नेपाल–भारत पर्यटनका सेतु राज बसु

March 12, 2020     Paryatan Yatra

विराटनगर । लामो दारी, हँसिलो चेहरा, सामान्य पोसाक। मोटो जीउडाल भए पनि सधैं फूर्तिलो देखिने उनको प्रत्येकजसो दिन नयाँ–नयाँ गाउँमा बित्छ। काँधमा कपडाको सामान्य झोला भिरेर कहिले भारतको दार्जिलिङ, कहिले सिक्किम र कहिले सिलिगुडी पुग्दै पर्यटनका सरोकारवालालाई झक्झक्याइरहने उनलाई नचिन्ने पर्यटनकर्मी पूर्वी नेपालमा पनि कमै होलान्।

उनै पर्यटन प्रवद्र्धक राज बसु ।  भारतीय पर्यटकलाई इलाम, पाँचथर, ताप्लेजुङ र झापाका पर्यटकीयस्थलसमेत पुग्न हौसला भरिरहेका भारतीय नागरिक हुन् बसु ।
उनी पर्यटनमा दुई देशबीच सहकार्यको खाँचो औंल्याउँछन् । ‘अब न नेपालसँग जोडिएको भारतीय क्षेत्रले एक्लै प्रयास गर्दा सम्भव छ, न पूर्वी नेपालले,’ उनले  भने,‘‘हामीले दुवै देशको पर्यटन प्रवद्र्धनका लागि इन्डो–नेपाल टुरिज्म होस्ट सुरु गरेको लामो समय बित्यो तर उपलब्धि दुवै पक्षको सक्रियतामा मात्रै सम्भव छ।’

 भौगोलिक, प्राकृतिक र सांस्कृतिक विशेषताले समान पूर्वी नेपाल र भारतको दार्जिलिङ, सिक्किम, सिलिगुडीलगायतका क्षेत्रको समृद्धिका लागि दुवै देशका व्यवसायी अनि संघ–संस्था पर्यटनमार्फत् पनि जोडिँदै छन्।
ग्रामीण पर्यटन प्रवद्र्धनमा दिलोज्यान दिएर लागेका बसु पर्यटनमा दार्जिलिङ, सिक्किमलगायत ठाउँलाई पूर्वी नेपालसँग जोड्नु आवश्यक भएको बताउँछन्। ‘नेपालको मेची क्षेत्र आएका पर्यटक दार्जिलिङ, सिक्किम पुगुन्, त्यहाँ आएका पनि यहाँका सुन्दर पर्यटकीयस्थल आइपुगुन् भन्ने हाम्रो अभियान हो,’ उनले भने, ‘पूर्वी नेपालका पर्यटनकर्मीसँग अहिले हामी पटक–पटक सहकार्य र छलफल गरिरहेकै छौं।’ उनले पूर्वी नेपालका पर्यटकीयस्थलको वृत्तचित्रले भारतमा यहाँका पर्यटकीयस्थल चिनाउन सहयोग गर्ने बताए।

 पूर्वी नेपालमा भारतबाट पैदल आउने पर्यटकको संख्या ठूलो हुने भएकाले पर्यटनमा  पूर्वका नाकाको भर छ। पूर्वी नेपालको जैविक विविधताले धेरै पर्यटकलाई लोभ्याउने उनले बताए। ‘तर, जुन प्रकृतिमा पर्यटक लोभिन्छन्, त्यसलाई त्यसलाई मास्नु हुँदैन, संरक्षण गर्नुपर्छ,’ बसुले सुझाए, ‘त्यस्ता पर्यटकीयस्थल र जैविक विविधता संरक्षणका लागि नीतिगत व्यवस्था नै राम्रो हुनुपर्छ, अनिमात्र पर्यटनलाई दिगो बनाउन सकिन्छ।’

अहिले भारतको सिक्किम, दार्जिलिङ, कोलकाता, सिलिगुडीलगायत स्थानमा भएका पर्यटन महोत्सवहरूमा इलाम, झापा, पाँचथरलगायत पूर्वी नेपालका व्यवसायी र सरोकारवालालाई पनि निम्तो आउने गरेको छ। यहाँ हुने त्यस्ता अवसरमा पनि उताका पर्यटनसँग सरोकारवालालाई निम्तो दिन थालिएको छ। मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिले दुवै देशको पर्यटन प्रवद्र्धनमा पुलको काम गरिरहेको छ।

