पर्यटकको मनै लोभ्याउने सुन्दर मण्ठा पोखरी

June 25, 2020     Paryatan Yatra

विराटनगर ।विराटनगर महानगरपालिका १४ रानी बस्तीमा रहेको मण्ठा पोखरी धार्मिक दृष्टिले महत्वपूर्ण हुनुका साथै सुन्दर पनि छ । महेन्द्र चोकबाट कोशी राजमार्ग हुँदै जोगवनीतर्फ जान सवारी साधन पाईन्छ । विराटनगर बसपार्कवाट करिब ५ किलोमिटर दक्षिण गएपछि मलाया रोड आउँछ । त्यहाँबाट करिब ५ सय मिटर पूर्व लागेपछि मण्ठा पोखरी पुगिन्छ । नेपाल–भारतको प्रमुख नाका जोगबनीबाट करिब २ किलोमीटर उत्तरतर्फको यात्रा गर्दा पनि उक्त पोखरी क्षेत्र पुगिन्छ ।

करिब अढाइ बिगा क्षेत्रमा रहेको पोखरी सुन्दर छ । शिव, पार्वतीको मन्दिर, नागको मन्दिर समेत उक्त स्थानमा छन् । यहाँ शिवरात्रि, छठलगायत पर्वहरुमा विषेश रुपमा मनाइन्छ ।
मण्ठा पोखरीबाट जल निकालेर साउन महिनामा शिवलिङगमा चढाउनेको घुइँचो लाग्ने गर्छ । १५ कठ्ठा क्षेत्रफलमा रहेको यो पोखरीमा परापूर्वकालदेखि अहिलेसम्म पानी सुकेको छैन । मन्दिर परिसरमा साधक अर्जुन गिरीको समाधि समेत छ । यो मन्दिरका पुजारीहरु परापूर्वकालदेखि गिरीहरु रहँदै आएका छन् ।
पोखरीको दक्षिणमा बजरंगबलीको मन्दिर छ । पूर्वमा दुर्गा मन्दिर र सम्सानघाट छ । मण्ठा पोखरीदेखि पूर्व करिब ५ सय मिटरको यात्रा गरेपछि रानी पोखरी पुगिन्छ । यो पोखरी निकै आकर्षक छ । पोखरीको छेउमा सनसरीमाईको मन्दिर छ । करिब २ विगा क्षेत्रफलमा फैलिएको पोखरी पुग्नेहरु पोखरी र आसपास क्षेत्रको सुन्दरतामा रमाउने गरेका छन् ।


All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.