पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले हिडेको विश्व साइकलयात्री टोलीलाई विराटनगरमा स्वागत

November 24, 2020     Paryatan Yatra

विराटनगर ।  विश्व साइकल यात्री पुष्कर शाहको नेतृत्वमा काठमाण्डौका १६ जना साइकल यात्रीको टोली विराटनगर आइपुगेको छ । पश्चिमको चाँदनी दोधारावाट हिंडेको उक्त टोली २० दिनमा विराटनगर आइपुगेको हो ।

सोमबार साँझ आइपुगेको टोलीलाई आन्तरिक पर्यटन पुनउत्थान समितिका संयोजक भविशकुमार श्रेष्ठ, सहसंयोजक बाशु बराल, हानका केन्द्रीय सदस्य राजन श्रेष्ठ, नाटाका प्रदेश अध्यक्ष उदय श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष पुण्य भट्टराई, बाटाका विराटनगर अध्यक्ष फडिन्द्र अधिकारीलगायत पर्यटन व्यवसायीले स्वागत गरेका थिए ।

आन्तरिक पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यका सुदूरपश्चिमको महेन्द्रनगर हुँदै पूर्वको पशुपतिनगरसम्मको यात्रामा निस्केको साइकल यात्रीहरुको टोली विराटनगरवाट मंगलबार झापातर्फ लागेको छ । सूर्यास्त हुने सुदूरपश्चिमको चाँदनी दोधारावाट सुरु भइ सूर्योदय हुने इलामको श्रीअन्तुमा पुगेर यात्रा समापन हुने छ ।

‘नेपाल साइकल उत्सव’ नाम दिएको उक्त साइकल यात्रीको टोली मंगलबार झापाको विर्तामोडमा बास बस्ने छ । बुधबार इलामको श्रीअन्तु पुगेर यात्रा समापन गर्ने विश्व साइकल यात्री पुष्कर शाहले बताउनुभयो ।

विराटनगरमा सोमबार साँझ साइकल यात्रीको टोलीलाई कोभिड महामारीका कारण थला परेको नेपालको पर्यटन क्षेत्रलाई टेवा पुर्याउने र आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सुरु भएको ‘नेपाल सइकल उत्सव’ नाम दिएर यात्रा सुरु गरेको पुष्कर शाहले बताए । नेपाल पर्यटन बोर्डको सहकार्यमा यो यात्रा आयोजना गरिएको हो ।

साइकलयात्रीको टोली ठाकुरद्वारा, नेपालगञ्ज, सुर्खेत, घोराही, तौलिहवा, भैरहवा, बुटवल, तानसेन, पोखरा, नारायणघाट, हेटौंडा, वीरगञ्ज, लालबन्दी, जनकपुर, गाईघाट, धरान हुदै विराटनगर आइपुगेको हो ।

विभिन्न स्थानमा पर्यटन व्यववासीहरुसँग छलफल गरीएको शाहले बताउनुभयो ।  जीवन रहेसम्म भाइरस रही रहन्छ, त्यसैले लुकेर कति जेल बस्ने भन्ने सोच आएका कारण यात्रामा निस्केको शाहको भनाइ छ ।

काठमाण्डौको जस्तो त्रास अन्यत्र नपाएको भन्दै सजहकताका साथ कोरोनालाई सामना गर्दै अघि वढ्नुको विकल्प नभएको उहाँले बताउनुभयो ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.