अधुरै रह्यो सगरमाथा बेस क्याम्पमा दुई मित भनेर फोटो हाल्ने सपना! (तस्बिरहरू)

June 23, 2023     Paryatan Yatra

झण्डै डेढ घन्टाको ओरालोसँगै हामी गोरकशेप पुग्यौं। मातृकाजीलाई विस्तारै उचाइ कम हुँदै जाँदा सहज हुँदै थियो। कालापत्थर जाँदा र आउँदा ६ घन्टाको उकालो र ओरालो हिँडाइपश्चात सबैलाई लाग्दो हो। हामीलाई भोकले सताएको हुनेछ तर उचाइ र थकाइले भोक पटक्कै थिएन। भोकको बहाना गर्दै लसुनको सुप लिने निर्णय गर्यौं। मातृकाजीले सुप अर्डर गर्नु भयो। थकित शरीर भएर हुनुपर्छ सुप पर्खाइको त्यो १५ मिनेट हामीलाई पलभर जस्तो भयो। हामीले मुश्किलले त्यो सुप लियौं। अबको तयारी बहुप्रतिक्षित हाम्रो पदयात्राको अन्तिम गन्तव्य सगरमाथा बेस क्याम्पको थियो। ‘मातृकाजी हामी ठीक १० बजे बेस क्याम्पको लागि निस्कनु पर्छ ।’ मेरो उत्साहलाई साथ दिँदै उहाँले मुन्टो हल्लाएर सहमति दर्शाउनु भयो। बेस क्याम्पको यो पदयात्रा अनुमानित ५ घन्टाको थियो। बाटो भने पक्कै कालापत्थर भन्दा सहज थियो। उकालो थिएन, ढुङ्गे थिएन। तेस्रोतेस्रो ग्याल्सियरले भरिएको बाटो थियो। ‘मनोजजी म बेस क्याम्प जाँदिनँ। सक्छु जस्तो लागेन। म गए भने हामी आज यही बस्नुपर्ने हुन्छ। तपाईं त ३ घन्टामै फर्कन सक्नुहुन्छ जस्तो लाग्छ ।’ उहाँले बेस क्याम्पलाई गिभअप गर्नुभयो। पक्कै मन खुसी हुने कुरा भएन। हामीले सगै यो यात्रा  पूरा गर्ने योजना बनाएका थियौं। सगरमाथा बेस क्याम्पमा दुई मित भनेर फोटो हाल्ने कल्पना पनि गरेका थियौं। हुन पनि हामी दुईको जीवनको यति लामो एड्भेन्चरियस यात्रा पहिलो थियो। हामी दुबै रामेछापमा जन्मेका, हुर्केका र पढेका। जहाँ म जन्मिए शैलुङको फेदीमा रहेको टोकरपुर गाँउ जहाँ हाइस्कुल थिएन। बल्लतल्ल ७ कक्षासम्म पढाइ हुन्थ्यो। हुन त मेरो बुवाले हाइस्कुल स्थापनाको लागि ठूलो कोसिस गर्नु भएको थियो। जम्मा २० हजार रुपैयाँ डिपोजिट राख्न नसक्दा हाइस्कुल स्थापना हुन सकेको थिएन।मेरो जन्मस्थानबाट ३ घन्टाको यात्रापश्चात पुगिन्थ्यो मितको गाउँ अथवा गुन्सिभदौरे। मितको गाउँको हाइस्कुलमा ७ कक्षाको परीक्षाको सेन्टर परेको थियो। त्यो बेला हाइस्कुलमा अथवा ८ कक्षामा पढ्नको लागि सात कक्षामा जिल्लास्तरीय परीक्षा पास हुनुपर्थ्यो।

