‘कोशी प्रदेश पर्यटन वर्ष–२०८२’ घोषणा

September 27, 2024     Paryatan Yatra

डेभिड घिमिरे

विराटनगर । कोशी प्रदेश सरकारले आगामी वर्ष २०८२ साललाई ‘पर्यटन वर्ष’ घोषणा गरेको छ । विश्व पर्यटन दिवसको अवसरमा शुक्रबार विराटनगरको होटल स्टन स्टारमा आयोजित कार्यक्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी प्रदेश पर्यटन वर्ष–२०८२’ घोषणा गर्नु भएको हो ।

मुख्यमन्त्री कार्कीले भौगोलिक, सामाजिक, सांस्कृतिक तथा जैविक विविधताले भरिपूर्ण कोशी प्रदेश पर्यटकीय दृष्टिकोणले अत्यन्तै उर्वर रहेको बताउनु भयो ।  विश्वको सर्वोच्च शिखर सगरमाथासहित १० अग्ला हिमाल मध्ये ५ वटा मकालु, ल्होत्से, कञ्चनजङ्घा र कुम्भकर्ण हिमालले विश्वका पर्यटकहरूको ध्यान आकृष्ट गर्ने उहाँको भनाइ थियो । पर्यटकीय गन्तव्यहरू पाथिभरा, वराहक्षेत्र र हलेसी, खुवालुङदेखि माङ्सेबुङ, फक्ताङ्लुङ, तुवाचुङ, जायजुङ जस्ता ऐतिहासिक र धार्मिक सम्पदाहरूले हाम्रो सामाजिक र धार्मिक विविधतालाई उजागर गरेको उहाँले बताउनु भयो ।

‘रमणीय कोशी’ भन्ने नाराका साथ २०८२ लाई कोशी पर्यटन वर्ष घोषणा गरेको सरकारले ८२ पर्यटकीय गन्त्व्यको सूची पनि तयार गरेको पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले जानकारी दिनु भयो । कोशी प्रदेश पर्यटन वर्षको लागि सरकारले १० करोड रुपैयाँ बजेट राखेको छ । पर्यटन पूर्वाधार र अन्य पर्यटन सम्बन्धी शीर्षकमा १ अर्ब ७ करोड बजेट रहेको सचिव घिमिरेले बताउनु भयो । ८२ सालमा मनाइने पर्यटन वर्षको लागि ८२ स्थान छनोट गने उहाँको भनाइ थियो ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउतले कोशी प्रदेशको विकासको लागि पर्यटन र कृषिलाई एकसाथ अघि बढाउनुपर्ने बताउनु भयो । निजी क्षेत्रले भोग्ने समस्यालाई समाधान गर्न प्रदेश सरकारले सहजीकरण गर्नुपर्नेमा जोड दिँदै उनले पर्यटन वर्ष सफल बनाउन निजी क्षेत्रले हातेमालो गर्ने प्रतिबद्धता जनाउनु भयो ।

पर्यटन वर्षका लागि भारतीय नाकाबाट प्रवेश गर्ने पर्यटनको सवारीमा स्टिकर टाँस्ने र स्टिकर टाँसेपछि सडकमा यात्रामा थप चेकजाँच नगर्ने व्यवस्था मिलाएका सरकारले जनाएको छ । प्रदेश सरकारले तयार गरेको स्टिकर शुक्रबार नै कोशी प्रदेश प्रमुख डिआईजी चन्द्रकुबेर खापुङलाई हस्तान्तरण गरिएको छ ।

पर्यटन बर्ष घोषणा समारोहमा मुख्यमन्त्री कार्कीले गर्नु भएको भाषण…..

