कोसी प्रदेशको पर्यटन मन्त्रीमा मण्डल नियुक्त
September 13, 2024 Paryatan Yatra
विराटनगर । कोसी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्री पदमा सदानन्द मण्डल नियुक्त हुनु भएको छ । कोसीमा भागमा परेका मन्त्रालय खाली भएको डेढ महिनापछि नेपाली काङ्ग्रेसले मन्त्री पठाएको हो । काङ्ग्रेसका तीन मन्त्री र एक राज्यमन्त्रीले शुक्रवार शपथ ग्रहण गर्दै सम्बन्धित मन्त्रालयहरूमा पदभार ग्रहण गरेका छन् ।
सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ को १ बाट एमाले गठबन्धन तर्फबाट जनता समाजवादी पार्टीका उम्मेदवार बन्नु भएका पर्शुराम बस्नेतलाई पराजित गर्दै नेपाली काङ्ग्रेसको तर्फबाट उम्मेदवार बन्नु भएका सदानन्द मण्डल निर्वाचित हुनु भएको थियो । मण्डलले बस्नेतलाई ३ हजार १६८ मतान्तरले पछि पार्दै विजयी हुनु भएको हो ।
कोसी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राई, उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङ्गाम र पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डललाई पद तथा गोपनीयताको शपथ गराउनु भयो । त्यसै गरी भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा भूमि प्रसाद राजवंशीलाई कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भयो । गत साउन ११ मा माओवादीका मन्त्रीहरूले राजीनामा दिएपछि कोसी प्रदेश सरकार एमालेले एकल रूपमा चलाउँदै आएको थियो ।