पर्यटन बोर्डको कार्यालय प्रदेशको मन्त्रालयमा

September 25, 2020     Paryatan Yatra

विराटनगर । नेपाल पर्यटन बोर्डको प्रदेश कार्यालय हाललाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा रहने भएको छ । बोर्डले सातै प्रदेशमा आफ्ना कार्यालयहरु स्थापना गर्दै छ । हाल बागमती र गण्डकी गरी दुई प्रदेशमा मात्र प्रादेशिक कार्यालय छन् । कार्यालय स्थापनाका लागि स्थलगत अवलोकन र सम्भाव्यता अध्ययनका लागि निरीक्षण गर्न बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी प्रदेश १ को भ्रमणमा आउनु भएको छ । उहाँले विराटनगर र झापाको मेचीनगरमा सरोकारवालाहरुसँग अन्तरक्रिया गर्नु भएको थियो ।

प्रदेश १ मा पर्यटन बोर्डको कार्यालय स्थपना गर्नेलगायत विषयमा विषयमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा छलफल भएको छ । उक्त अवसरमा बोर्डको कार्यालय मन्त्रालयमै राख्ने सहमति भए पनि निर्णय भने भइसकेको छैन ।

छलफलमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिश प्रसाद कुसियैत, राज्यमन्त्री विजयकुमार विश्वास, बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी, मन्त्रालयका सचिव मेघनाथ काफ्ले, होटल संघका केन्द्रीय सदस्य राजन श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ पर्यटन समिति संयोजक भविशकुमार श्रेष्ठ, बाटा विराटनगरका अध्यक्ष फडिन्द्र अधिकारी, होटल ब्यवसायी तुलसी पोखरेल लगायतको सहभागिता थियो ।

उक्त अवसरमा बोर्डको कार्यालय हाललाई मन्त्रालयमा राख्ने, प्रदेशको पर्यटन विकासका लागि ठोस रणनीति बनाउनेलगायत विषयमा छलफल भएको पर्यटन समिति संयोजक भविशकुमार श्रेष्ठले बताउनुभयो ।

यसैगरी झापाको काँकडभिट्टास्थित पर्यटन कार्यालयमा आयोजित अन्तरक्रियामा बोल्दै बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले पर्यटको दिगो विकासका लागि बोर्डले तल्लो तहबाटै काम अघि वढाउने रणनीति लिएको बताउनुभयो ।

‘देश संघीयतामा गएसँगै हामी पनि प्रदेश स्तरबाट अघि बढ्ने रणनीतिका साथ कार्यालयहरुको स्थपना गर्न लागेका छौं,’ उहाँले भन्नुभयो, ‘समस्या जहाँ छन् समाधानका उपाय पनि त्यही हुन्छन् ।’

नेपाल पर्यटन बोर्डको स्थापना भएको दुई दशक भईसक्दासम्म पर्यटन व्यवसायलाई कुन रुप दिने भन्ने कुरामा सवैजना अल्मलिइरहेको भन्दै प्रमुख कार्यकारी अधिकृत रेग्मीले पर्यटन व्यवसायीसहित त्यसक्षेत्रका अन्य सरोकार व्यक्तिहरुसँग गरेका अन्तरक्रिया र छलफलबाट पर्यटन व्यवसायलाई कुन रुप दिने कसरी लिएर अघि बढ्ने भन्ने निष्कर्शमा पुग्ने धारणा राख्नुभयो ।

पर्यटनक्षेत्रमा तराईलाई विशेषगरी सीमासँग जोडिएका क्षेत्रमा पर्यटनका समस्या के कस्ता छन् ? त्यसको दीर्घकालीन समाधान के हुन सक्छ? सम्बन्धित पक्षसँग अन्तरक्रिया र छलफल गर्नु, अब उप्रान्त भइरहेका समस्यालाई कसरी कम गर्न सकिन्छ भन्नेतर्फ ध्यान दिइएको उहाँको भनाइ छ ।