आज सेप्टेम्बर २७ विश्व पर्यटन दिवस, विश्वभर पर्यटन, न्याय र शान्ति भन्ने मुल नाराका साथ मनाइँदै छ, र नेपालमा पनि यो दिवस लाई महत्वका साथ आज मनाईरहेका छौ । यस सुखद् अवसर पारेर कोशी प्रदेश सरकारले आगामी वर्ष २०८२ साललाई कोशी पर्यटन वर्ष मनाउने घोषणा गर्ने उद्देश्यका साथ यो कार्यक्रमको आयोजना गरीएको हो।

विश्व पर्यटन दिवसको अवसरमा सम्पूर्ण कोशी प्रदेश तथा देशविदेशमा रहनु भएका दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

सगरमाथा आरोहण गरेर फर्कदै गर्दा मृत्युवरण गर्नु भएकी नेपालकी प्रथम महिला आरोही पासाङ ल्हामू शेर्पा तथा हिमाल आरोहण र पर्यटनका विविध क्षेत्रमा विश्व रेकर्ड राखेर नेपालको नाम उच्च पार्ने सम्पूर्णलाई सम्झन चाहान्छु ।

साथै पर्यटन क्षेत्रका अगुवा, सरोकारवाला र अभियन्ताप्रति उच्च सम्मान व्यक्त गर्दछु । संयुक्त राष्ट्रसंघको आव्हानमा सन् १९८० देखि विश्व पर्यटन दिवस मनाउन थालिए सँगै हामीले पनि पर्यटनलाई थप प्राथमिकतामा राखेर अघि बढेका छौ ।

सरकारी तवर बाट पहिलो पटक पर्यटन क्षेत्रको प्रवर्धन गर्ने उद्देश्यका साथ भिजिट नेपाल १९९८ लाई सफलता पुर्वक कार्यान्वयन गरीएको जानकारी नै छ । यसको सिकाई र अनुभवका आधारमा हामीले पर्यटन प्रर्वद्धनका लागि धेरै काम गरिरहेका छौँ । यस पछी सन् २०२० लाई भ्रमण वर्षका रुपमा नेपाल सरकारले अघि बढाउन नपाउदै कोभिड १९ बाट विश्व नै आक्रान्त हुन पुग्यो  जसका कारण यसले पूर्णता पाउन सकेन । कोभिड १९ को विश्वव्यापी महामारी र पछिल्लो समय हामीले खेप्नु परेको आर्थिक शिथिलताले पर्यटन क्षेत्र पनि अछुतो रहन सकेन । हामिले अब यी प्रतिकुलताहरु लाई छिचोल्दै अघि बढ्नु पर्नेछ । यसमा कोशी प्रदेश सरकार नीतिगत, कार्यगत र व्यवस्थापकीय कार्यहरु गर्ने सोच र दृष्टिकोण निर्माण गरी अघि बढ्ने प्रयत्न गरीरहेको छ । यसको प्रस्थान बिन्दुका रुपमा “ कोशी प्रदेश पर्यटन वर्ष २०८२” लाई लिन सकिन्छ  ।

कोशी प्रदेश पर्यटनको हिसाबले नेपालको मात्रै नभइ विश्वकै उत्कृष्ट गन्तव्य भएको प्रदेश हो । हामीले यथोचित प्रचारप्रसार र गन्तव्यहरुको प्रर्वद्धन गर्न नसक्दा चाहेजस्तो उपलब्धि हासिल गर्न सकेका छैनौँ ।

हाम्रो पर्यटन क्षेत्रको विविधतालाई उजागर गर्दै विश्वसामू चिनाउ सक्यौँ भने कोशी प्रदेश छिट्टै नै संवृद्धिको यात्रामा अघि गर्न मद्दत पुग्नेछ ।

नेपालको सबैभन्दा होचो भूभाग झापाको केचनादेखि विश्वकै सर्वोच्च शिखर सगरमाथा कोशी प्रदेशमा रहनुले पर्यटकीय विकास र सम्भावनामा हामी भाग्यमानी छौँ । पर्यटकलाई आफूतिर आकर्षित गर्ने विश्वको सर्वोच्च शिखर सगरमाथा सहित मकालु, ल्होत्से, कन्चनजंघा र कुम्भकर्ण हिमाल कोशी प्रदेशमा पर्छन् । सगरमाथा राष्ट्रिय निकुञ्ज, कञ्चनजंघा संरक्षण क्षेत्र र कोशी टप्पु वन्यजन्तु आरक्ष जस्ता पर्यटकीय स्थल यहीँ छन् ।

