विमल लामिछाने
विगत दुई वर्षदेखि विश्व महामारीका रुपमा रहेको कोरोना भाइरसका कारण नेपालको पर्यटन क्षेत्र नराम्रोसँग थलिएको छ । प्राकृतिक रूपमा प्राप्त नेपालका पर्यटकीय क्षेत्रको संरक्षण र पुनर्निमाण गर्न ठूलो मानवीय परिश्रम खर्च भएकै छैन । नेपालमा यस्ता थुप्रै स्थान छन्, जसका बारेमा स्वयम् नेपालीहरूलाई पनि जानकारी छैन ।
मुलुकको पर्यटन प्रवद्र्धन र बिकासका लागि सञ्चार माध्यमको पनि उल्लेखनीय भूमिका रहेको हुन्छ । ‘जति धेरै प्रचार–प्रसार गर्न सक्यो, त्यति नै पर्यटकलाई स्वदेशमा भित्र्याउन सकिन्छ । त्यसका लागि सञ्चार माध्यमले विशेष योगदान गरेको छ । र, हाल संसारभरीकै लागि पर्यटन उद्योग सबैभन्दा ठूलो ब्यवसायका रुपमा परिणत भइसकेको छ ।
पर्यटन क्षेत्रलाई सरकारले आर्थिक विकासको मूल आधार मानेर अघिल्लो वर्ष नै यस क्षेत्रबाट अर्थतन्त्रमा भइरहेको ३ प्रतिशतको योगदानलाई बढाउने लक्ष्य अनुसार भ्रमण वर्ष मनाउने घोषणा गरेको थियो । तर, कोरोना त्रासका कारण सामान्य अवस्थाको तुलनामा पर्यटक आगमन झनै घट्यो । २०१९ मा १ लाख १ हजार ४ सय पर्यटक नेपाल आएका थिए । तर, अघिल्लो वर्षको भन्दा गतवर्ष १ हजार ५८७ पर्यटक घटे । यसको मुख्य कारण भनेकै कोरोना भाइरसको विश्व महामारी बन्यो ।
विश्वकै धनी मुलुक
राष्ट्रिय स्तरलाई हेर्ने हो भने नेपाल पर्यटकीय सम्पदामा विश्वमा धनी राष्ट्रको रूपमा रहेको पाइन्छ । विश्वमा ८ हजार मिटरभन्दा अग्ला हिमालमध्ये ८ वटा नेपालमै रहेका र हालै नेपाल सरकारले प्रकाशित गरेको रिपोर्टमा नयाँ ६ वटा हिमाल ८ हजार मिटरभन्दा अग्ला रहेको पत्ता लागेको भनिएको छ । नेपालको चर्चामा रहेका र मुख्य पर्यटकीय आकर्षणको रूपमा परिचित सगरमाथालगायतका हिमश्रृंखला र शान्तिका अग्रदूत सिद्धार्थ गौतमबुद्धको जन्मस्थल लुम्बिनी, प्राकृतिक सौन्दर्यको पोखरा, चितवन, ढोरपाटन, मुस्ताङ, चिसापानी–तातोपानी, राष्ट्रिय निकुन्ज, शिकार आरक्ष, पाथीभरा, इलामको श्रीअन्तु, विश्वकै गहिरो अरुण उपत्यका आदि छन् ।
साहसिक पर्यटन, हिमाल आरोहण, बन्जी जम्पिङ, रक क्लाइमिङ, क्यानोइङ, प्याराग्लाइडिङ आदि विभिन्न उद्देश्यले नेपालमा बर्षेनि लाखौं विदेशी पर्यटक आउने गरेका थिए । पर्यटन क्षेत्र नेपालको आर्थिक विकासको आधार बन्दै आएको थियो । नेपालमा पर्यटक आउने क्रम शुरू भएपछि यस व्यवसायसँग सम्बन्धित अन्य थुप्रै क्षेत्र क्रमशः फष्टाउन थालेका थिए । होटल, रेष्टुरेण्ट, ट्राभल एण्ड टुर्सजस्ता क्षेत्रको माग पनि पयर्टक आगमनसँगै बढ्न थालेको हो । तर, पछिल्लो समय कोरोना महामारीबाट यी क्षेत्र नराम्रोसँग प्रभावित बने ।
