विराटनगर । कोशी प्रदेशमा पर्यटनको दिगो विकासका लागि पद यात्रा तथा पर्वतीय पर्यटन विकास गर्नु पर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । सरोकारवालाहरूले अहिले सम्म कोशी प्रदेशले हिमाललाई जोड्न नसकेका कारण कोशी प्रदेशको पर्यटन अधुरो रहेको धारणा राखेका छन् । कोशी प्रदेशमा पद यात्रा तथा पर्वतीय पर्यटनको दश बर्से रणनीति तर्जुमा प्रदेश स्तरीय परामर्श गोष्ठीका सहभागीहरूले यस्तो कुरा राखेका हुन् । कोशी प्रदेशका लागि दश बर्से पद यात्रा तथा पर्वतीय पर्यटनको विकास गर्ने रणनीति बनाउनका लागि टान काठमाण्डौले नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेश पर्यटन तथा हवै समितिको सहयोगमा विराटनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले आर्थिक उन्नतिको बलियो खम्बाका रूपमा रहेको पर्यटन क्षेत्रको विकास गर्न सके मात्र दिगो विकास हुने भन्दै प्रदेश सरकार पर्यटन क्षेत्रको समग्र विकासका लागि आगामी २०८२ लाई प्रदेश पर्यटन वर्ष घोषणा गरेर अघि बढेको बताउनु भयो ।
उहाँले पर्यटकलाई सहज रूपमा आउने बस्ने र रमाउने वातावरण सृजना गर्न सक्नु पर्ने बताउनु भयो । उहाँले कोशी प्रदेशमा पर्यटनको प्रचुर सम्भावना रहेको भन्दै पद यात्रा र पर्वतीय यात्रा जस्ता महत्त्वपूर्ण विधालाई नसमेटे समग्र पर्यटन अधुरो रहने बताउनु भयो । उहाँले ट्रेकिङ रूढहरू छोटा हुन थालेकोमा चिन्ता व्यक्त गर्दै गाडीले उडाएको धुलो वाट बच्न रुमालले नाक थुनेर पर्यटक नहिँड्ने बताउनु भयो ।
कार्यक्रममा टानका कार्यकारी निर्देशक रामचन्द्र सेडाइले कोशी प्रदेशमा रहेको विश्वको सबै भन्दा अग्लो सगरमाथादेखि अन्य सबै हिमाल काठमाण्डौले बिक्री गरी रहेको भन्दै मुलुकमा सङ्घीयता आए सँगै प्रदेश सरकारहलेपनि आफ्नो अधिकार लिन सक्नु पर्ने बताउनु भयो । उहाँले पर्यटनको बजार युरोप अमेरिका मात्र नभएको भन्दै भारत र बंगलादेशलेपनि हामीलाई पर्यटक दिन सक्ने बताउनु भयो । तिनै तहका सरकारहरूलाई समन्वय गरेर मात्र पर्यटनको दिगो विकास हुन सक्ने उहाँको भनाइ थियो ।
नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेश पर्यटन तथा हवै समितिका संयोजक भविस श्रेष्ठले पद यात्रा तथा पर्वतीय पर्यटनमा कोशी प्रदेश पछि परेको भन्दै हिमाललाई तराई सँग जोडर बेच्न सक्नु पर्ने बताउनु भयो । उहाँले सम्भावनाको खानी रहेको कोशी प्रदेशमा पर्यटन विकासका लागि प्रदेशहरू गम्भीर हुनु पर्ने बताउनु भयो ।
कार्यक्रममा हानका केन्द्रीय सदस्य राजन श्रेष्ठले हिमाल हाम्रो सम्पत्ति भए पनि मालिक अरू नै भएको बताउनु भयो । सङ्घीयतालाई काठमाण्डौं आफू अनकुल प्रयोग गर्ने गरेको उहाँको भनाइ थियो । कार्यक्रममा विषय विज्ञ बच्चु नारायण श्रेष्ठले कोशी प्रदेशका लागि दश बर्से रणनितिका बारेमा चर्चा गर्नु भएको थियो । कार्यक्रममा अर्का विज्ञ प्रनिल नेपालले कोशी प्रदेशमा रहेका चार वटा पद मार्गको अवस्थाका बारेमा चर्चा गर्नु भएको थियो । कार्यक्रममा पर्यटन व्यवसायी वासु बरालले जङ्गलमा आधारित ट्रेकिङ रुड कोशी प्रदेशमा नरहेको भन्दै यस अघिका मुख्यमन्त्री केदार कार्कीले पैदल यात्रा गरेको बाहुन डाँगीदेखि फत्तेपुर सम्मको जङ्गली पद मार्ग बनाउनु पर्ने बताउनु भयो । कार्यक्रममा पर्यटन बोडका पुर्व सदस्य कृष्ण साहले रणनीति बनाउँदा कागजमा मात्र समिति हुने खालको बनाउन नहुने बताउनु भयो ।