चिटचिट पसिना । सास फेर्नै सकस, बिस्तारै उकालियौं हामी । त्यहाँको बोर्डमा उचाई लेखिएको थियो–४४८० मिटर । हामी डाँडामा पुग्दा कुहिरो क्षितिजमा बिलायो ।
अहा ! तिम्बुपोखरी ! घामको चुम्बन तिम्बुको पानीमा पर्दा आगन्तुकले चढाएका पैसा पोखरीको फेदमा टलक्क टल्किए । त्यही उज्यालोमा झल्किँदै थियो दर्शनार्थीका सपना।
पोखरीमा पूजापाठ गर्नेहरु उलेख्य भेटिए । चार घण्टा उकालो तथा तेर्सो बाटो हिँडेर हामी त्यहाँ पुगेका । लेक लागेर, सास फेर्न नसकेर, थाकेर हैरान भएकाहरु पनि त्यहाँ पुगेसी स्वस्थ्य देखिए । त्यहाँको प्रकृतिमा रमाउन थाले।
पोखरीलाई धार्मिक आस्था केन्द्र मानिन्छ । अग्लो ठाउँमा अवस्थित पोखरीलाई चट्टाने पहाडले घेरेको छ । त्यही पहाड टलक्क टल्किन्छ पोखरीमा । पानी कताबाट उम्रिरहेको छ भन्ने भेउ पाउनै कठिन । सफा छ पोखरी।
हामीले पनि पानी छोयौँ । ढोग्यौं र छेवैको मन्दिरमा आस्थाको शिर झुकायौँ । यसरी झुकाउनेहरु पूर्वकामात्र हैन सिक्किम, पश्चिम बंगालदेखि पश्चिम नेपालसम्मका थिए।
तिम्बु पोखरीमा तीन पटक पुग्नु पर्ने मान्यता छ । मनोकांक्षा पुरा हुने वि श्वासले बर्सेनी भारतीय तिर्थालु समेत आउँछन् । तर, त्यहाँ खान/बस्न होटल सुविधा छैन, गोठमा बस्नु पर्छ।
विहान हिमाल छर्लङ उघ्रिएको थियो रे ! हामी डाँडा चढ्न ढिलो भएछ, कुहिरोको साम्राज्य चलिहाल्यो । कुहिरो र घामको लुकामारी चलिरह्यो।
फुत्त निस्कने कुहिरो र क्षणभर उघ्रिने लेकाली मौसम । तिम्बुपोखरीका दृश्य लोभलाग्दा छन् जुन पाँचथर र ताप्लेजुङको सिमानामा पर्छ । पाँचथरको याङवरक गाँउपालिका र ताप्लेजुङको सिदिङमा गाँउपालिकाको संगमस्थलमा । पोखरी र आसपास क्षेत्र प्रर्वद्धन गर्न सिदिङ्मा गाँउपालिकाले महोत्सव मनायो यसपाली । त्यही महोत्सवमा झुम्यौं हामी पनि।
त्यही क्षेत्रका कृष्ण प्याकुरेलले पथप्रर्दशक तथा संयोजन गरे जसले गर्दा हामीलाई सजिलो भयो । मेरा लागि यो यात्रा नौलो त थिएन तर पनि रोमान्चित हुन पाएँ । हाम्रो टिमको अगुवाई नरेन्द्रकुमार केरुङले गरे । उनका रमाइला किस्सा र अनुभवले थकानमा पनि जोश भ-यो।यात्रामा सुरेन शिशिर केरुङ, प्रताप राई, राम आङदेम्बे, न्यूमन मुखिया जस्ता तन्नेरीहरुसँग गीत गाँउदै हिँड्यौं । त्यसो त ताप्लेजुङका पदयात्रीको ठूलो संख्या पनि मिसियो।
कतै अग्ला तथा कहिले होचा तर चिटिक्क पहाड । पहाडलाई स्पर्श गर्दै बगेको पानी उतिकै कञ्चन । तिम्बु पोखरीको प्रख्याती बढ्दै छ । अग्ला हरियाली पहाड, लेकाली फूलहरुले भरिएको फराकिलो भुगोल निकै आकर्षक छ । प्रातिक फूलबारीमा रंगविरंगका फूल।
जैविक बिविधिताको विशाल भण्डार भेटिन्छ । केन्जो, माइकोपिला, विखुमा लगायत जडीबुटी पाइन्छ त्यहाँ । चौंरी चरेको देखिन्छ । डाँडातिर भेडीगोठ छन्।
तिम्बु पाखेरीका लागि सडकदेखि दुई दिन एक विहानको पदयात्रा गर्नु पर्छ । तिम्बुमा धार्मिक पर्यटक बढिरहेका गोठ व्यवसायी भीम भण्डारी बताउँछन् । यो क्षेत्रको प्रकृति, हावापानीको, प्राकृतिक बनोट तथा तिम्बु पोखरीको धार्मिक महत्व भारतमा समेत फैलिएको सिक्किमे युवा अशोक क्षेत्रीले सुनाए।