प्राकृतिक मात्र नभई धार्मिक र सांस्कृतिक पर्यटनको प्रचुर सम्भावना पनि कोशी प्रदेशमा छ । पाथिभरा, बराहक्षेत्र, रामधुनी, हलेसी, विजयपुर, चौदण्डीगढी, उदयपुर गढी, हिलिहांग, हतुवागढ़ी, बिराट राजाको दरबार, अर्जुनधारा, खुवालुङदेखि फक्ताङ्लुङ, तुवाचुङ, जायजुङ माङ्सेबुङ, तिम्बुंग पोखरी, सभापोखरी, गुफापोखरी जस्ता ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक सम्पदाहरुले हाम्रो सामाजिक, सांस्कृतिक तथा धार्मिक विविधतालाई उजागर गरेको छ । यसैको जगमा उभिएर हामीले हाम्रो पर्यटनलाई प्रर्वद्धन गर्न सक्दछौँ ।

कोशी प्रदेश यी धार्मिक तथा प्राकृतिक सम्पदाकै जगमा मुलुककै पर्यटनको ‘हब’ बन्छ । पोकली झरना, ह्याथ्रुंग झरना, कन्याम, श्रीअन्तु, नाम्चे, पाताले, भेडेटार, नमस्ते झरना, हिले, तीनजुरे  मिल्केजलजले, जेफाले आदि उत्कृष्ट पर्यटकीय क्षेत्र गन्तव्य हुन् ।

प्याराग्लाइडिङ  तथा तमोर तथा कोशी ¥याफ्टिङ जस्ता सहासिक खेल पर्यटनले हाम्रो पर्यटकीय आधार लाई बलियो बनाएको छ । चियाको राजधानी भनेर चिनिने इलामको  सन्दकपुर, कन्याम, माइपोखरी पूर्वी नाकाबाट नेपाल छिर्नेहरुलाई स्वागत गरिरहेको दृष्य हामीले देखिरहेका छौँ ।

विश्वमै दुर्लभ रेडपान्डा, अर्ना लगायत जैविक विविधतायुक्त पर्यटकका लागि आर्कषणको केन्द्र बन्न सक्छ । एकै स्थानमा २८ प्रजातिका गुराँस फुल्ने टि एम जे क्षेत्रमा गुराँस फुल्ने मौसम सुरु भएसँगै विदेशी पर्यटकलाई आकर्षित गर्न सकिन्छ । हामीले यही समयलाई मध्यनजर गरेर पर्यटन वर्षको भव्य उद्घाटन गर्ने तयारी गरेको यहाँहरुलाई जानकारी गराउन चाहन्छु ।

हिमाल आरोहण, बन्जी जम्पिङ, रक क्लाइम्बिङ, क्यानोइङ, कायाकिंग, प्याराग्लाइडिङ आदि साहसिक पर्यटन मार्फत हामीले गुणस्तरीय पर्यटकहरुलाई भित्र्याउन सक्छौँ ।

मुद्राहरुको सहज प्रयोग, अन्तर्राष्ट्रिय सञ्चारमाध्यम, सञ्चारको तिब्र विकास र बिश्वब्यापीकरण, इन्टरनेटको सहज पहुँच, बिश्व एक गाउँ अर्थात संसार एउटा सानो गाउँ जस्तो बन्दै जानु, अन्तर्राष्ट्रिय संगठनहरु स्थापित र विकसित हुँदै जानु, शिक्षा, खेलकुद, सभा–सम्मेलनको अन्तर्राष्ट्रिय सञ्जाल बन्दै जानु आदि कारणले पर्यटन उद्योग विश्वव्यापी र विशाल उद्योग बन्दै गएकोछ ।

