एक लाख बढिले अवलोकन गरे कृषि एक्स्पो 

September 15, 2024     Paryatan Yatra

विराटनगर । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशले  आयोजना गरेको पहिलो कृषि एक्स्पो आइतबार सकिएको छ । बिहीबार देखी सुरु भएको एक्स्पोमा १ लाख जना भन्दा बढिले अबलोकन गरेका थिए । विराटनगर बजार सँगै जोडिएको कटहरी गाउँपालिका स्थित कृषि थोक तरकारी बजार केन्द्रमा कृषि एक्स्पोको आयोजना गरिएको थियो । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेन सिंह हाङगामले आइतबार कृषि एक्स्पोको औपचारिक समापन गर्दै कृषि क्षेत्रमा देखिएमा समस्याहरूको पहिचान गरी समाधान खोज्न मन्त्रालय लाग्ने बताउनु भयो । एक्स्पोमा नेपाल र भारत गरी १ सय ३० भन्दा बढि स्टल रहेका थिए । महासङ्घले कृषि एक्स्पोमा सहभागी उत्कृष्ट कृषि स्टललाई समापन समारोहमा प्रशंसा पत्र प्रदान गरेका थिए ।
एक्स्पोमा कोशी र मधेस प्रदेश सहित भारतका कृषि विज्ञ र किसानले अवलोकन गरेका थिए । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउतले चार दिने कृषि एक्स्पोको १ लाख भन्दा बढी सर्वसाधारण, विशिष्ट व्यक्ति र कृषि विज्ञले अवलोकन गरेको बताउनु भयो ।चार दिनमा ८ सय भन्दा बढी किसान समूहले एक्स्पोको अवलोकन गरेको थिए । आयोजकले एक्स्पोको अवलोकन गर्न आएका ३ सय भन्दा बढी किसानलाई खाना सहित बसोबासको व्यवस्था मिलाइएको अध्यक्ष राउतले बताउनु भयो । पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र पुष्पकमल दाहालले समेत कृषि एक्स्पोको अवलोकन गर्नु भएको थियो । कोशी प्रदेशका दुई पूर्व मुख्यमन्त्री राजेन्द्र राई र केदार कार्कीले समेत कृषि एक्स्पोको अवलोकन गर्नु भयो ।कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र संघिय सरकारका कृषि मन्त्री रामनाथ अधिकारीले भाद्र २७ गते बिहीबार कृषि एक्स्पोको उद्घाटन गनु भएको थियो ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.