भ्रमण वर्ष स्थगित, पर्यटन अभियानमा धक्का

March 2, 2020     Paryatan Yatra

विराटनगर । अन्ततः विश्वव्यापी कहर बनेको कोरोना आतंकको कोपभाजनमा नेपाल भ्रमण वर्ष २०२० परेको छ । सरकारले कोरोना भाइरस विश्वभरि फैलिँदै गएपछि नेपाल भ्रमण वर्ष २०२० स्थगित गरेको छ। यसले २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित सुरु भएको पर्यटनको ठूलो अभियानमा धक्का लागेको छ । कोरोना आतंक उच्च भएपछि भ्रमण वर्ष स्थगित गर्न सरकारलाई दबाब परेको थियो । मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले भ्रमण वर्ष स्थगित गर्ने निर्णय लिएको हो।

स्थगित नेपाल भ्रमण वर्ष सन् २०२२ मा आयोजना गर्ने विषयमा मन्त्रिपरिषद्मा छलफल भए पनि कुनै निर्णय भएन। ‘चीनको बुहानबाट फैलिएको कोरोना भाइसरको प्रकोपबाट अन्य देश पनि प्रभावित भएपछि जोखिम बढेको निष्कर्ष निकाल्दै भ्रमण वर्ष–२०२० स्थगित गर्ने निर्णय भएको छ,’ सरकारले भनेको छ ‘‘जोखिम बढ्दै गएपछि अहिलेलाई भ्रमण वर्ष स्थगन गर्ने र सन् २०२२ मा आयोजना गर्ने विषयमा छलफल भएको छ।’

यसअघि शनिबार पर्यटन मन्त्रालयले भ्रमण वर्ष लक्षित विदेशमा आयोजना हुने सबै कार्यक्रम रद्द गरेको थियो।

सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा कोरोना भाइरस रोकथाम उच्चस्तरीय समन्वय समिति गठन गरेको छ।

स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको जोखिम बढेको भन्दै ठूला सभा, सम्मेलन र भोजभतेर नगर्न आह्वान गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हालेको सय दिन पुगेको अवसर पारेर आइतबार मन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलन गरी कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि ठूला सभा, सम्मेलन नगर्न आग्रह गर्नुभएको थियो । 

 

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.