राष्ट्रिय पूँजीको विकास नगरी हाम्रो मुलुकले  संवृद्धि हासिल गर्न सक्दैन,  मुलुकको संवृद्धिका लागि राष्ट्रिय पूँजी आवश्यक पर्दछ । यसको एक महत्वपूर्ण आधार भनेको नै नेपालको पर्यटन प्रर्वद्धन हो । कोशी प्रदेशको संवृद्धि र विकासका लागि पर्यटन मूलआधार स्तम्भ हो ।

पर्यटनको माध्यमबाट रोजगारी सृजना गर्दै रोजगारीका लागी यूवाहरुको पलायन रोक्नका लागि पनि यसको विकासमा लाग्नु आजको आवश्यक्ता हो । पर्यटन क्षेत्रको विकास र बिस्तार सरकार एक्लैले गर्न सक्दैन यसका लागि निजी क्षेत्र, पर्यटन व्यवसायी र सरोकारवालाहरुको साथ, सहयोग र सहकार्य आवश्यक छ ।

प्रदेश सरकार पर्यटन क्षेत्रको विकास र पर्यटन वर्ष लाई उत्सवका रुपमा मनाउनका लागि निजी क्षेत्र र पर्यटन व्यवसायीहरुलाई सँगसँगै लिएर हिड्न चाहान्छ । यसका लागि म मुख्यमन्त्रीको हैसियतमा सहकार्यका लागि सम्पूर्ण सरोकारवालाहरुमा आग्रह र आव्हान पनि गर्न चाहन्छु ।

मुलुक संघीय संरचनामा गए सँगै तीन तहको सरकार छ । तीनै तहको सरकारको सहकार्य, समन्वय र सहयोगमा पर्यटन क्षेत्रका पूर्वाधारको विकास र सुधारमा लाग्ने प्रतिबद्धता व्यक्त गर्दछु । दुई विशाल मुलुकको बीचमा रहेको हाम्रो सुन्दर मुलुकमा दुई देशका पर्यटकहरुलाई मात्रै भित्र्याउन सक्यो भने पनि हामीले ठुलो उपलब्धि हासिल गर्न सक्छौ ।

खास गरेर सीमा जोडिएको भारतको सिक्किम, बिहार, पश्चिम बंगाल लगायतका पर्यटकलाई मात्रै भित्र्याउन सक्यौँ भने ठुलो उपलब्धि हुन्छ । यसका लागि कोशी प्रदेशमा आउने पर्यटकलाई सहज बनाउनका लागि पहल सुरु गरिएको छ । पर्यटकीय सवारी साधन हरु लाई पटक पटक राजमार्गमा हुने चेकजाँच बाट सृजना हुने असहजताको अन्त्य गर्दै व्यवस्थित गर्नु पर्नेछ । यसका लागी हामीले आज बाट प्रवेश विन्दु मै सुरक्षा जाच स्टिकर प्रदान गर्ने शुरुवात गरीसकेका छौ ।

राजनीतिक अस्थिरताका कारणले पनि हामिले सोचेजस्तो उपलब्धि हासिल गर्न सकिरहेका छैनौ  । आज देश संवृद्ध नेपाल, सुखी नेपालीको रास्ट्रीय आँकाक्षा पूरा गर्न लम्किरहेको छ । कोभिड १९ को महामारी पछि थलिएको अर्थतन्त्र र पर्यटन क्षेत्रलाई विस्तारै सुधार तर्फ लैजान हामीले गर्न लागेका सुधारात्मक कामहरुले आर्थिक गतिविधि अवश्य बढ्नेछ भन्ने मैले विश्वास लिएको छु ।

पर्यटनको माध्यमबाट वैदेशिक मुद्रा आर्जन गर्न सकिने भएकाले यसले विदेशी मुद्रा संचितिमा समेत उल्लेख्य योगदान गर्नेछ । साथै, थप नयाँ रोजागरी सृजना भई बेरोजगारी समस्या न्यूनीकरण गर्ने मैले विश्वास लिएको छु।