केचनादेखि सगरमाथासम्म
नेपालकै सबैभन्दा होचो झापाको दक्षिणी सिमानाको कचनकवल केचनादेखि सगरमाथाको शिखरसम्म १ नम्वर प्रदेशमा पर्नु पर्यटकीय विकास र सम्भावनामा भाग्यमानी प्रदेश मानिन्छ । झापाको दक्षिण कुनामा पर्ने नेपालकै सबैभन्दा होचो गाउँपालिका समुन्द्र सतह भन्दा केवल ७० मिटरको उचाईमा रहेको कचनकवलदेखि पर्यटकलाई आफूतिर आकर्षित गर्ने विश्वको सर्वोच्च शिखर सगरमाथासहित ८ हजार मिटरमाथिका ५ हिमाल– मकालु, ल्होत्से, कन्चनजंघा र कुम्भकर्ण हिमाल प्रदेश १ मा नै पर्दछन् । सगरमाथा राष्ट्रिय निकुञ्ज, कञ्चनजंघा संरक्षण क्षेत्र र कोशी टप्पु वन्यजन्तु आरक्ष जस्ता पर्यटकीय स्थल यहीँ छन् । पूर्वका भेडेटार, नमस्ते झरना, हिले, वसन्तपुर, मिल्के जलजले, जेफाले पर्यटकीय क्षेत्रलगायतका ठाउँ चर्चामा छन्, पछिल्लो समयमा धरानमा प्याराग्लाइडिङ शुरु भएको छ भने तमोर तथा कोशी जलमार्गमा र्याफ्टिङ पनि शुरु भएको छ ।
प्राकृतिक मात्र नभै धार्मिक र सांस्कृतिक पर्यटनको प्रचुर सम्भावना पनि यही प्रदेशमा छ । झापाका केचनाकवल, अर्जुनधारा, दोमुखा, सताक्षीधाम, माईधार घुम्न आउने भारतीय, वंगाली र चाइनिज पर्यटकको लागि आकर्षणका क्षेत्र हुन् । यस्तै, इलामको गजुरमुखी, सन्दकपुर, कन्याम, माइपोखरी, फाकफोकथुम ३ आमचोकको सुन्दर र समणीय जोरधारा र ज्ञानदिल झरना, ज्ञानदिलदासले गुप्तबास बसेको गुफा, कालीदेवी पछिल्लो समय चर्चामा आएका पर्यटकीय स्थल हुन् । इलाममा पर्यटकीय आर्कषणका अनेकांै स्थान र विषय छन् । हरियाली चियाबारी डाँडा मात्र होइन दृश्यावलोकनका लागि अब्बल स्थान, झरना, सिमसार, विश्वमै दुर्लभ रेडपान्डालगायत जैविक विविधतायुक्त संस्कृति पर्यटकका लागि आर्कषण बन्ने गरेको छ ।
डेढ दशकअघि स्थानीयले पर्यटन विकासमा सक्रियता बढाएसँगै पर्यटक आगमनमा सुधार हुँदै आएको हो । स्थानीयको प्रयासमा दरिलो साथ दिने योजना नहुँदा भने सोचेअनुरूप काम हुन भने सकेको छैन । बर्सेनी महोत्सव गरेर ग्रामीण पर्यटनको अभ्यास गरेका अन्तुबासीले १५ वर्षअघि गरेको मेहनत अनुसार केहीवर्षदेखिमात्रै प्रतिफल चाख्न भ्याउँदै छन् । सूर्योदय दृश्यावलोकनका लागि उत्कृष्ट मानिने अन्तुडाँडासँगै लोपोन्मुख लेप्चा जातिको संस्कृति, अन्तुपोखेरी, चियाबारीले सजिएका डाँडाकाँडा र कृषिबाट सुधारिएको जीवनशैलीले पर्यटकलाई आकर्षण गर्ने गरेको छ ।
