विराटनगर । प्रदेश १ घुम्न आउने निम्तो वाँड्दै निस्केको पर्यटन व्यवसायीको टोली पोखरा पुगेको छ । ‘घुमौं पूर्व प्रदेश नम्वर १’ भन्ने मुख्य नारासहित आन्तरिक पर्यटन प्रवद्धैन गर्ने उद्देश्यले टोली पूर्वबाट निस्केको हो ।
नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा प्रदेश १ का होटल तथा पर्यटन ब्यवसायीहरु जनकपुर, सौराहा, पोखरा हुँदै लुम्बिनी पुग्ने छ । प्रदेश १ का पर्यटकीय गन्तव्यहरुको प्रचार प्रसार गर्ने उद्देश्यका साथ उक्त टोली प्रचार भ्रमणमा निस्केको हो । आन्तरिक पर्यटन पुनरुत्थान एवं प्रबद्र्धन अभियानले अन्य प्रदेशवाट आउने पर्यटकलाई प्रदेश १ मा तान्न सकिने क्षेत्रीय होटल संघका अध्यक्ष राजन श्रेष्ठले बताउनु भयो ।
नेपाल पर्यटन बोर्ड प्रवद्र्धक रहेको अभियानमा होटल एशोसिएशन अफ नेपाल, नेपाल एशोसिएशन अफ ट्राभल्स एजेन्ट, आन्तरिक पर्यटन पुनरुत्थान समितिका पदाधिकारीहरु सहभागी छन् ।
टोलीले जनकपुर, सौराहा, पोखरा र लुम्बिनीका पर्यटन व्यवसायी, होटल व्यवसायी तथा ट्राभल एजेन्सीका अधिकारीसँग भेटेर पूर्वको पर्यटकीय क्षेत्रबारे जानकारी दिइने आन्तरिक पर्यटन पुनरुत्थान समितिका प्रदेश १ संयोजक भबिश श्रेष्ठले बताउनु भयो ।
अभियानबाट पूर्वमा पर्यटक ल्याउन सकिने आधारहरु प्रस्तुत हुने तथा पूर्वका ब्राण्डहरु, प्राकृतिक, सांस्कृतिक र पर्यटकीय स्थलबारे अन्य प्रदेशमा प्रचार प्रसार हुने श्रेष्ठले बताउनु भयो ।
१ नम्बर प्रदेश आन्तरिक पर्यटन पुनरूत्थान एवं प्रवद्र्धन समितिका सहसंयोजक बासुदेव बरालले १ नम्वर प्रदेश धार्मिक, साँस्कृतिकलगायत धेरै कारणले सम्भावना बोकेको प्रदेश भएकाले यहाँ पर्यटकका थुप्रै कुरा रहेकाले पर्यटक ल्याउन सकिने वताउनु भयो । नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक काशीराज भण्डारीले १ नम्वर प्रदेशका व्यवसायीलाई अब शिरमा कञ्चनजंघा र सगरमाथालाई राखेर अघि बढ्न सुझाव दिनुभयो ।
१ नम्वर प्रदेशमा पर्यटकका लागि धेरै कुरा भए पनि यसको विकास र प्रवद्र्धन तथा प्रचार प्रसार गर्न नसकेको उहाँको भनाई छ । विश्वकै अग्लो सर्वोच्च शिखर सगरमाथा र नेपालकै होचो स्थान केचनाकवलसमेत १ नम्वर प्रदेशमा पर्ने भएकाले यसको प्रचार प्रसारमा जुट्न व्यवसायीलाई सुझाव दिदैं यसकालागि नेपाल पर्यटन बोर्डले जस्तोसुकै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
टोलीमा नेपाल पर्यटन बोर्डका अधिकृत प्रेमप्रसाद भट्टराई, आन्तरिक पर्यटन पुनरूत्थान एवम् प्रवर्द्धन अभियानका संयोजक भविशकुमार श्रेष्ठ, क्षेत्रीय होटल संघका अध्यक्ष राजन श्रेष्ठ, नाटा प्रदेश नम्वर १ का अध्यक्ष उदयकुमार श्रेष्ठ, अभियानका सहसंयोजक वासुदेव बराल, नाटाका महासचिव नविन खरेल, मेची उद्योग बाणिज्य संघका अध्यक्ष ऋषि तिम्सिना, नाटाका प्रदेश सदस्य ज्ञानमणि नेपाल, ईटहरीका होटल व्यवसायी जीवन पराजुलीलगायत सहभागी छन्। बिटुबी कार्यक्रम जनकपुर, चितवन, पोखरा र पाल्पा हुँदै १५ माघमा लुम्बिनीमा सम्पन्न हुने भएको छ।