नेपालको विद्यमान जैविक, धार्मिक तथा सांस्कृतिक विविधता र सद्भावपूर्ण सामाजिक व्यवहारका कारण पनि सम्पूर्ण विश्वको ध्यानाकर्षण भएको छ ।

पर्यटनको विकास र प्रवर्धनका लागी कोशी प्रदेशले हरेक प्रकारका पर्यटकलाई समुचित व्यवस्थापन गर्न सक्नु पर्छ । धार्मिक पर्यटकहरु लाई केन्द्रित गरेर सोहि बमोजिमको पूर्वाधार विकास, विलासी प्रकृतिका पर्यटकहरूका लागि पर्याप्त सुविधा–सम्पन्न होटलहरू निर्माण गर्ने र  पर्वतारोहण, ट्रेकिङ, शाहसिक खेलका  लागि आउने पर्यटकहरुको लागी पनि राम्रो व्यवस्थापन गर्नु पर्छ । यसका लागी कोशी प्रदेश सरकार निजि क्षेत्र सगको सहकार्यमा अघि बढन प्रतिबद्द छ । हाम्रा नीति तथा कानूनहरुले केहि समस्या छन् भने पनि समयानुकुल सुधारका निम्ति संघिय सरकार र स्थानीय तहहरु सग आवश्यक पहल गर्न पनि कोशी प्रदेश सरकार अग्रसर छ ।

“कोशी प्रदेश पर्यटन वर्ष २०८२” कोशी प्रदेशको पर्यटन सग सम्बन्धित नीति निर्माण, सम्रचनाहरुको निर्माण र पर्यटकीय पूर्वाधार विकास गर्दै पर्यटन मार्फत सम्वृद्धिको आधार खोज्ने वर्षको रुपमा हुनेछ । यसका लागी तीनै तह कै सरकार, पर्यटन क्षेत्र, निजि क्षेत्र तथा सम्पूर्ण सरोकारवाला हरुको सहभागीता र पहलकदमीमा भब्य रुपमा सम्पन्न हुने विश्वास लिएको छु । पुनः विश्व पर्यटन दिवसको शुभकामना ब्यक्त गर्दै यहाहरुको गरीमामय उपस्थितिका लागी हार्दिक आभार ब्यक्त गर्दै विदा हुन चाहन्छु ।  धन्यवाद

