विराटनगर । प्रदेश १ को पर्यटन ब्राण्ड नाम र लोगो तथा प्रचार प्रसार कार्यदलले पर्यटन तथा संस्कृति मन्त्री खिनु लङवा लिम्बुलाई मंगलवार प्रतिबेदन बुझाएको छ । समितिले प्रदेश १ को पर्यटनको मुल स्लोगन ‘पृथ्वीको स्वर्ग–मेरो प्रदेश’ स्लोगन सहितको लोगो भएको प्रतिबेदन सरकारलाई बुझाएको हो ।
पर्यटन व्यवसायी कार्यदलका संयोजक भविश श्रेष्ठले प्रतिबेदनमा उल्लेख भएको ब्राण्ड, नाम र लोगो भएको प्रतिबेदन प्रदेश १ को पर्यटन संस्कृति मन्त्री खिनु लङ्वा लिम्बुलाई हस्तान्तरण गर्नु भएको हो । प्रदेश सरकारले श्रेष्ठको संयोजकत्वमा ५० दिन अघि कार्यदल बनाएको थियो ।
कार्यदलले प्रदेश १ का १३७ पालिकाहरुमा नै पालिकाको मुख्य ब्राण्डको नामवाली लिखीत रुपमा माग गरेको थियो । कार्यदलले पालिका, १४ वटा जिल्ला समन्य समितिहरु र सरोकारवालहरुको रायका आधारमा प्रतिवेदन तयार पारेको हो । पालिकाहरुले पर्यटकीय गन्तब्य र ब्राण्डहरु समेटेर प्रतिबेदन पठाएका थिए । श्रेष्ठको संयोकत्वमा बनेको कार्यदलमा जीतबहादुर राई, दोर्जे सुशिल शेर्पा र कोशल चेम्जोङ सदस्य रहनु भएको थियो । सदस्य सचिवमा पर्यटन मन्त्रालयका अधिकृत रामशुन्दर थापा रहनु भएको थियो ।
प्रतिवेदनमा प्रदेश १ का १४ जिल्लाका सेलिङ ब्राण्डको नारा दिएर कार्यदलले ब्राण्ड निर्धारण गरेको जनाएको छ । त्यस्ता सेलिङ ब्राण्डहरुमा सुनसरीको बेसार, उदयपुरको तेजपत्ता (सिन्कौली), खोटाङको घँघरुको लौरो, धनकुटाको एभोकाडो, भोजपुरको खुकुरी ब्राण्ड भएको प्रतिबेदन कार्यदलले दिएको छ । त्यस्तै सोलुखुम्बुको लुक्ला बिन्स, ताप्लेजुङको छुर्पी, संखुवासभाको अल्लो, पाँचथरको अलैँची, ईलामको चिया, तेह्रथुमको ढाकाको कपडा, झापाको सुपारी र मोरङको माछालाई बिक्री गर्न सकिने पहिचान भएकोले यसको ब्राण्डिङ र बिक्री बितरणसँग जोडिएको कार्यदलका संयोजक श्रेष्ठले बताउनु भयो । कार्यदलले प्रदेश १ का १४ जिल्लामा पुगेर त्यहाँको उत्पादन, बजारीकरण र स्थानीयको मागको आधारमा ब्राण्डको पहिचान गरेको जनाईएको छ । ब्राण्डको नाम ल्याउनु भन्दा पहिला सबै जिल्लाका उद्योग वाणिज्य संघहरुसँग पनि समन्वय गरिएको तथा पालिकाहरुले पनि त्यहाँको पहिचान अर्थात ब्राण्ड भएको बारेमा लिखित जानकारी गराएको आधारमा जिल्ला बिशेष पहिचान खोजिएको संयोजक श्रेष्ठले बताउनु भयो ।
प्रतिवेदन वुझ्दै संस्कृति मन्त्री खिनु लङवा लिम्बुले कार्यदलले बुझाएको प्रतिबेदनलाई कार्यान्वायनमा ल्याउने वताउनु भयो । ‘कार्यदलले आफ्नो प्रतिबेदन बुझाईसकेकोले त्यसमा उल्लेख भएका बिषयहरु मन्त्रालयले थप अध्ययन गर्ने छ,’ उहाँले भन्नु भयो, ‘त्यसपछि मन्त्री परिषदबाट पारित गरि कार्यान्वायनमा ल्याइने छ ।’ ब्राण्ड भनेको स्थानीय पहिचान भएकोले त्यो पहिचान र उत्पादनसँगै बजारीकरणसँग पनि जोडिने भएकाले ब्यापार प्रवद्र्धनमा टेवा पुग्ने उहाँको भनाइ छ । यो एउटा उद्यमी बनाउन अभिप्रेरित गर्ने पर्यटन प्रवद्र्धनको बातावरण बनाउने पनि भएकाले यो बिषय निक्कै महत्वपुर्ण रहेको मन्त्री लिम्बुले वताउनु भयो ।