यही परीक्षामा सहभागी हुन पहिलोपल्ट मैले एसएलसी पास गरेको स्कुलमा पाइला टेकेको थिएँ र मातृकासँग मेरो पहिलो जम्काभेट भएको थियो। यो भनेको २०४० सालको कुरो हो। हुन त यो सात कक्षाको परीक्षाको त्यो भेटघाट देखभेट जस्तो थियो। २०४० देखिको हाम्रो मित्रतामा कुनै पनि कमी आएको छैन। कक्षा सात उत्तीर्ण गरें। हाइस्कुलको खोजीमा भाग्यले यही स्कुलमा पुर्यायो। कक्षा आठमा म भदौंरेको शतलिङ्गेश्वर माविमा भर्ना भएँ। मातृकाजी क्लासमेट हुनु भयो। जम्माजम्मी हामी ६० जना थियौं कक्षा आठमा। समय र भाग्यले केही नजिकको मित्रको रूपमा धेरै मिल्ने साथीहरूमध्ये मातृकाजीलाई जुराइदियो। विस्तारै हाम्रो मित्रता फुले, जीवनको त्यो स्वर्ण ३ वर्षमा नि:स्वार्थ मित्रता कहिल्यै फुकाल्न नसक्ने गाँठोजस्तो बलियो भयो। म स्कुलको छात्रवासमा बस्थें। मेरो प्रत्येक शुक्रबार २ बजेको कक्षापश्चात १ हप्ताको रासन लिन घर जाने र आइतबार बिहान १० बजे पहिलो कक्षामा उपस्थित हुने साप्ताहीकी हुन्थ्यो। कुनै सप्ताह १५ दिनको लागि पुग्ने रासन बोकेर आइन्थ्यो। यो सप्ताह भने शनिबार फुर्सदको समय हुन्थ्यो। यही मौका छोपेर मातृकाजी मलाई उहाँको घरमा लिएर जानु हुन्थ्यो।  म पनि उहाँको घरमा जान, उहाँको आमा, भाइहरू विशेष गरी दिदीलाई भेट्न अति रूचाउथें। सायद मातृकाजीलाई भन्दा पनि बढी उहाँको दिदीले मलाई माया गर्नुहुन्थ्यो। हुन पनि मेरो आफ्नो दिदी नभएको मित दिदी मेरो आफ्नो दिदी सरह हुनुहुन्थ्यो। त्यो माया आजसम्म पनि कत्ति घटेको छैन।

यही आउने जाने क्रममा मातृकाजीको आमाले एकदिन हामीलाई मित बोलिदिनु भयो। हुन पनि हामी दुबै अग्ला, लिखुरे, सेता कुइरे जस्ता यस्तै भन्थे गुन्सीभदौरेका बासिन्दाहरू।  सँगै पढ्ने अति मिल्ने साथी। त्यही भएर होला आमाले मित बोलेको। आमाको आदेश हामीले शिरोधार गर्‍यौं। हुन पनि आजसम्म मनोज र मातृकाको यो मित्रताको खुलेर प्रशंसा गर्छन् गुन्सिभदौरेमा हामीलाई चिन्ने मानिसहरू। गुन्सिभदौरेसँग मेरो अर्को अटुट सम्बन्ध पनि गाँसियो। जुनदिन मैले मातृकालाई भेटेको थिएँ, त्यही दिन मेरो देखभेट भएको थियो गीतासँग। हामी आठ कक्षादेखि सँगै पढ्यौं, बढ्यौं। यो भेटघाट विस्तारै मातृकाजीको परिवारको गोलमेडमा मायाप्रितीमा झाङ्गिँदै गयो। त्यो पनि गुन्सिभदौरेमै जन्मी हुर्केको प्रिय साथी गीतासँग मेरो विवाह भयो। हाम्रो माया प्रितिदेखि विवाहसम्ममा मातृकाजीको परिवारको ठूलो भूमिका थियो। विशेषगरी प्यारी दिदी चन्द्राको। हाम्रो यो मित्रताको भकारीमा यो अविस्मरणीय पदयात्रालाई पनि थप्न चाहन्थ्यौं।‘हुन त बेस क्याम्प हेर्ने, देख्ने र अनुभव गर्ने भनेको कालापत्थरबाट रहेछ नि मातृकाजी।’ मेरो कुरो भुइँमा खस्न नपाउँदै ‘त्यही भएर नै म आँट गरेर कालापत्थर उक्लेको हो। बेस क्याम्पबाट न त सगरमाथा देखिन्छ न बेस क्याम्प नै राम्रोसँग। तपाईं जानुस् मितज्यू म यही कुर्छु। जति सक्दो चाँडो फर्कने कोसिस गर्नु होला।’ उहाँको स्वास्थ्यको अवस्थालाई ख्याल गर्दै उहाँको कुरालाई शतप्रतिशत स्वीकार गरें। ‘ल मातृकाजी म हिँडें। स्वास्थ्यको ख्याल गर्नुहोला।’ उहाँले मलाई अंकमाल गर्दै शुभ पदयात्राको कामना गर्नु भयो। म निस्कें। उहाँ पनि होटल बाहिर सँगै आउनु भयो। हात हल्लाएर बिदा गर्नु भयो। मैले पनि हात हल्लाएँ र यो पदयात्राको अन्तिम गन्तव्यतिर पाइला लम्काएँ। सम्म बगर त्यो बगर पक्कै हिउँ पग्लेर बनेको ताल सुकेपछि बनेको हुनुपर्छ। त्यही बगरैबगर म अगाडि बढें। कोक, केही चकलेट र पानीले भरिएको थियो मेरो सानो झोला। एक्लै निस्केको बाटोमा कोही भेटिएलान् कि भन्ने आशा थियो। झण्डै ३० मिनेटको यात्रासम्म पनि मैले पदयात्री भने भेटिनँ। हुन त झण्डै ९० प्रतिशत पदयात्रीहरू लोबुचेमा बास बस्ने। लोबुचेबाट गोरकशेपको ३ घन्टाको यात्रापश्चात गोरकशेपमा दिउँसोको खाना खाएर साँझमा बेस क्याम्पको पदयात्रा गर्ने र गोरकशेपमा रात बिताएर भोलिपल्ट बिहान कालापत्थरको यात्रापश्चात लोबुचे फर्कने गर्दा रहेछन्। त्यसकारण पनि बाटोमा पदयात्रीहरू भेटिने सम्भावना भने कमै थियो।

