पर्यटकलाई ससम्मान घुम्ने वातावरण बनाउन जोड

August 22, 2022     Paryatan Yatra

झापा । भारतबाट आउने पर्यटकहरुलाई स–समान्न नेपाल घुम्ने वातावरण मात्र बनाउन सके नेपालको पर्यटन क्षेत्रको कायापलट हुने सरोकारवालाहरुले बताएका छन् ।

नेपालको पर्यटन विकासमा आधाभन्दा धेरै योगदान भारतका पर्यटकको रहेको भन्दै उनीहरुले सीमा नाका र प्रवेशद्वारहरूमा भारतीय पर्यटकहरु माथि हुने गरेका दुव्र्यवहार र सास्ती नै पर्यटन विकासका लागि प्रमुख अवरोध रहेको उनीहरुको बुझाइ छ ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाटा) प्रदेश १ को आयोजना र नेपाल पर्यटन बोर्डको सहयोगमा काँकडभिट्टाको होटल मेची क्राउनमा भएको द्विदेशीय अन्तरसंवादमा सम्बद्ध व्यवसायीहरूले गुनासो गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष टीकाराज ढकाल, भारत पश्चिम बंगालको सिलिगुडीस्थित इस्टन हिमालय ट्राभल्स एन्ड टुर एसोसिएसनका महासचिव सन्दीप घोष, भारतका पर्यटन पत्रकार मानष बेनर्जी, बोर्डका प्रबन्धक सूर्य थपलिया, महासंघ प्रदेश १ पर्यटन समितिका संयोजक भवेश श्रेष्ठलगायतले पर्यटन क्षेत्रको चुनौती एवं सम्भावनाको बारेमा आ–आफ्ना धारणा राख्नुभएको थियो ।

‘भारतीय पर्यटक मेरुदण्ड हुन्’  पर्यटन समितिका संयोजक भवेश श्रेष्ठले भन्नु भयो, ‘आइजाइमा पीडा र सास्ती भएपछि कसरी आउँछन् उनीहरू ?’ अनावश्यक चेकजाँचलगायत कारणले पनि भारतीय पर्यटक आगमनमा सकस भइरहेको उनको भनाइ थियो ।

उक्त अवसरमा क्रस बोडर टुरिजम इन इस्ट नेपाल कार्यक्रम अन्तर्गत प्रदेश १ र भारतको पश्चिम बंगालको पर्यटन गन्तव्यहरूको एकैसाथ प्रचार र प्रवद्र्धन गर्ने उद्देश्यले नाटा, प्रदेश १ र भारत पश्चिम बंगाल सिलिगुडीस्थित एसोसिएसनले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । नाटाका तर्फबाट अध्यक्ष उदय श्रेष्ठ, महासचिव नविन खरेल र इस्टर्न हिमालयको तर्फबाट वरिष्ठ उपाध्यक्ष विवेक सुब्बा र महासचिव घोषले हस्ताक्षर गरेका थिए ।

‘सम्झौतापछि दुबै देशको पर्यटन विकासमा सहकार्यको थालनी भएको छ’ नाटा अध्यक्ष श्रेष्ठले भने, ‘प्रदेश १ का र पश्चिम बंगालका मुख्य पर्यटकीय गन्तव्यहरूका बारेमा जानकारी आदानप्रदान गर्ने काम भयो ।’ नाटाका तर्फबाट पत्रकार विराट अनुपमले ‘हिस्टोरिकल कनेक्टिभिटी’ बारे प्रस्तुति गरेका थिए ।

कार्यक्रममा प्रदेश १ का र पश्चिम बंगालका मूख्य पर्यटकीय गन्तव्यहरूको बारेमा जानकारी आदानप्रदान गरिएको थियो । नाटाका वरिष्ठ उपाध्यक्ष पुण्य भट्टराईले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन नाटाका महासचिव नविन खरेलले गरेका थिए ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.