व्यवसायी र सरोकारवालाले पारिवारिक साइनो–सम्बन्धदेखि सीमावर्ती क्षेत्रको पर्यटकीय पूर्वाधार निर्माण र परस्पर हितमा सहयोग आदानप्रदानबारे बेला–बेला छलफल पनि चलाउने गरेका छन्। इलामको मेची पहाडीसहित पर्यटन सरोकार समिति, इलाम उद्योग वाणिज्य संघ, होटल एसोसिएसनलगायतका संघ–संस्था यो अभियानमा क्रियाशील छन्। मेची पहाडीका कार्यकारी निर्देशक केशव धौरालीले इलाम, पाँचथर, ताप्लेजुङलगायत पूर्वी क्षेत्र र सीमा जोडिएको भारतका सिक्किम, दार्जिलिङ, सिलिगुडीलगायत क्षेत्रको कला, संस्कृति, भौगोलिक, प्राकृतिक सबै अवस्था समान रहेकाले पर्यटन विकासमा दुवै देशले सहकार्य गरिरहेको बताए। पर्यटकीय पदमार्ग निर्माणदेखि पर्यटकलाई दिने प्याकेज सुविधासम्ममा दुवैतर्फका व्यवसायी सामूहिक रूपमा अघि बढ्ने प्रयास भइरहेको उनको भनाइ छ।

मेचीका पहाडी जिल्लामा हरेक वर्ष भारतको पश्चिमबंगाल र सिक्किम, बिहार, उत्तरप्रदेशलगायत राज्यका हजारौं पर्यटक घुम्न आउँछन्। नेपाल र भारत आउ–जाउ गर्न कुनै समस्या नभएकाले पनि पर्यटनमा सहकार्य गर्न सजिलो छ। असोज, कात्तिक, मंसिर, फागुन, चैत र वैशाख मेची पहाड मात्र नभई भारतको दार्जिलिङ, मिरिक, सिक्कमलगायत क्षेत्रको मुख्य पर्यटकीय मौसम हो।

भारतको सिक्किम र कोलकातादेखि दार्जिलिङ, मिरिक, सिलिगुडीलगायत स्थानमा आएका पर्यटकलाई त्यहाँका व्यवसायीले अहिले पनि नेपालको सीमासम्म ल्याउने गरेका छन्। त्यहाँका पर्यटन एजेन्सीले पर्यटकलाई ‘नेपाल बोर्डर’ भन्दै पशुपतिनगर र सन्दकपुरसम्म ल्याउने गरेका छन्। ‘अब दुवै क्षेत्रको नेचर र एड्भेन्चरमा पर्यटक आकर्षित गर्ने योजना ल्याउनु आवश्यक छ,’ पयर्टन प्रवद्र्धक बसुले भने, ‘सामाजिक, सांस्कृतिक र गाउँका होमस्टेमा पर्यटक लोभ्याउन सके व्यवसाय दिगो बन्छ।’ विशेषगरी भारतीय पर्यटकलाई नै लक्षित गरी पूर्वी भारतीय सीमावर्ती क्षेत्र पशुपतिनगरदेखि कञ्चनजंघा हिमालको बेसक्याम्पसम्म पर्यटकीय पदमार्गको सम्भाव्यता अध्ययनसमेत भइसकेको छ। १९ दिन लगाएर ुद ग्रेट हिमालयन ट्रेल’का विज्ञसहितको टोलीले यो पदमार्गमा पर्यटकका लागि आवश्यक पूर्वाधारसमेतको अध्ययन गरेको थियो। इलाम, पाँचथर र ताप्लेजुङको उच्च पहाडी क्षेत्रमा पदमार्ग भएर पर्यटक आउने सम्भावना उच्च छ।

अघिल्लो वर्ष मेची पहाडीकै पहलमा पदमार्ग अध्ययन गरिएको थियो। पशुपतिनगरबाट यात्रा सुरु गरेपछि कुन दिन कहाँ बस्ने, कति उचाईको ठाउँमा पुगेर के–के खान पाइन्छ, सडकको अवस्था कस्तो छ जस्ता विषयमा अध्ययन केन्दित थियो। यो पदमार्गमा पशुपतिनगरबाट तुम्लिङ, कालपोखरी, सन्दकपुर, चारराते, फालोट, पोचेडाँडा, चिवाभञ्ज्याङ, गैरेडाँडा, पहाडेमेघु, बतासे, हुलाक, थोर्लिङ, पेमेडाम, सेराङ, राम्जे, दोभान र याम्फुदिन हुँदै टोली हापुखोला पर्छन्। पशुपतिनगरमा अध्यागमन कार्यालयसमेत स्थापना भएपछि पूर्वको पर्यटनले गति लिने आशा गरिएको छ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.