‘पूर्वको पशुपति’ खोटाङ हलेसीको दोस्रो रूप त्रिपुरेश्वर महादेवस्थल पर्यटक पर्खेर बसेको छ।
पौवादुङ्मा गाउँपालिका-१ तिलाहरमा आजभन्दा ५० वर्षअघि अर्थात् २०२८ सालमा उत्पत्ति भएको यो देवस्थल अहिले संरक्षण र प्रचारप्रसारको पर्खाइमा पनि छ।
हसेलीमा जस्तै गुफाभित्रका ढुंगामा देवताको अनेक रूप देख्न सकिने सो स्थानबाट कतिपय मूर्ति हराएका छन्।
शिव, पार्वती, राम, सीता, हनुमान, गौरी, गणेशलगायत देवताका मूर्तिसँगै आश्चर्यजनक गुफासमेत रहेको सो धार्मिकस्थल अहिले इतिहास बन्ने अवस्थामा पुगेको छ।
गुफाभित्र गाईका थुनजस्तै देखिने ढुंगाका आकृति, नाग र हात्तीका चित्र तथा ढुंगामा उत्पत्ति भएको दीयोसँगै पोखरीसमेत छ।
बयानब्बे वर्षीय स्थानीयबासी गङ्गाबहादुर श्रेष्ठले खोज गर्ने व्यक्तिहरूको देहावसानपछि गुफाको संरक्षण नभएको गुनासो गरे।
‘गुफाभित्र रहेका कतिपय मूर्ति हराए। कति तोडफोड भए। यहाँ देवताका अनेक रूप देख्न सकिन्छ। यसलाई जगेर्ना गर्न कसैको चासो गएन। अहिले यो अवस्थामा आइपुग्यो’, उनले भने।
सो देवस्थलमा दर्शन गरे सन्तान प्राप्ति हुने, सोचे–चिताएको पुग्ने बताइन्छ।
कुनै बालबालिकाको बोली नआएमा यहाँ ल्याएर दर्शन गराए वाक्य फुट्ने बताइन्छ।
‘यहाँ आएर दर्शन गरे धेरै कुरा पूरा हुने धार्मिक विश्वास छ। विसं २०३६ अघिसम्म यहाँ दर्शन गर्नेको निकै भिड लाग्थ्यो। अहिले भने यसको महत्व नै हराउँदै गएको छ, जीर्ण बनेको छ’, उनले भने।
यहाँ रामनवमी, बालाचतुर्दशी र शिवरात्रिमा मेला लाग्ने गरेको ८६ वर्षीय स्थानीयबासी केशरबहादुर श्रेष्ठले बताए।
तत्कालीन सशस्त्र द्वन्द्वकालको प्रभावसँगै अधिकांश स्थानीयबासी बसाइँ गएपछि संरक्षणविहीन बनेको उनको भनाइ छ।
‘धेरैअघिसम्मको यो त्रिपुरेश्वर महादेवस्थल देशमा कहलिएको देवस्थल थियो। यहाँ वर्षमा तीन पटक भव्य मेला लाग्थ्यो। विभिन्न काल, परिस्थितिले यो ठाउँ अहिले ओझेलमा पर्यो, संरक्षण भएन। अहिले कतिपय गुफाका प्वाल थुनिएका छन्’, श्रेष्ठले भने, ‘यहाँ देशभरका मानिससँगै भारतबाट समेत भक्तजन दर्शन गर्न आउँथे। सात दिनसम्म त मेला नै लाथ्यो।’
अहिले विगतमा लगाइएका साना ढोका तथा प्रवेशद्वार भत्किएका छन्। देवस्थलको घेराबारा नहुँदा यहाँका विभिन्न ठाउँमा क्षति पुगेको उनको भनाइ छ।
उनले भने,‘पछिल्लो समय यसको संरक्षणमा ध्यान गएन। स्थानीयबासीले चासो दिएनन्। सरकारी पक्षले पनि ध्यान दिएनन्। अहिले यहाँका धेरै संरचना पुराना स्वरूपमा छैनन्। गुफा मानिसहरूको फोहोर फाल्ने ठाउँ बन्ने अवस्थामा छ तर अहिले स्थानीय युवाको पहलमा केही संरक्षणको काम भएको देख्दा खुुसी लागेको छ।’
विसं २०२८ मा यहाँका इच्छाबहादुर श्रेष्ठ र धनपाल तामाङले त्रिपुरेश्वर महादेव पत्ता लगाएको मन्दिरका पुजारी रितबहादुर श्रेष्ठले बताए।
‘यहाँ देवस्थल छ भन्ने सपनामा देखेपछि उहाँहरूले खोजी गर्नुभयो। सपनामा देखेअनुसार त्यहाँ सानो प्वाल रहेको र त्यसलाई खनेर भित्र गएपछि यो स्थान फेला परेको भनिन्छ’, उनले भने,‘यस देवस्थलमा क्षति पुर्याउनेहरूको वंश नै विनाश भएको अवस्था पनि छ। कतिपयले संरक्षण नहुँदा घण्टीलगायत महत्वपूर्ण सामग्री चोरेर लगेको र पछि बौलाएपछि फिर्ता पनि गरेका छन्।’
यहाँको झाराली गुफामा बुढा सुब्बा, राम, सीता, शिव, पार्वतीलगायत अन्य विभिन्न देवीदेवताको मूर्ति रहेको उनले जानकारी दिए।
गुफाभित्र प्राकृतिक रूपमा बनेका दीयो, नागको चित्र, गाईको थुनबाट दूध आउने स्थान, पोखरीसँगै ५० जनासम्म बस्न मिल्ने ठाउँ रहेको तथा हलेसीको जस्तै पापद्वार र धर्मद्वार पनि रहेको जनाइएको छ।
रीतबहादुरले भने,‘यहाँ हलेसीको जस्तो देवीदेवताका मूर्ति छन्। कतिपय ठाउँमा गुफा २०७२ को भूकम्पका कारण थुनिएको छ। भित्र पोखरी छ तर संरक्षण र प्रचारको अभावमा यो स्थान पछिल्लो समय ओझेलमा पर्यो।’
सो स्थलको विकासका लागि स्थानीयबासीले संरक्षण समिति गठन गरेर काम गरिरहेको बताएका छन्।
आफैंले पैसा संकलन गर्दै वडा कार्यालय तथा गाउँपालिकाबाट बजेट माग गरेर संरक्षणको काम थालेको संरक्षण समितिका अध्यक्ष सीताराम श्रेष्ठले बताए।
अध्यक्ष सीतारामले भने,‘अहिले हामी युवाहरूको अगुवाइमा संरक्षणको काम थालिएको छ। कतिपय पुराना संरचना बिग्रिएका छन्। कतिपय मूर्ति तोडफोड भएका छन्। धेरै पटक हामीले संरक्षणका लागि बजेट माग गरेपछि वडा कार्यालयबाट यस पटक मन्दिर र पाटी निर्माणका लागि रु चार लाख पाएका छौं।’
सरकारी निकायबाट माग गर्दा पनि संरक्षणका लागि बजेट नआएपछि देउसी खेलेर, स्थानीयबासीबाट चन्दा उठाएर संरक्षणमा काम गरिएको सीतारामले बताए।
‘यो एउटा देशकै पहिचान बोकेको धार्मिकस्थल हो। हामीले यसको संरक्षणका लागि धेरै निकायसँग हारगुहार गर्यौं तर साथ पाएनौं। स्थानीयबासीबाट पैसा उठाएर यहाँसम्म पुग्ने सडकसमेत बनाएका छौं’, उनले भने। साभारः सेताेपाटी