चियाबारीले भरिएको कन्याम, रामसार क्षेत्रमा सूचीकृत जैविक, धार्मिक र सांस्कृतिक महत्वको माईपोखरीले पर्यटक आकर्षण गरेको छ । त्यसैगरी दृश्यावलोकनका लागि चर्चित, सिद्धिथुम्का, माङ्मालुङ, धार्मिकस्थल लारुम्बा, पाथिभरा, गजुरमुखी, जिल्लाकै अग्लो टोडे झरना, मावुथाम, रेडपान्डा पाइने, चोयाटार, दोबाटे, हाँगेथाम, पाटे नागीजस्ता पर्यटकीय महत्वका थुप्रै स्थान अझैपनि ओझेलमा छन् । संघीय संरचनासँगै तेह्रथुमको पर्यटन व्यवसायले गति लिँदै अघि बढेको थियो । तीनजुरे, कालापानी, पटकेडाँडा, हली मेला, हयात्युङ झरना, वसन्तपुरलगायत क्षेत्रमा आन्तरिक पर्यटकको चाप भने घटेको छैन । एकैस्थानमा २८ प्रजातिका गुराँस फुल्ने तीनजुरे, मिल्के, जलजले क्षेत्र गुराँस फुल्ने मौसम सुरु भएसँगै विदेशी पर्यटकको संख्या बढ्ने गरेको छ । जैविक विविधताले महत्वपूर्ण मानिएको यो क्षेत्र परिवारसहित घुम्न अत्यन्तै राम्रो मानिदै आएको छ ।
संखुवासभाको सभापोखरी, भोजपुरको साल्पापोखरीजस्ता अत्यन्तै माथिल्लो भेगमा रहेका रमणीय पोखरी तथा तालले पनि यहाँको सौन्दर्यता बढाएका छन् भने तराईमा रहेका धेरै सीमसार क्षेत्रले पर्यावरणको सुरक्षा अझै सशक्त बनाएका छन् ।
कसरी सुरु भयो पर्यटन ?
सामान्यतया व्यापार, मनोरञ्जन वा रमाइलोका लागि गरिने यात्रालाई पर्यटन भनिन्छ । ब्यवसायिक रुपमा सन् १८११ बाट पर्यटन शुरुभएको पाइन्छ । फुर्सदको समय पर्यटकका रुपमा बाहिरी वातावरणमा बिताउने प्रचलन बेलायत लगायतका पश्चिमा देशहरुमा औद्योगिक क्रान्तिपछि शुरु भएको भनिएको छ । यात्रा र अवलोकनको क्रम बढ्दै गएर पर्यटन एउटा विशाल उद्योगको रुपमा विकसित हुन गएको हो । थमस कुकले ट्राभल एजेन्सीमार्फत समूहगत रुपमा पाहुनाहरुलाई घुमाउन थालेपछि यो व्यावसायिक रुपमा विकसित हुन थालेको विश्व पर्यटन बोर्डले भनेको छ ।
सञ्चारले पर्यटनसँग जोडेको विश्व
मुलुकको पर्यटन प्रवद्र्धन र विकासका लागि सञ्चार माध्यमको पनि उल्लेखनीय भूमिका रहेको हुन्छ । ‘जति धेरै प्रचारप्रसार गर्न सक्यो त्यति नै पर्यटकलाई स्वदेशमा भित्र्याउन सकिन्छ, त्यसका लागि सञ्चार माध्यमले विशेष योगदान गरेको छ । हाल संसारभरीकै लागि पर्यटन उद्योग सबैभन्दा ठूलो ब्यवसायका रुपमा परिणत भइसकेको छ । पर्यटन प्रबद्र्धनका लागि प्रायः सम्बन्धित निकायहरूले अहिले यस्ता संक्षिप्त जानकारीहरू वेभसाइडहरूमा समेत दिन थालेको हँुदा विश्वको एक कुनाको बारेमा अर्को कुनाका मानिसले घरैमा बसेर ज्ञान हासिल गर्नसक्ने भएको छ भने त्यसै अभिरुचिले थप जानकारी लिने, हेर्ने, देख्ने वा प्रत्यक्ष अनुभूति राख्ने इच्छा हुन्छ र पर्यटकीय गतिविधिलाई बढाउँछ ।
