सुखीहरूको गाउँ ‘घलेगाउँ’

March 31, 2022     Paryatan Yatra

जनक श्रेष्ठ/रासस

मैले जन्मेर हुर्केको गाउँ, मैले घाँसदाउरा गरेको गाउँ
स्वर्गभन्दा प्यारो लाग्छ मेरो घलेगाउँ’ (तेजबहादुर घिगाल, गणेश गुरूङ र  रिमा गुरूङ)

शिरमा सेतो हिमाल, मध्य भाग जंगल अनि फेदमा घलेहरूको बाहुल्य– घलेगाउँ विविधताको संगम हो।

प्रकृतिले सिंगारिदिएको र पर्यटकीय रूपमा निकै महत्त्वपूर्ण घलेगाउँ अहिले लमजुङको सुखी गाउँका रूपमा परिचित बन्दै छ।

पर्यटकलाई खुसी बनाउँदै पर्यटकीय सत्कारमा रमाउन थालेका यहाँका बासिन्दा यतिबेला मापदण्ड पूरा गर्दै गाउँलाई नै सुखी गाउँ बनाउन लागिपरेका छन्।

जिल्लामा सबभन्दा बढी पर्यटक यसै गाउँमा आउँछन्। मुलुकमा जनान्दोलनपछि आन्तरिक पर्यटकको वृद्धि हुन थालेपछि घलेगाउँबासी खुसीले गदगद  छन्।

उनीहरू पर्यटकका लागि रातदिन नभनी मेहनत गर्छन् जसको पहिलो प्राथमिकता भनेकै गाउँमा आएका पर्यटकलाई खुसी बनाउनु हो।

क्ह्वालासोथर गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर घलेका नेतृत्वमा अघि बढ्दै आगामी वैशाख २ गते गाउँलार्ई ‘सुखी घलेगाउँ’ घोषणा गर्ने तयारीमा गाउँबासी लागेका छन्।

पर्यटन व्यवस्थापन समिति, ग्रामीण पर्यटन घलेगाउँका अध्यक्ष प्रेमबहादुरका अनुसार  सडक, खानेपानी, स्वास्थ्य र  शिक्षा केही नभएको गाउँलाई कसरी सुखी बनाउन सकिन्छ भनेर आफूले दुई दशकअघि सोचेको योजना अहिले पूरा हुन लागेको छ।

‘म भारतीय सेनामा भर्ती हुन पुगेर पनि गाउँ फर्कें। स्याङ्जा जिल्लाको सिरुबारीका घरमा पाहुना राख्ने र गाँस र बास दिएबापत पैसा लिने गरेको सुनेँ। के कसरी रहेछ भन्ने जिज्ञासाले अध्ययन गर्न त्यहाँ पुगेँ र मैले पनि गाउँमा पाहुना राख्ने र गाउँलेलाई दुईचार पैसाको मुख देख्न सक्ने बनाउने योजना बुनेँ’, उनले भने।

घले, गुरूङ र दलित समुदायको बसोबास रहेको घलेगाउँमा १२५ घर रहेकामा प्रतिघरको वार्षिक आम्दानी सरदर रु पाँचदेखि छ लाख र रु एक लाखदेखि डेढ लाखसम्म वार्षिक बचत हुने गरेकाले र मापदण्ड पूरा गरेकाले गाउँलाई सुखी गाउँ घोषणा गर्न लागिएको समितिको कार्यालय सचिव दीर्घराज घलेले जानकारी दिए।

‘घरमै बसीबसी आम्दानी भएपछि हामी सबै खुसी र सुखी छौं’, उनले भने।

वि.सं २०५७ वैशाख २३ गते ‘प्रथम घलेगाउँ महोत्सव’ गरी नेपालकै पहिलो ‘स्मार्ट भिलेज’ का रूपमा अघि बढ्दै गरेको घलेगाउँका १२ घरमा सुरूमा  पर्यटन प्रयोजनका लागि घरबास कार्यक्रम स्थापना भई  प्रचारप्रसार भएपछि विसं २०५८ वैशाखमा ‘घलेगाउँ कला महोत्सव’ आयोजना गरिएको थियो।

मान्छेहरूको भीडभाड हुने भएकाले सुरूमा तत्कालीन द्वन्द्वमा संलग्न माओवादीहरूले कार्यक्रम गरेकोप्रति आपत्ति जनाएकामा पछि पर्यटन प्रवर्द्धनबारे कुरा बुझेपछि कुनै रोकतोक नभएको समितिका अध्यक्ष प्रेमबहादुरले बताए।

पछि बिस्तारै घलेगाउँमा पाहुना आउन थाले। प्रकृति, संस्कृति र रहनसहन देखाई गाउँमै उत्पादित खाद्य पदार्थ खुवाएर उनीहरूले आम्दानी गर्न थाले। बिस्तारै घलेगाउँबारे देशविदेशमा प्रचारप्रसार हुँदै गयो।