सिक्किम सरकारले नेपालको सीमा चिवाभञ्याङमा सडक जोड्ने काम अघि बढाएको छ । उसले पर्यटकलाई प्राथमिकता राखेको छ । यसले तिम्बु क्षेत्र घुम्नेको संख्या बढ्ने आशा गरिएको छ।
तिम्बु पोखरी दर्शनले मनोकांक्षा पुरा हुन्छ । त्यसैले तिर्थालु भाकल गर्छन् । पोखरीमा पोखरीमा तीन पटक पुग्नु पर्ने मान्यता छ।
हिमाली क्षेत्रमा रहेको यो पोखरी वरपर प्रकृतिले अनेकन उपहार दिएको भेटिन्छ । तिम्बु पोखरीदेखि माथि पुग्दा सिक्मिको लक्ष्मी पोखरी लगायत पोखरी भेटिन्छन्।
तिम्बु पाखेरी पुग्दा स्वर्गमा पुगे झैं लाग्छ । यसपाली राजनीतिक दलका नेता, जनप्रतिनिधि, सरकारी निकायका प्रमुखहरु तिम्बु पोखरी पुगेका थिए । गोठालाहरुले तिम्बु क्षेत्र विकास गरी पर्यटनस्थल बनाउन सरोकारवालाको ध्यानाकर्षण गराएका थिए।
कठिन भुगोल छिचोलेर पोखरी दर्शन गर्न पाइन्छ । हामी पाँचथर सदरमुकाम फिदिमबाट च्याङथापु हुँदै वेतेनी भन्ने ठाँउबाट हिँडेर पोखरी गएका । बेतेनीसम्म कच्ची बाटोमा मोटरसाइकल हुँइक्यायौं । ताप्लेजुङको कालीखोलामा बास बस्यौँ । लेकाली मकै पोल्दै खाएर गीत गायौं।
तिम्बु पोखरी जानेहरुले गर्दा गाउँ भरिभराउ थियो । भोलिपल्ट विहानै उकालो लाग्यौँ । नाक ठोकिने उकालो जुकाको राजधानी रहेछ । दोश्रो दिनको बसाई विखेचौरमा भयो । भीम भण्डारी, डम्मर भण्डारीहरुले हामीलाई साथ दिए । पाँचथर र ताप्लेजुङबीच दोहोरी नै चल्यो । पर्सिपल्ट विहान पाँच बजेर हिँडेर नौ बजे तिम्बु पाखेरी पुग्यौं । बाटोभरी देखिएको भुगोल, चराचुरुङ्गी, फूल लगायत जैविक विविधता उत्तिकै आकर्षक थियो । हरेक दश मिनेटमा क्यामेरा चलाउन मन लाग्ने।
तिम्बू आफूमात्र सौन्दय साटेर एक्लो फक्रिएको छैन जता हे-यो उतै रमाइलो देखिन्छ । फराकिला चौर, आकर्षक डाँडा, हिमाली दृष्य, लेकाली भुवनोट, गोठहरु आदि।
यात्रामा बसाई गोठमै हुने गर्छ । एउटै गोठमा २५ जना भन्दा बढी बस्नु पर्छ मेला लाग्ने बेलामा । एकातिर महिला, अर्कातिर पुरुष र वीचमा अगेनो । आगो रातभरी ननिभ्ने । त्यहीँ पकायो, त्यहीँ खायो, त्यहीँ सुत्यो । दुध, ध्यू र चौरीको छुर्पि प्रशस्त।
साउनदेखि असोजसम्म घुमन्तेहरु आउँछन् । चिसो बढ्दै गएपछि गोठ औल झर्छन अनि खाने/बस्ने समस्या हुन्छ । डाँडाहरु फराकिला र सुन्दर छन् । मनभरी आनन्द दिन्छ । गोठ पनि ढुंगा र काठको । फोन खासै चल्दैन।
तिम्बु पोखरी जाने विभिन्न बाटा छन् । पाँचथर सदरमुकामदेखि मध्यपहाडी लोकमार्ग हुँदै वेतनीसम्म जिपमा । त्यहाँवाट कालीखोलाको बाटो हुँदै जाने । यहीँबाट बर्मेहुँदै तिम्बु पोखरी पुग्न सकिन्छ । यस्तै मध्यपहाडी लोकमार्गको पूर्वी प्रस्थानविन्दु चिवा भञ्याङहुँदै पनि पुग्न सकिन्छ । इलामवाट माइमझुवा हुँदै फालोट निस्किएर पनि जान सकिन्छ । इलामवाट सन्दकपुरहुँदै पाँचथरबाट पनि पुग्न सकिन्छ । यात्रामा ओखती र खानेकुरा बोक्नु पर्छ । अनि फर्किंदा चौंरीको दुधबाट बनेका घ्यू, छुर्पि कोशेली ल्याउन सकिन्छ। साभार कन्जे खबरवाट