‘पर्यटनको दीगो विकासमा प्रदेश सरकारको ध्यान’

April 28, 2021     Paryatan Yatra

विराटनगर । प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री राजकुमार ओझाले पर्यटनको दीगो विकासका लागि प्रदेश सरकार लागि पर्ने बताउनु भएको छ । प्रदेश १ को राजधानी विराटनगरमा ३ दिने डिजिटल मार्केटिङ एण्ड प्रोडक्ट प्याकेजिङ तालिम कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

‘हाम्रो प्रदेश सुन्दरताले भरिएको धनी प्रदेश हो । प्रदेश सरकारको प्राथमिकतामा पर्यटकीय स्थलहरुमा भौतिक पूर्वाधार निर्माण भइरहेको छ’ उहाँले भन्नुभयो । प्रदेश सरकारले कृषि र जलविद्युतपछि पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको राज्यमन्त्री ओझाले बताउनुभयो ।

नेपाल पर्यटन बोर्ड र नाटा प्रदेश १ को संयुक्त आयोजनामा सोमबारदेखि तालिम सुरु भएको हो । प्रदेश १ का पर्यटकीय गन्तव्यहरुलाई डिजिटलाइज गर्दै पर्यटन प्याकेजहरुलाई गति दिन तालिमको आयोजना गरिएको हो ।

तालिममा पर्यटकीय गन्तव्यहरुको महत्व र बिशेषता सहितका प्याकेजलाई अन्तर्राष्ट्रिय बजारमा कसरी ब्राण्डिङ गर्ने भन्ने विषयमा प्रशिक्षण दिइने आन्तरिक पर्यटन पुनरुत्थान समिति प्रदेश १ का संयोजक भबिश श्रेष्ठले बताउनुभयो ।

प्रदेश १ का पर्यटकीय गन्तव्यहरुको विकास र प्रवद्र्धनमा देखिएको समस्या र चुनौती पहिचान गर्न ३ दिने तालिमको आयोजना गरिएको नेपाल पर्यटन बोर्डका प्रबन्धक सुमन घिमिरेले बताउनुभयो ।

होटल व्यवसायी संघका केन्द्रीय सदस्य राजन श्रेष्ठले पर्यटन व्यवसायलाई समय अनुसार आधुनिकीकरण गर्दै जानुपर्ने वताउनु भयो । उहाँले प्रदेश १ पर्यटनको सबैभन्दा बढी सम्भावना बोकेको प्रदेश भएर पनि सोचेजस्तो विकास र प्रचार प्रसार हुन नसकेको वताउनुभयो ।

यसैगरी प्रदेश १ सामाजिक विकास मन्त्रालयका प्रमुख सल्लाहकार तुलसी पोखरेलले सरकार र निजी क्षेत्रको हातेमालोले मात्र पर्यटनको दिगो विकास हुने वताउनुभयो ।

नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लिलावल्लभ घिमिरेले पर्यटनको विकास लागि प्रचारप्रसार सबैभन्दा महत्वपूर्ण पक्ष रहेको भन्दै प्रदेश सरकारलाई पर्यटकीय स्थलहरुको प्रचार प्रसारमा ध्यान दिन आग्रह गर्नुभयो ।

नेपालबाट बर्षेनि साढे १३ लाख नेपाली आन्तरिक पर्यटकहरु विदेश जाने गरेका छन् । तर अहिले विदेश जाने अवस्था नरहेको हुँदा मात्र ७५ प्रतिशत आन्तरिक पर्यटकहरुलाई पनि चलायमान बनाउन सकिए पर्यटन क्षेत्रलाई राहत मिल्ने पर्यटन व्यवसायीको बुझाई छ ।

प्रदेश १ मा पर्याप्त गन्तव्यहरु भए पनि उचित प्रचारप्रसारको अभावमा पर्यटकहरु भित्रन नसकेको पर्यटन व्यवसायीले बताएका छन् । पर्यटन क्षेत्रको विकासमा सर्वपक्षीय सहयोग आवश्यक रहेको उनीहरुको भनाई छ । कार्यक्रममा नेपाल पत्रकार महासंघका नवनिर्वाचित जिल्ला र प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको थियो ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.