४५ मिनेटमा एक जना भरिया बेस क्याम्पबाट आउँदै गरेको भेटें। यो मेरो पहिलो व्यक्तिसँगको भेट थियो। एक्लै भएकोले मेरो साथी भने एयरपड थियो। एयरपडबाट मोबाइलमा सुरक्षित गीतले मेरो यात्रालाई सहज बनाएको थियो। मनमा अनेक तर्कना आउथ्यो। एक्लै हिँड्दा कतै हिउँ चितुवाहरू भेटिन्छन् कि भन्ने सोच पनि आउथ्यो। हिउँ चितुवा भेटें भने ‘एकोहोरो आँखा नझिम्काई हेर्नेछु पक्कै भाग्ने छ’ भन्ने तर्क आफैंसँग गर्थें। झण्डै एक घन्टापछि एकजना २०/२१ वर्षको भाइ याक धपाउँदै बेस क्याम्पबाट फर्कंदै थिएँ। मैले भाइसँग कुरा गर्ने जमर्को गरें।

‘भाइ यतातिर हिउँ चितुवा भेटिन्छ?’

‘मैले त भेटेको छैन,’ भाइको उत्तर थियो।

‘अनि नि भाइ तिमीले यति भेटेको छ ?’

मेरो कुरो सुनेर हाँस्दै ‘हिउँ चितुवा त भेटेको छैन।’

मसँग लामो कुरा गर्ने समय थिएन उनलाई। याकहरू अगाडि बढिसकेका थिए। उनी याकको पछि लागे, म भने बेस क्याम्पतिर अगाडि बढें।  म एक्लै भएर पनि होला मेरो बाटो अलि बढी नै सरेको भान भएको थियो। एक घन्टा १५ मिनेटमा बेस क्याम्पको धेरै नजिक पुगेजस्तो लाग्यो। अन्तिममा सानो उकालो रहेछ बेस क्याम्प पुग्नुअघि उकालो पर गरेसँगै एक जना पदयात्रीलाई भेटें। उनी गाइड रहेछन्। नाम कामी शेर्पा भन्दै थिए। उनीसँग सानो कुरा गर्ने प्रयास गरें।

‘तपाईं त धेरै छिटो पो फर्कनु भएछ, बिहान जानु भएको थियो हो?’

‘होइन सर म त एक हप्ता भयो बेस क्याम्पमा बसेको। केही काम परेकोले फिरिचेसम्म फर्केको हो। बरू तपाईं छिटो पो छिटो आउनु भएछ।’  उनले केही सहजकतासाथ मसँग कुरा गरे तर उनी पनि हतार नै देखिन्थे। उनी आज फिरिचे पुगेर फर्कने योजनामा रहेछन्।

‘म छिटो ? कसरी नि भाइ ?’

‘प्राय: दिउँसोतिर मात्र भेटिन्छन् पदयात्रीहरू। तपाईंलाई बिहानै भेटें। अनि एक्लै पनि हुनु हुँदो रहेछ?’

‘साथी त हुनुहुन्छ तर लेकले दु:ख दियो त्यसकारण एक्लै छु आज।’

मेरो कुरा सक्न नपाउँदै उनले पनि बिदा माग्ने हतार गरें। हामी दुबै हात हल्लाएर आ–आफ्नो बाटो लाग्यौं। एरपडबाट गीतहरूको भावसँगै फोटोहरू खिच्दै यात्रा अगाडि बढिरहेको थियो। अन्तिम उकालो पछिको ओरालोपश्चात एक खोल्चो भेटियो सायद त्यही थियो मुख्य खुम्बु ग्लासियर। हिउँ भेटिन गाह्रो नै थियो।

