पूर्वको आकर्षक पर्यटकीय गन्तव्य “पानीटार”

January 17, 2021     Paryatan Yatra

राकेश कर्ण

विराटनगर  चियाबारी भन्ने बित्तिकै कन्याम र श्री अन्तुको नामले परिचित पूर्वको पर्यटकीय गन्तव्य ईलाम पछिल्लो समय पानीटारको नामले पनि चिनिन थालेको छ ।

पर्यटन सम्बद्ध निकायको उचित प्रर्वद्धनको अभावमा लामो समयसम्म ओझेलमा परेको पानीटार हाल पुर्वकै आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास भएको हो । कतै अग्लो त कतै होचो तर मिलेको चियाबारी, अन्तु बिर्साउने चिसो हावापानी र पर्यटक तान्ने वनभोजस्थल यहाँको मुख्य आकर्षण हो । ईलामको देउमाई नगरपालिका–३ मा अवस्थित रहेको पानीटारमा पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहलसँगै चलचित्र खिच्ने र म्युजिक भिडियो छायाङकन गर्ने क्रम पनि सुरु भएको छ । ईलाम सदरमुकामबाट करिब ३० किलोमिटरको दुरीमा रहेको पानीटार पुग्न बिब्ल्याँटे बजार, नेपालटार हुँदै गाग्रेभञ्ज्याङ पुगेर केही तल झर्नुपर्छ । सदरमुकामबाट गाग्रेभञ्ज्याङसम्म पक्की र गाग्रेभञ्ज्याङदेखि केही ओरोलो कच्ची बाटो हिँडेपछि पानीटार पुगिन्छ ।

यसका साथै झापाको बिर्तामोड–शनिश्चरे हुँदै मङ्गलबारेको बाटो हुँदै पनि पानीटारसम्म पुग्न सकिन्छ । पछिल्लो समय सदरमुकामको बाटोभन्दा झापाबाट आउने बाटो छोटो भएकाले बढी पर्यटक यही बाटो प्रयोग गर्ने गरेका छन् । सञ्चारमाध्यमकै प्रचारका कारण पानीटारले पछिल्लो समय पर्यटकीय गन्तव्यको पहिचान पाएको स्थानीय पर्यटन व्यावसायी पासाङ शेपाले बताउनुभयो । “कुनै निकायले यसको प्रचारका लागि चासो देखाएनन् । मिडियाको प्रचारले नै अहिले पानीटार पर्यटकीय क्षेत्र बन्दैछ”, उहाँले भन्नुभयो, “आउँदो साल गाग्रेभञ्ज्याङबाट आउने कच्ची सडक पक्की भएपछि आवागमनका लागि झनै सहज हुन्छ ।”

यस्तै युट्युबमा सर्वाधिक रुचाइएको म्युजिक भिडियो ‘तीनपाते’ र प्रियङ्का कार्की तथा आयुष्मान देशराज जोशी अभिनित चलचित्र ‘प्रेम दिवस’ पनि पानीटारमा छायाङ्कन भईसकेको छ । प्राकृतिक छायाङ्कनस्थलका रूपमा विकास हुँदै आएको यसक्षेत्रको आकर्षक चियाबारी र शान्त क्षेत्रकै कारण यहाँ सुटिङ गर्न आउनेहरुको संख्या बढी रहेको चलचित्र निर्देशक केवल तामाङले बताउनुभयो । प्राकृतिक क्षेत्रको प्रचार अनि दर्शकको आँखा अड्याउने ‘भर्जिन ल्याण्ड’ यहाँको मुख्य बिशेषता रहेको उहाँको भनाई छ । “हामीले चलचित्रका माध्यमबाट पानीटारको प्रचार गर्न सक्छौँ, त्यसका लागि हामीलाई पनि नयाँ–नयाँ ‘डेस्टिनेशन’ चाहिन्छ”, तामाङले भन्नुभयो, “यी सबै पक्ष पानीटारमा छ ।”

पानीटारमा हाल व्यवस्थित खानपान र यथोचित बसोबासको अभाव भएपनि पछिल्लो समय आन्तरिक पर्यटकहरुको चहलपहलमा वृद्धि भएसँगै पानीटारमा नयाँ होमस्टे, होटल तथा कटेजहरु थपिने क्रम पनि बढेको छ । पर्यटक बढ्दै जाँदा स्थानीयबासीले घर–घरमा होटल तथा होमस्टे सञ्चालन गर्न थालेको पर्यटन व्यावसायी धरणी कोईरालाको भनाई छ । उहाँका अनुसार अहिलेसम्म पानीटारमा व्यवस्थित होटल छैन । बस्ने व्यवस्था नभएकाले पनि लामो समय पर्यटकहरु पानीटारमा रहन रुचाउँदैनन् ।

अहिले पानीटारमा बिशेषगरि शुक्रबार र शनिबार करिब २०० को हाराहारीमा आन्तरिक पर्यटकहरु आउने गरेका छन् । बिशेषतः घुमफिर र हिउँदमा वनभोजका लागी आउनेको संख्या बढी रहेको स्थानीयको भनाई छ । साभार: हाम्रोमतवाट

 

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.