यसैगरी, सशक्तरुपमा भारतीय पर्यटकलाई लक्षित गरेर नेपालमा धेरैभन्दा धेरै पर्यटन प्रवद्र्घन गर्न के कस्ता कार्यक्रम सञ्चालन गर्न सकिन्छ? अनि संघीय, प्रदेश र स्थानीय सरकारसँग सहकार्य समन्वय गरेर बजेटको दुरुपयोग नहुने गरी संयुक्तरुपमा कुनै लक्ष्य लिएर अघि बढ्दै सातवटै प्रदेशमा बोर्डका प्रादेशिक कार्यालय सञ्चालन गर्नु देश दौडाहाको मुख्यः उद्देश्य रहेको उहाँको भनाई थियो ।

उहाँले पश्चिमको गड्डाचौकी र पूर्वको काँकडभिट्टा नाका निकै महत्वपूर्ण भएकाले यी नाकालाई व्यवस्थित बनाएर पर्यटकहरुलाई अधिक भन्दा अधिक पर्यटकीय क्षेत्रबारे जानकारी प्रदान गर्न सक्नुपर्नेमा जोड दिनुभयो । अहिलेसम्म हामीले रंगका आधारमा पर्यटकको वर्गीकरण गर्ने गरेको भन्दै उहाँले छाला जस्तोसुकै भए पनि नेपाल घुम्न आउने जुनसुकै देशका नागरिक हुन् उनीहरुलाई पर्यटकका रुपमा व्यवहार गर्नुपर्ने बताउनुभयो ।

उहाँले अन्तर्राष्ट्रियक्षेत्रमा नेपाललाई चिनाउन के कस्ता कार्यक्रमहरु अघि सार्नुपर्छ र त्यसमा हरेक पर्यटन व्यवसायीलाई साथ सहयोग गर्न वोर्ड तयार रहेको र पर्यटनका क्षेत्रमा भोग्दै आएका समस्या समाधान गर्न समेत वोर्डले जे गर्नुपर्नै हो सबैथोक गर्ने प्रतिवद्घता व्यक्त गर्नुभयो । बोर्डको टोलीमा निर्देशक लक्ष्मण गौतम, अधिकृत सीताराम दाहाललगायतको सहभागिता थियो ।

कार्यक्रमका सहभागीले नेपालका हरेक क्षेत्र पर्यटक मैत्री बन्नु पर्नेमा जोड दिंदै सहभागीले अहिले पर्यटकले लिएर आएका भारतीय नम्बर प्लेटका सवारी साधनको व्यवस्थापनमा समसया भएकाले नाकामै यातायात सम्बन्धी हेर्ने निकाय समेत खडा गर्नुपर्नेमा जोड दिएका थिए ।

मुख्यः विन्दुबाट सवै प्रक्रिया पुर्याएर उनीहरु सवार भारतीय नम्बर प्लेटका गाडीहरुलाई गन्तव्यसम्म पुग्न दिनुपर्ने सहभागीको भनाई थियो । देशका अन्य नाकालाई हेर्ने दृष्टिकोणभन्दा काँकडभिट्टालाई हेर्ने दृष्टिकोण फरक हुनुपर्ने उनीहरुको भनाई थियो ।

कार्यक्रममा नेपाल एशोसिएसन अफ टुर्स एण्ट ट्राभल एजेण्ट, १ नम्बर प्रदेशका अध्यक्ष भुपालराज श्रेष्ठ, कोडिनेटर उदयकुमार श्रेष्ठ, ट्राभल संघ झापाका अध्यक्ष निरबहादुर कार्की, निवर्तमान अध्यक्ष शंकर भट्टराई, कोषाध्यक्ष पेमा तामाङ, होटल व्यवसायी संघ मेचीनगरका सचिव हस्तकुमार तामाङ, ग्रमीण पर्यटन अभियन्ता अर्जुनकुमार कार्की, इलाका प्रहरी काँकडभिट्टाका प्रमुख प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेल, पर्यटन प्रहरी शाखा काँकडभिट्टाका प्रमुख प्रहरी नायव निरीक्षक किरण अधिकारी, प्रहरी सहायक निरीक्षक सुमितकुमार साह अध्यगमन कार्यालय काँकडभिट्टाका प्रमुख जनक कोइरालालगायतले आ आफ्नो विचार राख्नुभएको थियो ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.