायात र भाडाका अरू साधन सहजै पाइन्छ । विराटनगरबाट लेटाङ बजार पुग्न करिब डेढ घण्टा लाग्छ ।

काठमाडौँबाट सडक यातायातमा इटहरी हुँदै लेटाङ बजार जाने हो भने ३९७ किलोमिटर यात्रा गर्नुपर्छ । यात्रा अवधि ८ देखि १० घण्टासम्मको हुने छ । काठमाडौँबाट सिधै लेटाङ बजार जाने साधन नपाइए झापाको काँकडभिट्टा जाने साधनमा आएर कानेपोखरी ओर्लनुपर्छ ।

त्यहाँबाट ७ किलोमिटर यात्राका लागि सार्वजनिक बस, ट्याक्सी, ट्याम्पो जस्ता सवारी साधन सहजै पाइन्छ । लेटाङ बजारमा बस्नका लागि सुविधा सम्पन्न होटलहरु प्रशस्तै छन् ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.