दक्षिण एसियाली राष्ट्रहरूको सङ्गठन (सार्क) स्थापनापछिको केही समयमै सुरूका सदस्य राष्ट्र हरेकमा नमूना ‘सार्क भिलेज’ घोषणा गरिएअनुसार नेपालको लमजुङ जिल्लाको उत्तरी भेगमा अन्नपूर्ण हिमालका काखमा अवस्थित क्होलासोथर गाउँपालिका वडा नं ३ स्थित ऐतिहासिक घलेगाउँलाई नेपालको नमूना ‘सार्क भिलेज’ मा छनोट गरिएको थियो। यहाँ सडक, बिजुली, टेलिफोन, इन्टरनेट, खानेपानी, विद्यालय, स्वास्थ्य लगायत आधारभूत सुविधा पुगेपछि विसं २०७५ पुस १० गते ‘स्मार्ट भिलेज’ अभियान सुरूआत गरिएकामा गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले २०७६ मंसिर १७ गते विधिवत् रूपमा  नामकरण गरी शुभारम्भ गरेका थिए।

गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) ले नेपालकै उत्कृष्ट होमस्टेका रूपमा पनि यसलाई पुरस्कृत गर्‍यो। घलेगाउँका बासिन्दा एवं घरबास पर्यटन सञ्चालक हेमकुमारी घलेले भनिन्, ‘विगतमा यहाँका बासिन्दालाई दुईचार पैसाको मुख देख्नदेखि स्वास्थ्य शिक्षा, यातायात, खानेपानी, इन्टरनेटलगायत समस्या थियो तर अहिले सबै सुविधा उपलब्ध हुँदै गएकाले उनीहरू सुखी हुन थालेका छन्।’

गाउँमा दैनिक आउने पर्यटकमार्फत आम्दानी भई यहाँका बासिन्दाको आयस्रोतमा वृद्धि हुँदै जाँदा तिनलाई पैसाको अभाव हुँदैन।

यहाँका ९० प्रतिशत जनसङ्ख्यालाई आम्दानीका लागि अन्य दुःख गर्नै नपरेको अध्यक्ष प्रेमबहादुर बताउँछन्। अधिकांश वस्तु गाउँमै उत्पादन हुन्छ।

समितिका सचिव उमलबहादुर विकका अनुसार अन्य घरका बासिन्दाले भने पर्यटकलक्षित व्यापार–व्यवसाय गरेका छन्। स्थानीयबासीले निगालोको चोया, भेंडाको ऊन, अल्लोबाट हस्तकलाका सामग्री तयार गरेर बिक्रीवितरण गर्ने छन्। घरबासमा आएका पर्यटकले ती वस्तु खरिद गरेबाट समेत थप आम्दानी भई आयस्रोत वृद्धि हुँदै गएको स्थानीयबासी बताउँछन्।

पर्यटक वृद्धि हुँदै गएको घलेगाउँमा विसं २०७३ माघ २२ मा राष्ट्रपति विद्यादेवी भण्डारीले परम्परागत गुरूङ संग्रहालय उद्घाटन गरेपछि झन् बढी पर्यटक पुग्न थालेका छन्।

घरबास सञ्चालकले घरमै बसीबसी पर्यटक आगमन हुँदा महिनामै रु ४० देखि रु ७० हजार आम्दानी गर्दै आएका छन्।

गण्डकी प्रदेश सरकारले घलेगाउँको प्रवर्द्धनका लागि आव २०७५/७६ मा रु २९ लाख ४६ हजार र  क्ह्वालासोथर गाउँपालिकाले रु १५ लाख विनियोजन गरेका थिए।

पर्यटन व्यवसायबाट गाउँलेले बर्सेनि करोडौं रुपैयाँ आम्दानी गर्दै परिवारको भविष्य बनाउनेदेखि गाउँको विकासमा टेवा पुर्‍याएका छन्। बाइसे–चौबिसे राज्यकालमा घले राजाले यस ठाउँमा शासन गरेका थिए।

स्थानीयबासीका अनुसार घले राजाले शासन गरेको र घले जातिको बाहुल्य भएकाले गाउँको नाम नै घलेगाउँ रहन गएको हो। सात सय वर्ष पुरानो मानिएको घलेगाउँलाई गुरूङ भाषामा ‘कोइम्ली’ भनिन्छ।

यहाँ अन्तिम राजा क्याल्बोरोजा क्लेको सालिक निर्माण गरिएको छ। गुरूङ जातिको कर्मकाण्ड, वेद तथा अन्य शास्त्र सिक्ने र सिकाउने पाठशाला ‘क्होइँबो’ पनि यहाँ निर्माण गरिएको छ।

