पुग्नै पर्ने पूर्वको गन्तव्य : तिम्बुङ पोखरी

August 21, 2024     Paryatan Yatra

पाँचथर । प्रकृतीको काखमा अनि सौन्दर्यको उच्च कोटीको उदाहरण सरि उभिएको छ तिम्बुङ पोखरी । सहर बजारको कोलाहलबाट पर पुग्दा लाग्छ ईश्वरको बास यतैकतै छ र लाग्छ ग्रन्थहरुमा उल्लेख भएको स्वर्ग सायद यस्तै पो हुन्छ कि ? यति सुन्दर ठाँउ घुम्ने समय सुरु भएको छ । पहाडका डाँडा, यहाँको होमस्टे, गोठस्टे तथा गाँउहरुले यहाँहरुलाई स्वागत गर्न आतुर बनेका छन् ।बर्खामासमा प्रायः बादलको घुम्टो भित्र बस्न रुचाउने तिम्बुङ क्षेत्र घरि घरि बादलको घुम्टो उठाएर हेर्दा निकै आकर्षक देखिन्छ।

खुला अनि हरिया इवा नागीका चउरहरुमा जहाँ डाँफे, चिमीमे लगाएतका बन चरीहरु रमाइ रहेका हुन्छन् । चौंरी,उराङ अनि स्वछन्द घोडाहरुको बगाल विचरण गरिरहेको दृश्य देख्दा लाग्छ कुनै कुशल चित्रकारले आफ्नो लामो तपस्या पछिका उत्कृष्ट रङहरुको सँगालो एकै साथ पोखिदिए जस्तो लाग्छ तिम्बुङ क्षेत्र। आफ्ना अलौकिक सौन्दर्यका सामु जो कोहिलाई नतमस्तक बनाउन सक्ने सामर्थ्य तिम्बुङले राख्दछ। बर्खा याममा फुल्ने विभिन्न प्रजातिका जङ्गली फुलहरु अनि डाँडै ढाक्ने गरि फुलिदिने केन्जो लगायतका फुलहरुलाई हेर्दा कहिले धीत मर्दैन। केन्जो त यहाँको चर्चित फूल नै हो ।

धार्मिक मुल्य मान्यताले पनि तिम्बुङको सौन्दर्यमा अर्को महत्त्वपूर्ण आयाम थपेको छ। चोखो मनले तिम्बुङ दर्शन गर्दा पोखरीले राम्रो दर्शन दिने अनि पोखरीमा भाकल गर्दा आफ्नो भाकल पनि पुरा हुने विश्वास रहेको छ । तिम्बुङ क्षेत्रमा कुनै पनि अप्रिय घटना हुन लागेको सङ्केत पोखरीले बन्दुक पड्केको आवाजमा दिने गरेको,जनविश्वास पनि रहि आएको छ।आसपासका हाँडी पोखरी,कान्छी पोखरी, जम्लिया पोखरी अनि नजिकै रहेको छिमेकी मुलुक भारतको सिक्किम राज्यमा पर्ने लक्ष्मी पोखरी, लाम पोखरी, रामलक्ष्मण पोखरी, हाँस पोखरी लगाएतका पोखरीहरुले यस क्षेत्रमा शोभा थप्ने काम गरेको छ।तिम्बुङ पोखरी क्षेत्रका केहि ठाउँहरुमा खाना र बास बस्नको निम्ति होटेलहरुले सेवा प्रदान गरिरहेको अवस्था छ । चौंरी,उराङ अनि भेडी गोठहरुमा गोठको दैनिकीलाई नजिकबाट नियाल्दै र गोठालाहरुबाट पाइने न्यानो आतिथ्यतालाई स्वीकार गर्दै गोठकै अतिथी बन्ने सुबिधा पनि छ्दैछ । फर्किदा गोठबाटै कोसेली स्वरुप घ्यु र छुर्पि पनि बोक्न सकिन्छ,गोठको बसाई पनि एउटा फरक अनुभुति साथै एउटा नौलो अनुभव समेटिने मौका बन्नेछ। यो पुग्नै पर्ने पूर्वको महत्पूर्ण गन्तव्य हो ।

साभारः केन्जो खबर डटकम

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.