पर्यटनमा लगानी बढाउँदै झापाका स्थानीय तह

March 1, 2020     Paryatan Yatra

झापा । भ्रमण वर्षको लक्ष्य पूरा गर्न गर्नुपर्ने तयारीमा सुस्तता देखाए पनि बजेटमार्फत दीर्घकालीन रुपमा पर्यटन प्रवद्र्धन गर्ने सवालमा झापाका स्थानीय सरकार उदार बन्दैछन् । झापाका स्थानीय तहले पर्यटन क्षेत्रमा पर्याप्त लगानी गर्न थालेका छन् । स्थानीय तहले पर्यटनमार्फत आम्दानी बढाउने लक्ष्यका साथ त्यसतर्फ ठूलो लगानी गरिरहेका हुन्  ।

 जिल्लाको शिवसताक्षी नगरपालिकाले गत वर्ष मात्र करोडौं रकम पर्यटनमा खर्च गरेको छ । दोमुखा पर्यटकीय क्षेत्रमा १ करोड, डुँडामारी सिमसारमा २ करोड, सताक्षीधाममा ५० लाख र चिल्लागढ क्षेत्रमा ५० लाख विनियोजन गरेको थियो ।  नगरपालिकाले पर्यटनमार्फत रोजगारी सिर्जना  गर्ने र केही वर्षदेखि ठूलो आम्दानी गर्ने योजना रहेको उपमेयर भोजकुमारी नेपालले बताउनु हुन्छ । यस बर्ष पर्यटन क्षेत्रमा अझ बजेट बृद्धि गरिएको उहाँले बताउनु भयो ।

त्यस्तै दमक नगरले पनि भ्यूटावरदेखि  विश्वकै अग्लो बुद्धको मुर्तिसम्म, आकासे पुलदेखि रंगशालासम्मका पर्यटन सम्बन्धी योजना अगाडि सारेको छ । मेयर रोमनाथ ओलीले यस वर्ष पनि नगरको ठूलो रकममा पर्यटन प्रवद्र्धनमा लगाउने योजना रहेको बताउनु भयो । ‘दमकमा पर्यटनको धेरै संभावना छ , यसमा लगानी गर्दा लानी खेर नजानेमा हामी ढुक्क छौं’ उहाँले भन्नु भयो ।

तीनतले सामुदायिक वन उपभोक्ता समिति बुद्धशान्तिले बुद्धशान्ति–१ मा तीनतले पर्यापर्यटन क्षेत्रको विकास गर्ने भएको छ । सो वन समितिले बुद्धशान्ति–१ को दामा–अँधेरी खोला दक्षिण पूर्वमा पर्यापर्यटन क्षेत्रको विकास गर्ने गरी गुरुयोजना तयार गरेको छ । गुरु योजना अनुसार कार्य सम्पन्न गर्न दुई करोड ९४ लाख लाग्ने तीनतले सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष नन्दकुमार राईको भनाइ छ । उक्त क्षेत्रमा भौगोलिक हिसाबले सम्भावना देखेर पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लागिएको उहाँको भनाइछ । ‘यस क्षेत्रलाई दीर्घकालीन फाइदा पुग्ने गरी पर्यापर्यटन क्षेत्रका रुपमा विकास गर्न सक्ने सम्भावना छ’– राईले भन्नु भयो ‘यस भेगमा रहेका उपभोक्ताको आर्थिक अवस्था कमजोर रहेको र यसकुराले उनीहरुको आर्थिक जीवनस्तर माथि उठ्ने अपेक्षा राखिएको छ ।’ यसैबीच बुद्धशान्ति गाउँपालिकाले शहीद बेदनारायण आचार्य स्मृति प्रतिष्ठानलाई प्रदान गरेको ५ लाख रुपैंयाँबाट पार्क तथा वालबाटिका निर्माणको कार्य  पनि शुरु भएको छ ।

त्यस्तै बिर्तामोड नगरपालिकाले पनि पर्यापर्यटनका लागि ठुलो लगानी गरेको छ । नगरपालिकाका उपमेयर पबित्रा महताराका अनुसार रामचौकको सामुदायिक  बनलाई हर्बल पार्क बनाउने, विराट पोखरीको संरक्षण गर्ने, बिर्तामोड २ को सोमबारे पोखरीको स्तरबृद्धि गर्न ठूलो रकम खर्च गरेको छ । हल्दिवारी गाउँपालिकाले त जलथल जंगलको माथी केवलकार  चलाउने रणनीति बनाएको छ । त्यसका लागि करोडौं रुपैयाँको प्रस्ताव केन्द्र सकार समक्ष पेश गरेको गाउँपालिकाका कार्यकारी अधिकृत सन्तोष घिमिरेले बताउनु भयो । त्यसका साथै अन्य धार्मिक एंव  ऐतिहासिक क्षेत्रमा लगानी गरेको जानकारी दिएका छन् ।

त्यस्तै झापा गाउँपालिकाले पनि त्यहाँ रहेको रानी वनलाई पर्यापर्यटन क्षेत्रको विकास गर्न यसपटक  ५० लाख विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष  जयनारायण साहले बताउनु भयो । गौरादह नगरपलिकाले कृषि पर्यटनमा जोड दिएको छ ।  करिब एक सय बिघा क्षेत्रफलमा सामूहिक खेती हुँदै आएको झापाको गौरादह–५ मा कृषि पर्यटनको समेत शुरुवात भएको छ । स्थानीय महिलाहरूद्वारा सञ्चालित महारानीझोडा कृषि सहकारी संस्थालेले सामूहिक खेतीको प्रवद्र्धन गरेको हो ।  तर यसलाई संघीय सरकारले नै देशका पर्यटकीय गन्तव्यहरूको सूचीमा कृषि पर्यटनको गन्तव्यको रुपमा सूचीकृत गरेपछि यहाँ पर्यटकीय गतिविधि पनि बढेको छ ।  सहकारी संस्थाले सञ्चालन गरेको यहाँको सामुहिक खेती क्षेत्र भित्र नै पर्यटकहरूको सुविधा र आकर्षणका लागि होमस्टे समेत निर्माण गरिएको छ । कृषि पर्यटनलाई लक्षित गरी पहिलोपटक कृषि नमूना पाहुना घरको निर्माण समेत गौरादहमा थालिएको हो । 

नमूना एकिकृत कृषि सहकारी खेतीले पाहुना घर निर्माण कार्यलाई तिब्रता दिएको संस्थाले जनाएको छ । यस ठाउँमा देशका बिभिन्न सहकारी, कृषक समुह, महिला समुह, क्याम्पस लगायतबाट दर्जनौं अवलोकन टोली आउने गरेका छन् । उनीहरूसँगै अन्य पाहुनाहरूका लागि लक्षित गरि होमस्टे निर्माण गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ५० लाख रुपैयाँ सहयोगमा पाहुना घर निर्माण शुरु गरिएको नमूना एकीकृत सहकारी खेतीका अध्यक्ष वेदनिधि चापागाईंले जानकारी दिनु भयो । पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न झापाका सबै स्थानीय तहले आफ्नो ठाउँका सम्भावित स्थानको पहिचान गरी लगानी गरिरहेका छन् । मेचीनगर , अर्जुनधारा , कन्काईमा पनि दर्जनौ स्थानमा करोडौं लगानी भइसकेको छ भने लगानी हुनेक्रम पनि जारी रहेको छ ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.