विराटनगर । विराटनगरमा आज निस्कने ऐतिहासिक राधाकृष्ण रथलाई सवारी चलाउन सडकमा निकालिएको छ । । विराटनगर महानगरपालिका वडा नम्बर १, २ र ३ को संगमस्थल पोखरियाको पानीट्यांकीमा रहेको राधाकृष्ण मन्दिरको पछाडिबाट केही बेर अघि रथलाई मन्दिर अगाडीको मूल सडकमा निकालिएको हो ।
हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने गरिएको छ ।
अन्य वर्ष रातो रङ्गमा देखिने रथ यस पटक भने हरियो र पहेँलो रङ्गमा हेर्न पाइने भएको छ । रथ यात्रा दिनको ३ बजे मन्दिर वाट अघि बढ्ने छ । रथले ४३ स्थानमा विश्राम लिने छ । रथ विराटनगरको बिच बजार हुँदै रोडशेस चोक वाट महेन्द्र चोक हुँदै कोसी राजमार्ग वाट वरगाछी हुँदै पूर्व तर्फ पानीट्यांकी हुँदै मन्दिर पुग्न करिब ५ घण्टा लाग्ने अनुमान गरिएको छ । रथ यात्राको उद्घाटन कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गर्नु हुने छ । यात्रा ५ लाख भन्दा बढी भक्तजनहरू सहभागी हुने आयोजकको दाबी छ ।
राधाकृष्ण मन्दिर वि. सं. १९८८ मा स्थापना भएको हो । रथयात्राका बेला यहाँ विशेष धार्मिक अनुष्ठान गरिन्छ । यसबाहेक अरू बेला पनि धार्मिक महोत्सवहरू आयोजना हुने गरेको छ ।
जनै पूर्णिमा, झुलन पर्व, श्रीकृष्ण जन्माष्टमी, ऐतिहासिक रथयात्रा, चर्तुमास पुराण, राधा अष्टमी, वामन जयन्ती, महाशिवरात्रिलाई महोत्सवका रूपमा मनाइन्छ ।
प्या गोडा शैलीमा बनाइएको रथको लम्बाई २२ फिट, चौडाइ १४ फिट र उचाइ १८ फिट छ । रथको अग्र भाग जुवाबाट ७५ फिट लम्बाइका दायाँ र बायाँ लट्ठा (डोरी) राखिन्छ । यो डोरी समाएर रथ तान्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । रथको अघिपछि विभिन्न जातजाति, सम्प्रदाय, धर्म र संस्कृति झल्कने झाँकी र भजन मण्डलीहरूको ताँती हुन्छ ।