मानिसहरुको व्यस्तता, मुद्राहरुको सहज प्रयोग, अंग्रेजी भाषा अन्तर्राष्ट्रिय सञ्चारमाध्यम हुनु, सञ्चारको तीब्र विकास र बिश्वव्यापीकरण हुनु, इन्टरनेटको सहज पहुँच हुनु, विश्व एक गाउँ अर्थात संसार एउटा सानो गाउँ जस्तो बन्दै जानु, अन्तर्राष्ट्रिय संगठनहरु स्थापित र विकसित हुँदै जानु शिक्षा, खेलकुद, सभा–सम्मेलनको अन्तर्राष्ट्रिय सञ्जाल बन्दै जानु आदि कारणले पर्यटन उद्योग विश्वव्यापी र विशाल उद्योग बन्दै गएको छ ।
पर्यटनमा नारा मिले, पारा मिलेनन्
पर्यटन विकासका अथाह सम्भाव्यता बोकेको भएपनि नेपालमा अपेक्षित रुपमा यसको विकास हुन सकेको छैन । सन् १९५० भन्दा पहिलाको राणा शासनकालमा विदेशीलाई पर्यटकको रुपमा आमन्त्रण गर्ने नीति नै नभएको हुनाले यसको विकास हुने कुरै भएन । सन् १९७० को दशकमा आएर नेपालमा राजमार्गहरु बन्न थालेपछि पर्यटनले व्यवसायिक रुप लिन थालेको हो । सन् १९९० मा राजनैतिक व्यवस्था परिवर्तन भएर बहुदलीय व्यवस्था स्थापना भएपछि उकालो लाग्न थालेको पर्यटन उद्योग बेलाबेलामा दलगत रुपमा आयोजना गरिने बन्द, हड्तालले प्रभावित भएकै थियो । सन् २००० तिर आइपुग्दा इन्डियन एयरलाइन्सको अपहरण, दरबार हत्याकाण्ड, राज्य र माओवादीबीचको द्वन्द जनयुद्ध दबाउने नाममा भएको हिंसा, प्रतिहिंसा, जनआन्दोल, मधेस जनआन्दोल लगायतका कारणले गर्दा पर्यटनमैत्री वातावरण बन्न सकेन ।
सन् २००६ मा भएको बृहत शान्ति सम्झौता पश्चात पुनः घुँडा टेक्न थालेको पर्यटन उद्योगलाई राज्य र राजनैतिक पार्टीहरुको तर्फबाट चुनावी घोषणापत्रमा मुख्य नारा बनाएर प्रतिबद्दता प्राथमिकता प्राप्त क्षेत्र भनिएता पनि त्यसका लागि आवश्यक पूर्वाधार, नीतिनिर्माण र वातावरण निर्माण हुन सकेको छैन । सरकारले विभिन्न चरणमा नारा चिल्ला ल्याएपनि पर्यटन विकासमा पारा मिलाउन नसक्दा योजना योजनामा नै सीमित हुन पुगेका कयौं उदाहरण पनि छन् । विगत २५ वर्ष अगाडिदेखि आवधिक निर्वाचनताका बिभिन्न राजनीतिक दलहरुका घोषणापत्रमा महत्वकांक्षी योजनासहितका बैज्ञानिक पर्यटनका नारा लगाइएता पनि कार्यान्वयन पक्षमा सक्रियता पुग्न सकेको छैन । साभारः हाम्रोमत bmllamichhane@gmail.com