सामान्य तीन घन्टाको यात्रा एक घन्टा पूरा गरे र सगरमाथाको बेस क्याम्पमा पाइला टेकें। जहाँ एक ठूलो ढुङ्गामा बेस क्याम्प र यसको उचाइ उल्लेख गरेको रहेछ। यो नै बेस क्याम्पको साइनबोर्ड थियो। मन हर्षित थियो र फुरुङ्ग पनि। खुसीले होला थकाइ पटक्कै महसुस भएको थिएन। बेस क्याम्पको यो पहिलो यात्रा मेरो जीवनको गौरवान्वित  क्षण थियो। यहाँसम्म पुग्न सहयोग गर्ने मेरो जीवनको गोरेटोमा जोडिएका सबै व्यक्तिहरूलाई सम्झिएँ र धन्यवाद दिएँ।भगवानलाई धन्यवाद दिएँ। बेस क्याम्पको भुइँलाई छोएँ। छातीमा हात राखें। बेस क्याम्पको सुन्दर अस्थायी सहरको दर्शनको लागि अगाडि बढें।बेस क्याम्पको मुख्य आकर्षण भनेको सगरमाथा चढ्ने आरोहीहरूको क्याम्प थियो। विभिन्न ट्रेकिङ कम्पनीहरूको क्याम्पहरू कस्को राम्रो देखिने होडबाजी गरे जस्तो देखिन्थ्यो। रंगीविरंगी ती क्याम्पहरूमध्ये सबभन्दा राम्रो मलाई सेभेन समिटको लाग्यो।
दुई सयभन्दा बढी ती क्याम्पमा कोही पनि मानिस मैले बाहिर देखिनँ। सायद चिसोको कारण थियो। सबै आरोही तथा आरोही सहयोगीहरू आ–आफ्नो क्याम्पमा सुस्ताएका हुनुपर्छ। कसैलाई भेट्न पाए केही जानकारी लिने इच्छा थियो।लाग्यो कोही भेट्ने छैन। बेस क्याम्पको तलदेखि माथिसम्मको पदयात्रामा एक जना सेभेन समिट छेउको क्याम्प बाहिर भाँडा माझिरहेको भाइलाई देखें। उनीसँग केही कुरा गर्न मन लाग्यो।

‘भाइ मानिसहरू त देखिँदैनन्?’

‘सबै टेन्टभित्र छन् नि। यो जाडोमा कहाँ बाहिर बस्न सकिन्छ र सर।’

‘यति धेरै टेन्टहरू गाडिएका छन्, कति जना छन् भाइ यसपालि सगरमाथा आरोहण गर्ने?’

‘यसपालि तीन हजार जतिले आरोहण गर्दैछन्।’

‘यी सबै टेन्टभित्र हराएका छन् है ?’ हाँस्दै सोधें।

‘कहाँ यतिमात्र हो र दाइ ? यी त आरोहण गर्ने आरोहीहरू हुन्। आरोहीहरूको लागि चाहिने गाइड, सहयोगी, भरिया गर्दा पाँच  हजारभन्दा बढी मानिसहरू लुकेका छन्।’ ‘त्यही त भाइ तर देख्दा सुनसान।’ मैले उत्साहित हुँदै कुरा अगाडि बढाएँ।

‘भाइ कति दिनदेखि हो नि तपाईंहरू यहाँ ?’

‘एक हप्ता भयो। मौसम बिग्रेकोले हामी पहिलो क्याम्पमा उक्लिनको लागि पर्खिरहेका छौं। एक दुई दिनमा हामी पहिलो क्याम्पमा चढ्ने योजना बनाएका छौं।’पहिला गाइडहरू जाँदा रहेछन्। क्याम्पहरू बनाउने गर्दा रहेछन्। मौसम लगायत सबै व्यवस्थाहरू राम्रो देखेपछि उनीहरूले ग्रिन सिंग्नल दिएपछि मात्र आरोहीहरू बेस क्याम्पबाट पहिलो क्याम्पमा जाँदा रहेछन्। जम्मा ४ वटा विशेष क्याम्प हुँदो रहेछ। पहिलो क्याम्प बेस क्याम्प हुँदै लास्ट क्याम्पबाट सगरमाथाको चुचुरोमा पुगेपछि अन्तिम क्याम्पमा फर्कने रहेछन्। सबभन्दा बढी डर भने सगरमाथाको चुचुरोमा चढेर लास्ट क्याम्पमा झर्नु हुनेरहेछ। यो प्रक्रियामा सबभन्दा बढी महत्वपूर्ण भूमिका भने भरिया र गाइडहरूको हुने रहेछ। आरोहीहरू बिरामी हुँदा अथवा कठिन अवस्थामा तिनै भरियाहरूले बोकेर सुरक्षित ठाउँमा लैजाने जस्तो महत्वपूर्ण काम उनीहरूको गर्दा रहेछन्। ‘दाइ पर्सि दोस्रो क्याम्पमा राजु लामाको एकल सांगीतिक कार्यक्रम रहेको छ। उनीहरू पनि गाइडहरूको ग्रीन सिङ्ग्नलको पर्खाइमा रहेका छन्।’  उनले यति भनेर आफ्नो क्याम्पतिर भित्र छिरे। म फोटो खिच्नतिर व्यस्त रहें। साभार सतोपाती डोट कम

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.