दशैं लाग्यो घुम्न जाने हैन भेडेटार र नमस्ते झरना

September 28, 2022     Paryatan Yatra

 

धनकुटा । भेडेटार नेपालको १ नं प्रदेशको सुनसरी र धनकुटा जिल्लामा पर्ने एक पर्यटकीय बजार हो । यो बजार पुर्वी पहाडी जिल्लाहरुको प्रवेश द्धारपनि हो । यो बजार धरानको ४ नं वडा र साँगुरीगढी गाउँपालिकामा अवस्थित छ ।

कोशी राजमार्गमा पर्ने यो रमणिय बजार पुग्नका लागि धरान उपमहानगरपालिकाको जिरो पोईन्टबाट करिब १७ किलोमिटर उत्तर तर्फको राजगमार्गको यात्रा गर्नु पर्छ ।

भेडेटार समुन्द्री सतहबाट १,४२० मिटर उचाईमा पर्छ । यहाँ तराईको गर्र्मीबाट बच्न चिसो वातावरणमा रम्न र पहाडी एवं हिमाली भेगको सुन्दरता हेर्न पर्यटकहरुको घुइचो लाग्ने गर्छ । छिनमा पानी पर्ने, छिनमा घाम लाग्ने र छिनमा नै बाक्लो कुहिरोले ढपक्कै ढाक्ने भेडेटारको प्रमुख विषेशता हो । भेडेटारको भ्यू टावर अर्थात चाल्र्सप्वाइन्टले यसको आक्रर्षण झनै वढाएको छ । यो टावरवाट सप्तकोशीको मनोरम दृष्य, पूर्वी तराईका फाँटहरूका साथै सगरमाथा, मकालु, कञ्चनजङ्घा, कुम्भकर्ण जस्ता हिमश्रृंखलाहरू एकै पटक हेर्न सकिन्छ ।

पहाडको टुप्पोमा अवस्थित सानो सुन्दर भेडेटार बजार साँचीकै रमणीय छ । भेडेटारबाट धनकुटा सदरमुकामको दुरी ३६ किलोमीटर छ । उच्च पहाडमा रहेको वाह्रैमास चिसो हावा बहने हुनाले यहाँ गर्मी मौसममा शीतल हावा खान र जाडो मौसममा पिकनिकको लागि आउने मानिसहरूको भीड लाग्दछ । यहाँको चिसो हावापानी र मनोरम प्राकृतिक दृश्य अवलोकनका लागि तर्राई क्षेत्र र भारतका गर्मी ठाउँहरूबाट पनि मानिसहरू आउने गर्दछन ।

भेडेटारको शिरमा शैलुङ्गडाँडा नामक एउटा अग्लो चुचुरो छ । २०३८ सालमा वेलायतका युवराज चाल्र्स शैलुङ्गडाँडाको टुप्पोमा चढ्नु भएको हुदाँ यस डाँडालाई चाल्र्स प्वाइन्ट नामकरण गरिएको हो ।

भेडेटारबाट केही पश्चिममा धरान २० नं वडामा किराँतकालिन ऐतिहासिक सानगढी (साँगुरीगढी) र साँगुरी भञ्ज्याङ रहेको छ ।

यहाँ पहाडी मौसम लगायत अग्र्यानिक फलफूल तथा तरकारी एवं स्थानीय परिकारहरु पस्किने भएको हुँदा सबैको आकर्षणको केन्द्र बनेको छ । यातायातको यातायात, सञ्चार र होटल, रेस्टुरेन्ट आदिको राम्रो सुविधा छ ।

नमस्ते झरना

धनकुटाको साँघुरीगढी गाउँपालिकाको भेडेटार बजारबाट ८ किलोमिटर उत्तरपूर्वमा धरान– धनकुटा सडक छेउमै छ नमस्ते झरना । यो झरनालाई सिम्सुवा झरना पनि भनिन्छ । भेडेटार नजिकैको सिम्सुवा खोलाको शिरलाई नमस्ते झरना नामकरण गरिएको छ । यो झरना करिब ८० मिटर माथिबाट खस्छ ।

यो झरना कोशी राजमार्ग खण्डबाट २ किलोमिटरभित्र पर्छ । नमस्ते झरना प्रदेश १ मा सबैभन्दा धेरै भारतीय पर्यटकहरू आउने गर्छन् ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.