रेवती ढुङ्गाना
पर्यटन क्षेत्रको विकासबिना कुनैपनि देशको विकास र समृद्धि असम्भब छ । नेपालको सन्दर्भमा त झन् यसको विकास, बिस्तार र प्रचारप्रसारको अति नै आवश्यक रहेको छ । प्राकृतिक स्रोत साधन, धार्मिक स्थलहरु, हिमालय पर्बत श्रृंखलाहरु, हिमतालताल, पोखरीहरु, बन जङ्गल, महाभारत पर्बत र त्यहाँको अनौठो हावापानी, जैबिक बिबिधतायुक्त जमिन त्यहाँ बस्ने जातजातका जन्तु जनावर र पक्षीहरु, साथै यो सानो भुगोलमा बसोबास गर्ने दर्जनांै भाषिक, साँस्कृतिक र जातीय सम्प्रदाय र तिनका कला संस्कृतिहरुले देशी बिदेशी जो कोहिलाई यहाँ मोहित पार्दछन् । यसको प्रचारप्रसारको माध्यामबाट लाखौको लागि रोजगारी सिर्जना गरि देशको सर्बाङ्गिण विकासमा मद्दत पु¥याउन सकिन्छ । प्रदेश नं. १ पनि पर्यटन विकासको अथाह सम्भाबना बोकेको प्रदेश हो । केहि क्षेत्रको म यहाँ चर्चा गर्न खोजिरहेको छु ।
हिमश्रृङ्खला
विश्वको सर्बाेच्च शिखर सगरमाथा, विश्वका अग्ला हिमालमध्येका मकालु र कञ्चनजंघा जस्ता हिमाल यसै प्रदेशमा रहेका छन् । यिनीहरुको आरोहणको निमित्त देश तथा बिदेशबाट वर्षेनि हजारांै पर्यटकहरु आउने गेरका छन् । कमसेकम आन्तरिक पर्यटकहरुलाई यी तीनवटा हिमालको बेस क्याम्पसम्म वर्षेनि घुम्न जाने सहज बातावरण निर्माण गर्ने हो भने ठूलो अर्थ उपार्जनको माध्यम बन्नसक्छ ।
प्रदेश नं. १ को महाभारत क्षेत्र बिचित्रको मौषमी हावापानी भएको र तरकारी, फलफुल र अन्नबालीको लागि पनि बिबिधता भएको क्षेत्रको रुपमा रहेको छ । अधिक जनसंख्या रहेको तराइको भुभाग र नजिकको भारतको बिहार तथा उत्तर प्रदेश, पश्चिम बंगालबाट नजिकै रहेकोले त्यस क्षेत्रमा तराइको मौषमी संकटको समयमा धेरै मानिसहरु सो क्षेत्रमा जाने गरेको पाइन्छ । होमस्टेको लागि प्रसिद्ध इलामको श्रीअन्तु, धनकुटाको भेडेटार, मोरङको जेफाले, भोजपुरको गोठसिँगे, यसै श्रृंखलामा पर्दछन् । दुनियाँको मन लोभ्याउने इलामको कन्याम, ३२ प्रजातिको गुराँसको राजधानी तिनजुरे जलजले मिल्के, संखुवासभा र तेह्रथुम, सिलौटी लभ्रेकुटी पाँचथर, ऐतिहासिक साँगुरीगढी धनकुटा, हतुवागढी भोजपुर, उदयपुरगढी उदयपुर, एभरेष्ट भिउ पोइन्ट लिम्चिमबुङ उदयपुर, ट्याम्के डाँडा भोजपुरलगायतका घुम्नैपर्ने पर्यटकीय स्थलहरु रहेका छन् । यी स्थानहरुसम्म पुग्न चाहनेहरुको लागि सामान्यतया सडक र खाने बस्ने ठाँउहरुको सुबिधा पाउन सकिन्छ ।
उच्च हिमाली जिल्लाहरु ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुमा प्रसस्त मात्रमा गुम्बाहरु निर्माण भई सञ्चालनमा रहेका छन् । सडक सञ्जालको पहुँच नभएका ठाउँका गुम्बाहरु भने हिमालय पर्वतको भ्रमण गर्दा बाटोमा भेटाइन्छन् । कलात्मक र भब्य देखिने यस्ता गुम्बाहरु पर्यटकहरुको अवलोकनको रोजाइमा पर्ने गरेका छन् । प्रसिद्ध धार्मिकस्थल पाथिभरा ताप्लेजुङ, हलेसी महादेवस्थान खोटाङ, बराह क्षेत्र, पिण्डेश्वर, बुढासुब्बा, रामधुनी सुनसरी, छिन्ताङ देबि धनकुटा, सिद्धकाली मन्दिर संखुवासभा र भोजपुर, किच्चकबध, अर्जुनधारा झापा, मनकामना संखुवासभा जस्ता धेरै आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको धार्मिक पर्यटकीय स्थलको रुपमा विकसित तथा स्थापित भएका छन् ।
