शान्तिवनः विज्ञानबारे जानकारी लिंदै घुमफिर

January 27, 2021     Paryatan Yatra

विराटनगर । सुनसरी जिल्लाको बर्जु गाउँपालिका–५ सितागञ्जमा रहेको एभरेष्ट साइन्स सेन्टर शान्ति वन अध्ययन अवलोकनसँगै पर्यटकीय दृष्टिले पनि महत्वपूर्ण छ । यहाँ घुम्न जानेहरु अचेल निकै बढेका छन् । यो क्षेत्रमा वनभोजका लागि जानेहरुको समेत भिड लाग्ने गर्छ ।

शान्तिवन जानका लागि विराटनगरको भट्टीमोडबाट पश्चिमतर्फको केसलिया रोडतिर लाग्नुपर्छ । सिधा पश्चिमतर्फको यात्रा अघि वढाएपछि केसलिया खोला पार गर्दै सुनसरी जिल्ला प्रवेश गरिन्छ ।

त्यसपछि सितागञ्ज चोक पुगिन्छ । त्यहाँबाट शान्तिवन जान दक्षिण तर्फको सडक समाउनु पर्छ । त्यो सडक पनि कालोपत्रे नै भएकाले यात्रा सहज हुन्छ ।

त्यहाँबाट केही अघि वढेपछि शान्तिवन पुगिन्छ । विराटनगरबाट शान्तिवन ८ किलोमीटर पश्चिममा पर्छ । बर्जु गाउँपालिका कार्यालयवाट सिधा दक्षिण तर्फको कालोपत्रे गरेको सडकमा करिब ३ किलोमिटर पार गरेर पनि शान्तिवन पुग्न सकिन्छ ।

करिब २२ वर्षअघि निजी क्षेत्रको लगानीमा एभरेष्ट साइन्स सेन्टर स्थापना भएको हो । २५ बिगा क्षेत्रफलमा रहेको यो सेन्टरको प्रवेशद्धारले नै आकर्षित गर्छ। त्यहाँ हजारौं वर्षअघि लोप भएको जनावर डाइनोसरको विशाल मूर्ति बनाइएको छ ।

यहाँ दुई तले विज्ञान भवन छ । त्यहाँ तारामण्डल सम्बन्धी जानकारी दिने संरचनाहरु बनाइएको छ। यसैगरी यो परिसरमा झोलुङगेपुल पनि अर्को आकर्षणका रुपमा छ। बोटिङ गर्ने ठाउँ समेत भएकाले आगन्तुकहरु रमाउने गरेका छन्।

यहाँ प्रवेश गर्नका लागि प्रति व्यक्ति ५० रुपैयाँ शुल्क लिने गरिएको छ। वनभोजमा जाने हो भने कटेजका लागि ६ सय रुपैयाँ र चौरमा बस्ने हो भने ३ सय रुपैयाँ तिर्नु पर्ने हुन्छ ।

यहाँ रहेको विज्ञान भवनमा फिजिक्स, सरल विज्ञान, अपटिक्स, बायोलोजी सम्बन्धी कक्षहरु तल्लो तलामा छन् भने माथिल्लो तलामा डाइनोसरको अवशेष, अन्तरिक्षमा पुगेको नेपालको झण्डा, चन्द्रमाको चट्टानको नमुना समेत छ ।

यहाँ २ सयजना विद्यार्थी बस्ने होस्टल समेत छ । यहाँ विज्ञानका ठूला ठूला सम्मेलनहरु आयोजना हुने गरेको छ। यहाँ खाजा नास्ताका लागि क्यान्टिनको व्यवस्था समेत रहेको छ ।

घुम्न, विज्ञान सम्बन्धी जानकारी लिन अनि प्राकृतिक रमाइलोमा रमाउनका लागि शिक्षक र विद्यार्थीहरुको नियमित आगमन हुने गरेको छ।  शान्ति वन घुम्न आउनेहरु रमाइलो मात्र नभइ केही न केही सिकेर जाउँ भन्ने उद्देश्यले आउने गरेका छन्।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.