रामधुनीको प्रेम तालमा सेल्फीको मज्जा

June 30, 2022     Paryatan Yatra

सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ७ मा रहेको प्रेम ताल (पञ्चायन सिमसार) क्षेत्र सेल्फी खिच्नेहरुको उपस्थितिले अचेल चहलपहलयुक्त बन्न थालेको छ । पहिले ‘प्रेमताल’ भनेर चिनिने यो सिमसार क्षेत्र अचेल पन्चायन सिमसार क्षेत्रका रुपमा परिचित छ ।

स्थानीय बासिन्दाहरु बस्ने, प्रेमी–प्रेमिकाहरु गफिने वा भेटघाट गर्ने स्थानका रुपमा परिचित यो तालको नाम प्रेम ताल राखिएको थियो । तालको बनोट अँग्रेजी अक्षरको ‘एम’ आकारमा रहेका कारण पनि बेग्लै आकर्षक छ ।

यहाँ पुग्नका लागि इटहरी उत्तरको तरहरा बजारबाट पश्चिमतर्फ जाने सडक हुँदै जानुपर्छ । रामधुनी नगरको प्रमुख व्यापारिक केन्द्र झुम्का बजारबाट पनि जान सकिन्छ ।

झुम्काबाट प्रेम ताल जाने हो भने पूर्व–पश्चिम राजमार्गमा पर्ने कान्छी चोकबाट उत्तरतर्फ लाग्नुपर्छ । त्यहाँबाट बक्लौरी हुँदै कालोपत्रे सडकबाट पिपलचोक पार गरेपछि करिब ६ किलोमिटर दूरी कटेर प्रेम ताल अर्थात् पञ्चायन सिमसार पुगिन्छ ।

प्राकृतिक रुपले रमणीय यो पर्यटकीय स्थल पुग्ने अर्को छोटो बाटो हो– धरान बजार हुँदै । धरानको दक्षिणमा रहेको हरियाली समुदायिक बनको बीचमा रहेको सडकबाट दायाँ बायाँ सालका रुखहरु भएको बाटो हिँड्न रमाइलो हुन्छ । यो रुटबाट जाँदा प्राकृतिक वातावरणमा रमाउँदै प्रेम ताल पुगेको पत्तै पाइँदैन ।

यहाँ जानका लागि उल्लेखित सबै स्थानबाट भाडाका सवारी साधन नै प्रयोग गर्नु पर्छ । यो सिमसार क्षेत्र वनभोजका लागि निकै प्रख्यात छ । यहाँ शौचालयदेखि बनभोज स्थलमा पानी र बिजुलीको पनि व्यवस्था छ । बनभोजका लागि जाँदा शुल्क लाग्दैन ।

खाजा र नास्ता खानका लागि होटलहरु नजिकै छन् । यहाँ डुंगा सयर गर्न पनि पाइन्छ । घना जङ्गलको दक्षिणतर्फ रहेको तालमा हाँस आकारको डुंगामा सयर गर्दै तालको पश्चिमतर्फ रहेको सेल्फी जोन क्षेत्रमा सेल्फी लिन पुग्नेहरुको ताँती हुन्छ ।

सेल्फी लिनेहरुका लागि यहाँ आकर्षक गेट बनाइएको छ । बनभित्र सडक पनि फोटो खिच्नेहरुका लागि मुख्य आकर्षण बन्दै आएको छ । यस्तै, पार्क पनि रमणीय स्थानका रुपमा रहेको छ । २०६० सालमा यसलाई व्यवस्थित बनाउने प्रयास सुरु भएको हो । त्यसयता विभिन्न संरचनाहरु निर्माण गरिएका छन् । अझ व्यवस्थित पार्ने प्रयास जारी रहेको छ ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.