सोलुखुम्बुको सोलुदुधकुण्ड, संखुवासभाको सभापोखरी, गुफापोखरी, इलामको माईपोखरी, धनकुटाको राजारानी ताल, सुनसरीको बर्जु ताल तथा अमाहा पोखरी पर्यटकहरुको रोजाइमा घुम्न लायक स्थानको रुपमा रहेका छन् ।
नेपालको सबैभन्दा लामो ह्यातुङ झरना तेह्रथुम पर्यटकहरुको ब्यग्र प्रतिक्षामा बसेको पाइन्छ । धनकुटाको नमस्ते झरना अत्यधिक पर्यटकको रोजाइको झरना रहेको छ । भेडेटारबाट नजिकै रहेको सो झरना भेडटारको बिचित्रको मौषममा रमाउन जाने पर्यटकहरुको पुग्नैपर्ने ठाउँको रुपमा स्थापित रहेको छ । धनकुटाको महालक्ष्मी नगरपालिकाको लेगुवा झरना पर्यटकको पर्खाइमा छटपटाइरहेको अर्काे झरना रहेको छ ।
झापाको दोमुखा क्षेत्र, मोरङको बेतना सिमसार तथा बेतिनी सिमसार, सुनसरीको तालतलैया तथा कोशीटप्पु क्षेत्र बाह्रै महिना पर्यटकहरुको घुइचो लाग्ने क्षेत्रको रुपमा समुदाय स्तरबाट सञ्चालित र बिकास भएका छन् ।
यहाँ विभिन्न जातजाति, भाषाभाषि र संस्कृति रहेका छन् । लिम्बू समुदायको च्याब्रुङ, राई समुदायको चण्डी नाच, ब्राम्हणहरुको बालन, मगरहरुको हुर्रा, नेवार समुदायको लाखे, थारु, सरदार, मेचे, बाँतरलगायतका बिभिन्न समुदायका साँस्कृतिक भेषभुषा, रहनसहन र कलाले यो प्रदेश घुम्न आउने जो कोहि मोहित हुन्छन् ।
दाताहरुको समेत लगानीमा भोजपुर खोटाङलगायतका जिल्लाहरुको उच्च भुभागको रमणीय दृश्यावलोकन गर्न मिल्नेगरिको मुन्धुम ट्रेल नामको पदमार्ग निर्माण भइरहेको छ । यो मौषम उक्त पदमार्गमा पदयात्रको लागि अतिउत्तम रहेको छ ।
प्रदेश नं. १ को राजधानी विराटनगरबाट माथि उल्लेख गरिएका क्षेत्रसम्म सहजै रुपमा भ्रमणमा जान सकिन्छ । बाहिरबाट आउने पर्यटकहरुले विराटनगर बिमानस्थलको प्रयोगसमेत गर्न सक्छन् । सुबिधा सम्पन्न होटल तथा लजको सुबिधा विराटनगरमा पाइन्छ भने नजिकै रहेको इटहरी र धरानसमेत पर्यटकको रोजाइमा पर्ने गरेका स्थानहरु रहेका छन् ।
उल्लेखित क्षेत्रहरुको विकास विस्तार र प्रचारप्रसारको लागि प्रदेश सरकार र स्थानीय सरकारले पहल गर्ने गरेको भएपनि पर्याप्त भने छैन । समुदायस्तर, कृषि उद्यमी, होटल तथा पर्यटन ब्यवसायी, संचार क्षेत्र, सरकारी संयन्त्र, निजी क्षेत्र र सहकारीसमेत यस कार्यमा हालेमालो गरेर लाग्ने हो भने जनताको जीवनस्तरमा परिवर्तन गर्न र मुलुकको सम्बृद्धि हासिल गर्न खासै समय लाग्दैन । पर्यटन विकासको लागि सरकारी भेला, सम्मेलन र गोष्ठीले मात्रै सम्भब छैन । साभारः हाम्रोमत दैनिक