कोशी प्रदेश पर्यटन बर्ष, २०८२ को तयारी

विशाल घिमिरे, सचिव, पर्यटन वन तथा वातारणमन्त्रालय

  • पर्यटन राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधार हो । कोशी प्रदेश अनुपम प्राकृतिक सौन्दर्य, प्रचुर जैविक विविधता, बहुजातीय, बहुभाषीय, बहुधर्म र सामाजिक विविधता एवं ऐतिहासक तथा साँस्कृतिक सम्पदाले भरिपूर्ण रहेको ।
  • धरातलीय हिसाबले सर्वोच्च शिखर सगरमाथादेखि होचो स्थान समुद्री सतहभन्दा ७० मिटर उचाइमा रहेको झापाको केचनाकवलसम्म रहेको संसारकै एकमात्र भूभाग ।
  • अरुण उपत्यका, कोशी टप्पु वन्यजन्तु आरक्ष, चियाको राजधानी इलाम, लालीगुराँसको राजधानी तिनजुरे मिल्के जलजले, सूर्योदय र सूर्यअस्तका दृष्यावलोकलन गर्न सकिने आकर्षक स्थलहरुलेकोशी प्रदेशलाई समृद्ध बनाउने क्षमता राख्ने ।
  • कोशी प्रदेश पूर्वीय सभ्यताको महान् संगमस्थल पनि हो ।बराहक्षेत्र, रामधुनी, हलेसी, पाथीभरा, विराटराजाको दरबार र विभिन्न साँस्कृतिक एवं पुरातात्विक महत्व बोकेका धार्मिक एवं पर्यटकीय स्थलले कोशी प्रदेशलाई विशेष वनाएको ।
  • किराँत सभ्यताको उदगम र विकास यही प्रदेशमा भएको भनी इतिहासमा पढ्न पाइने । बिजयपुर, लारुम्बा, लब्रिकुटी, मुक्कुमलुङ, खुवालुङ, तुवाचुङ जस्ता क्षेत्रहरु कोशी प्रदेशको सभ्यतासँग जोडिएका।
  • जैविक विविधता, प्राकृतिक सौन्दर्यता र साँस्कृतिक विविधताको दृष्यावलोकन गर्दै ट्रेकिङ्ग गर्न सकिने पदमार्गहरुले कोशी प्रदेशको पर्यटनलाई मौलिक बनाएको छ ।
  • कोशी प्रदेशलाई प्रकृति, वनस्पति, पंक्षी तथा जीवजन्तुका आधारमा समेत विविधतापूर्ण बनाएको । संसारमै दुर्लभ तथा लोपोन्मुख मानिएको जनावर रातो हाब्रे (रेड पान्डा) यस प्रदेशको गहना रहेको। कोशी नदी र आसपासको क्षेत्रमा पाइने विभिन्न प्रकारका चराचुरुङ्गीर कोशी टप्पुमा पाइने अर्नाले विश्‍वको ध्यान आकृष्ट गरेको ।
  • पर्यटन विकासका लागि पर्यापर्यटन, हात्तीमैत्री पर्यटन, जंगल सफारी, प्याराग्लाइडिङ्ग, र्‍याफ्टिङ्ग, स्काइवल्क, खेल पर्यटन कोशी प्रदेशको समृद्धिका आधारका रुपमा रहेका छन र विश्‍व विख्यात रहेका ।

हालसम्मको उपलब्धी

कोरोना महामारीपछिको अवस्थाबाट राष्ट्रिय पर्यटन पूरानै लयमा फर्किएको विभिन्न तथ्याङ्कले देखाए तापनि कोशी प्रदेशको पर्यटनमा भने उल्लेख सुधार गर्न सकिएकोछैन । पर्यटन क्षेत्रको दिगो विकासः प्रदेश समृद्धिको आधार भन्ने क्षेत्रगत सोच तय गरी जारी भएको प्रदेशको प्रथम आवधिक योजनाको उपलब्ध सन्तोषजनक छैन ।

