विराटनगर । नेपालको पहिलो उद्योगका रूपमा चिनिएको विराटनगर जुट मिलको महत्त्व बेग्लै छ । यो मिल खुलेपछि नै अरू उद्योगहरू बिस्तारै खुल्दै आएका हुन् । यही मिलका कारण मिल रहेको क्षेत्रलाई मिल्स एरिया भनेर चिनिन्छ । यो मिललाई संग्रहालय बनाउन सके यस क्षेत्रको पर्यटनको विकासमा महत्त्वपूर्ण योगदान हुने छ । कोसी प्रदेश सरकारले २०८२ साललाई पर्यटन वर्ष घोषणा गरेको छ । प्रदेश सरकारले यो मिलको संरक्षण गरी संग्रहालयका रूपमा अघि बढाउन सके घोषणा गरिएको पर्यटन वर्ष अझ सार्थक हुने निश्चित छ ।
विराटनगर बसपार्कको दक्षिण–पश्चिम दिशामा रहेको जुट मिल जानका लागि रिक्सा, अटोजस्ता साना सवारी साधन पाइन्छ । सीमावर्ती जोगबनी बजार जाने लोकल बसमा पनि जान सकिन्छ । बसपार्क वाट करिब ५ किलोमिटर दूरीमा रहेको विराटनगर जुट मिलले नेपालको औद्योगिक क्रान्ति मात्र होइन राजनीतिक परिवर्तनमा पनि महत्त्वपूर्ण योगदान दिएको छ ।
१९९३ असारमा स्थापित विराटनगर जुट मिलमा २००४ सालमा मजदुर आन्दोलन भएको थियो । मजदुरले सेवा सुविधा माग गर्दै हडताल गरेका थिए । तर मुख्य उद्देश्य भने तत्कालीन राणा शासन विरुद्ध जागरण ल्याउने थियो ।
गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारीलगायत नेताहरू जुट मिलमा काम गर्थे । त्यहाँ काम गर्नुको उद्देश्य मजदुरहरूलाई क्रान्तिका लागि तयार बनाउनु थियो । उनीहरूले तलब वृद्धिलाई निहुँ बनाएर २००४ सालमा आन्दोलन थालेका थिए । त्यही आन्दोलनपछि राणा शासनविरुद्ध आन्दोलन अन्यत्र पनि विस्तारित हुँदै गएको इतिहास छ ।
यो मिलको स्थापनामा पनि कृष्णप्रसाद कोइरालाकै प्रमुख भूमिका थियो । उनकै प्रयासमा कोलकाताका सेठ राधाकृष्ण चमरियाले १६ लाख भारतीय रुपैयाँमा मा यो मिल खोलेका थिए । नेपालको निकासी व्यापारको सुरुआत यही मिलबाट भएको मानिन्छ ।कहिले खुल्ने त कहिले बन्द हुने मिल पछिल्लो समय विराटनगर आउनेहरूका लागि गन्तव्य स्थान बन्न थालेको छ । विराटनगर रानी परिसरमा ७९ बिगाहा जमिनमा रहेको मिल परिसरभित्र २ वटा ६ सय ८ किलोवाटका पावर हाउस, एउटा टर्बाइन पावर हाउस र जुट बनाउने सयौँ मेसिनहरू छन् ।
तस्विरः सामाजिक सञ्जालवाट