धरानमा छाता झुन्डाएपछि फोटो खिच्नेको भिड

December 25, 2020     Paryatan Yatra

भैरब आङ्ला

धरान । कोरोना महामारीको कारण पर्यटन तथा होटल व्यवसाय चौपट्ट भएको बेला धरानको बगरकोट नजिकै सेउती पुल पारी भने छाता झुन्डाएपछि यति बेला फोटो खिच्नेको भिड बढेको छ ।

धरानको बगरकोट त्यसै पनि रमझम हुने विशेष स्थान हो । पछिल्लो समय धरानको बगरकोटमा सेउती खोलामा पक्की पुल बनेपछि थप आकर्षण थपिएको भन्दै धरानका मानिसहरू घुम्न जाने गर्दथे ।

अझ पछिल्लो समय बल्लतल्ल होटल व्यवसाय सुचारु भएसँगै बगरकोटको भिन्टेज फेमिलि रिसोर्टले सेउती खोला पारी धरान ५ मा सयौँ रङ्गी विरङ्गी छाता झुन्डाएपछि अहिले आन्तरिक पर्यटकको आकर्षण बनेको छ ।

पुल पारि सडकमाथि सयौँ रङ्गी विरङ्गी छाताले गर्दा अहिले त्यहाँ फोटो खिच्ने र सामाजिक सञ्जालमा फोटो लगाउनेहरूको ठुलो भिड लाग्न थालेको छ ।

छाता झुन्डाउनुले कुनै त्यस्तो विशेष खालको अर्थ नराखे पनि सजावटका लागि भनेर आफूहरूले सडक माथि छाता झुन्डाएको भिन्टेज फेमिलि रिसोर्टका म्यानेजर सचिना गुरुङले बताइन् ।

उनले भनिन् -‘मान्छेले नयाँ कुरो चाहँदो रहेछ ।’ धरानको बगरकोटमा रहेको भिन्टेज रेस्टुरेन्टको वार्षिक उत्सवको अवसरमा पुस ७ गते करिब ४ सय छाता झुन्डाएको हो ।

छाता झुन्डाएपछि अहिले दैनिक जसो घुम्न आउने र फोटो खिच्नेहरूको भिडनै लाग्ने गरेको छ । आज त झन् धरानमा सार्वजनिक बिदा भएकोले होला त्यसैले बिहानै देखि भिड रहेको म्यानेजर गुरुङले बताइन् । यसरी छाता झुन्डाउनु कुनै नौलो होइन देशका विभिन्न ठाउँमा पनि यसरी छाता झुन्डाइएको छ । तर धरानका लागि यो नयाँ भएकोले लोकप्रिय बन्यो । त्यसैले कुनै पनि ठाउँलाई प्रवर्द्धन गर्नका लागि नयाँ र विशेष कुराले निकै ठुलो महत्त्व खेल्ने यो छाताको आकर्षणले देखाएको छ । साभार: कपुरी न्यूजवाट

 

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.