  • कोशी प्रदेशमा तारे स्तरका होटल कुल १२ वटा, पर्यटकीय स्तरका होटेल ३६ वटा, निजी र सामुदायिक गरी कुल १०५ वटा होमस्टेहरु रहेका ।
  • यस प्रदेशमा हाल ७१ वटा ट्राभल तथा ट्रेकिङ एजेन्सीले पर्यटकहरुलाई बिभिन्न पर्यटकीय सेवा उपलब्ध गराईरहेका छन् । कोशी प्रदेशमा ट्रेकिङ गाइडको संख्या ८७ र टुरगाइड २८९ र पोर्टरगाइड ८५ जना रहेका छन् ।
  • प्रदेशमा ४ स्थानमा र्‍याफ्टिङ सञ्चालनमा रहेका छन् भने इटहरीको इप्पील्याण्ड, झापाको ह्याप्पील्याण्ड र भेडेटार-देविथान जीपलाइन, भेडेटार र कन्याममा स्काईवाकका साथै जङ्गल सफारीका रुपमा माउण्टेन साइक्लिङ तथा रक क्लाइम्विङ, इलामको स्काइवाक र बुढासुब्बा तथा बेलकामा प्याराग्लाइडिङ सञ्चालनमा रहेका ।
  • स्वीस सरकारको सहयोग तथा तिनैतहका सरकारहरुको सहलगानीमा यस प्रदेशमा (चियाबारी पदमार्ग, लालीगुराँस पदमार्ग, फाल्गुनन्द पदमार्ग र मुन्धुम पदमार्ग गरी चारवटा मुख्य पदमार्गमा आधारित पर्यटन विकास आयोजना समेत यसै वर्षदेखि संचालनमा रहेको ।
  • प्रदेश योजना आयोगले सार्वजनिक गरेको प्रथम आवधिक योजनाको मूल्याङ्कनका आधारमा प्रचुर सम्भावनाका बाबजुद प्रदेशको कूल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान १.९३ मात्र रहेको र पर्यटन क्षेत्रले ६४ हजार मात्र रोजगारी सिर्जना गरेको ।
  • २०८० चैत्रमा कोशी प्रदेशको चतराधाममा आयोजना भएको महाकुम्भमेलाका अवधिमा स्थलमार्गबाट लाखौं भारतीय पर्यटक यस प्रदेशमा भित्रिएको अनुमान रहेको भए तापनि कोशी प्रदेशको आ.व. २०८०/८१ को आर्थिक सर्वेक्षण अनुसार तेस्रो मुलुकबाट कोशी प्रदेशमा ४८ हजारको हाराहारीमा मात्र पर्यटकको आगमन भएको तथ्याङ्क देखाउँछ।
  • यही यथार्थतालाई हृदयङ्गम गर्दै कोशी प्रदेशमा प्रचुर मात्रामा रहेका प्राकृतिक, साँस्कृतिक र साहसिक पर्यटकीय उपजहरुलाई प्राथमिकतामा राखी संघीय सरकार, प्रदेश सरकार, गैरसरकारी र निजी क्षेत्र समेतको सहभागितामा यिनै पर्यटकीय उपजहरुको प्रचारप्रसार र प्रवर्द्धन गर्दै पर्यटक आगमन संख्यालाई बढोत्तरी गर्न रकूल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान अभिवृद्धि गरीकोशी प्रदेशलाई समृद्ध वनाउननीति तथा कार्यक्रम र बजेट बक्तब्य मार्फत कोशी प्रदेश पर्यटन वर्ष २०८२ कोपरिकल्पना गरेको ।

पर्यटन वर्षको लक्ष्य

  • पर्यटन क्षेत्रको विकास र प्रर्वधन मार्फत स्थानीय रोजगारी श्रृजना गरी राष्ट्रिय पूँजी निर्माणमा सहयोग गर्दै स्वच्छ, सुखी र समुन्नत प्रदेशको दीर्घकालीन सोच हासिल गर्न सहयोग गर्ने ।
  • कोशी प्रदेश पर्यटन वर्ष २०८२ को कार्यान्वयनबाट कोशी प्रदेशमा पर्यटकको संख्या र वसाई अवधिलाई २५ प्रतिशतले बृद्धि गर्ने ।

 

उद्देश्य

१)   कोशी प्रदेशमा पर्यटकीय गन्तब्यहरुको पहिचान, स्तरोन्नति तथा प्रचारप्रसार गर्दै पर्यटन क्षेत्रको विकास र प्रर्वधन गरी यस क्षेत्रमा थप रोजगारी श्रृजना गर्ने ।

२)   प्रदेशको पर्यटन प्रवर्धन एवं विकासका लागि आवश्यक नीतिगत प्रवन्ध गर्ने ।

३)   पर्यटन क्षेत्रको विकासका लागि आवश्यक पूँजी निर्माण र निजिक्षेत्रको लगानी अभिबृद्दिका लागि सहजीकरण गर्ने

४)   सेवामूलक पर्यटन क्षेत्रको व्यवसायिक विकासका लागि आवश्यक जनशक्ति तयार गर्ने ।

५)   पर्यटन उपज विकासका लागि साना भौतिक पूर्वाधार निर्माण र सामाजिक-सांस्कृतिक-ऐतिहासिक धरोधरहरुको पूर्ननिर्माण गर्ने ।

६)   पर्यटन क्षेत्रलाई कोशी प्रदेशको आर्थिक विकासको मेरुदण्डको रुपमा स्थापित गर्ने ।