कोइम्लीका ४२ घरमा हाल घरबास कार्यक्रम सञ्चालनमा  छ।

गाउँमा आएका पर्यटकलाई स्वागत तथा सम्मान र बिदाइमा सेतो टीका, फूल, फूलको माला,  गुच्छा र  खादा चढाइन्छ। पर्यटकलाई गुन्द्रक, मकै, भटमास, कोदोको सेलरोटी, चियालगायत परिकार खुवाइन्छ।

पर्यटकका लागि गुरूङ संस्कृति झल्किने गीत तथा नाच प्रस्तुत गरी भरपुर मनोरञ्जन दिलाइन्छ।

पाहुना तथा पर्यटकलाई समाज घरमा लगेर गुरूङ संस्कारमा आधारित कृष्णचरित्र नाच, घाँटु, घ्याब्रे, लामा, सोरठीलगायत विभिन्न परम्परागत नृत्यहरू प्रस्तुत गर्नु घलेगाउँबासीको परम्परा हो। घलेगाउँमा प्रतिव्यक्ति एक रातको रु एक  हजार २५० शुल्क लिइन्छ। सो रकम तिरेबापत एक रात सुत्न तथा एकएक छाक मांसाहारी र शाकाहारी भोजन पाइन्छ।

बिहानको खाजामा चिया, कोदोको सेलरोटी, तरकारी र अण्डा पर्यटकले प्राप्त गर्छन्।

घलेगाउँको अर्को विशेषता हस्तकला पनि हो। गाउँबासीले  दैनिक जीवनमा आवश्यकता पर्ने कतिपय वस्तु आफैं तयार गर्छन्। भेंडाबाख्राको ऊनबाट राडीपाखी, बख्खु, अल्लोको धागोबाट भाङ्ग्रा, झोला, थैलो, नियालाको चोयाबाट डोको, नाम्लो, भकारी, थुन्से, घुम जस्ता वस्तु तयार गरिन्छ।

धान कुट्ने ढिकी, मकै, कोदो पिस्ने जाँतो, ढुंगा, रातो रङका जस्तापाता र खरले छाएको घरको छाना, भर्‍याङ, ढोकामा कुँदिएको कला तथा परम्परागत घुमाउरो घरमा प्रयोग भएका स्थानीय सीप पाहुना तथा पर्यटकलाई नौलो लाग्न सक्छ। यहाँ पुराना शैलीका घुमाउरो घर, बाक्लो घले (गुरूङ) बस्ती अनि चौबिसै घण्टा पानी, बिजुली र  वाइफाइको व्यवस्था छ।

स्थानीयबासीले यहाँ आउने पर्यटकलाई गाउँघरमै उब्जाइएका जैविक धान, मकै, कोदो, भटमास, रायोको साग, सिस्नोको खोले, स्थानीय कुखुरा, खसीबोका, भेंडाको मासुलगायत परिकार खुवाउने गर्छन्।

लमजुङ तथा विशेष गरी क्होलासोथर गुरूङ जातिको उद्गमस्थल हो। यही नामबाट क्होलासोथर गाउँपालिका छ। पुर्खौंपुर्खादेखि हिमाली काखमा जीवनयापन गर्दै आएका स्थानीयबासीको आफ्नै मौलिक कला, भाषा, संस्कार, संस्कृति छ।

स्वच्छ हावापानीमा रमाएको गुरूङ समुदायको लमजुङमा बाक्लो बस्ती तथा बसोबास छ।

एकै ठाउँमा गुचमुच्च भएर बस्न रूचाउने गुरूङ समुदायभित्र एकता पनि छ। पहिले रोधीँं हुँदै सामूहिक एकतामा होमिएका गाउँले पछिल्लो समय आमा र बाबा समूह, युवा क्लबमार्फत् गाउँ विकासमा लागेका छन्।

जिल्ला सदरमुकाम बेंसीसहरबाट पैदलयात्रा गरेमा समुद्री सतहदेखि दुई हजार १०० मिटर उचाइमा रहेको घलेगाउँ ६ घण्टा र सवारी साधनमा गए डेढ घण्टामै पुगिन्छ।

काठमाडौंंबाट तनहुँको डुम्रे बजार हुँदै बेंसीसहरसम्मको १७२ किमी र प्रदेश राजधानी पोखरादेखि बेंसीसहर ११० किमीको दूरीमा  छ। त्यस्तै बेंसीसहरबाट घलेगाउँ पुग्न २४ किमी यात्रा गर्नुपर्छ। घलेगाउँसम्म पुग्ने सडक पूर्वाधार विकास भइरहेको छ। कालोपत्रे गर्दै गाउँसम्म पुर्‍याउनका लागि काम अघि बढिरहेको छ। केही वर्षभित्रै कालोपत्रे सम्पन्न भएपछि यात्रा अझै सहज र छिटो हुनेछ।

औपचारिक रूपमा सुखीगाउँ घोषणा गर्नका लागि अहिले घरघरमा आयआर्जनलगायत तथ्यांक संकलन भइरहेको जनाइएको छ। साभार ः सेतोपाटी

 

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.