कार्यक्षेत्र

कोशी प्रदेश पर्यटन वर्षको कार्यक्षेत्र कोशी प्रदेशका १४ जिल्लाका विविध गन्तव्यहरु रहने । यस कार्यक्रमका लागि अभियानका रुपमा ८२ का लागि ८२ गन्तब्यको सूची निर्देशक समितिबाट निर्णय गराई कार्यान्वयन गरिने ।

मूल नारा

कोशी प्रदेश पर्यटन वर्ष २०८२ को लागि मूल नारा अंग्रेजीमा “Delightful Koshi” र नेपालीमा “रमणीय कोशी” भन्ने रहनेछ ।

मुख्य विषयगत क्षेत्र र क्रियाकलाप

१)   नीतिगत कार्यव्यवस्था पुनरावलोकन, सुधार, तर्जुमा, खारेज र सिफारिस

२)   भ्रमण वर्ष कार्यसंचालन कार्यविधि तर्जुमा र निर्णय

३)   भ्रमण वर्ष संचालनका लागि संरचनागत एवं बजेट व्यवस्थापन

४)   भ्रमण वर्षको सचिवालय संचालन

५)   स्थानीय तहहरु र नेपाल सरकारसंगको समन्वय र सहकार्य

६)   निजिक्षेत्र संगको साझेदारी तथा सहकार्य

७)   पर्यटन गन्तब्य उपज विकास, प्रवर्धन र बजारीकरण

८)   पर्यटन सेवा क्षेत्रको व्यवसायिक विकास र प्रवर्धन

९)   पर्यटकको सरल, सहज र सुलभ पहुँचका लागि यातायात व्यवस्थापन

१०)   पर्यटन क्षेत्रको दिगो विकासका लागि संस्थागत संरचना निमार्ण

११)   डिजीटल माध्यम तथा सुचना प्रविधि सेवाको प्रवर्धन र उपयोग

कार्यक्रम संचालन संरचना

यस कार्यक्रम संचालन गर्न कोशी प्रदेश सरकारका माननीय मूख्यमन्त्रिज्यूको अध्यक्षतामामूलआयोजक समितिगठनहुने । माननीय मुख्यमन्त्री वा निजले तोकेको प्रदेश सरकारको मन्त्रीको संयोजकत्वमा निर्देशक समितिको गठन हुने । कार्यक्रमलाई व्यवस्थापन गर्न पर्यटन वन तथा वातारणमन्त्रालयका माननीय मन्त्रिज्यूको अध्यक्षतामाकार्यक्रमव्यवस्थापन समितिगठनहुने । कार्यक्रमको प्रभावकारीताको लागिविभिन्नविषयगतकार्यदल वाउपसमितिहरु गठन गर्न सकिने ।कार्यक्रमको दैनिकप्रशासनकालागिसचिवालय स्थापना गरिने। स्थानीय तह र गन्तव्यकेन्द्रितअन्यसमिति वा उप–समितिगठन गरी कार्यसंचालन गर्न सकिने । कोशी प्रदेश पर्यटन वर्ष, २०८२सञ्चालन तथा व्यवस्थापन सम्बन्धी नितिगत ब्यवस्था गरी कार्यक्रम संचालन गरिने।

अपेक्षित उपलब्धी

कोशी प्रदेश पर्यटन वर्ष २०८२ को कार्यान्वयनबाट कोशी प्रदेशमा पर्यटकको संख्या र वसाई अवधिलाई २५ प्रतिशतले बृद्दी हुने तथा पर्यटन क्षेत्रको विकास र प्रर्वधन मार्फत स्थानीय रोजगारी श्रृजना गरी राष्ट्रियपूँजीनिर्माणमा सहयोग गर्दै स्वच्छ, सुखी र समुन्नत प्रदेशको दीर्घकालीन सोच हासिल गर्न सहयोग गर्ने अपेक्षा गरिएको ।

 

 

 

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.