‘जता गए पनि हजुर पूर्वै रमाइलो’

February 26, 2020     Paryatan Yatra

सरला रेग्मी

‘जता गए पनि हजुर पूर्वै रमाइलो’
गौरव दर्पण र सृष्टि हिङमाङको गीतले भनेझैं वास्तबमै पूर्व विचित्रकै रमाइलो छ । प्राकृतिक सम्पदाले भरिपूर्ण यो क्षेत्रका थुम्काथुम्कीहरू कतै हरिया चिया बगानले ढाकिएका छन् त कतै रातम्मे लालीगुराँसले ढपक्कै ढाकिएका छन् । झापाको चारालीबाट उकालो लागेपछि ‘इलामे सहर चियाबारी राम्रो’ भन्ने गीत जो कोहीले पनि गुनगुनाउन थाल्छन् । यतातिर बरालिने हो भने एक सातासम्मलाई कुनै बोरिङ हुने छैन । इलाम, पाँचथर हुँदै ताप्लेजुङसम्मको यात्रा सोचेभन्दा रमाइलो हुन्छ ।
हैन म धरानबाट नागबेली सडक छिचोल्दै भेडाटारको कुहिरोमा डुबुल्की मारेर धनकुटाको हिले हुँदै गुराँसको राजधानी मिल्के–जल्जले छिचोलेर गुफापोखरीसम्मको यात्रा गर्छु भन्ने हो भने दश दिनसम्म कुनै चिन्ता हुँदैन । पूर्वको अर्को रुट भनेको सुनसरीको कोशी टप्पु हुंदै उदयपुर, हलेसी, खोटाङ, मेरो प्यारो ओखलढुंगा हुंदै सोलुसम्मको यात्रा गर्ने हो भने त्यसको वयान यहाँ गरी साध्य छैन । तर यो मेरो यात्रा थियो इलामतिरको । मेची राजमार्गमा पर्ने इलामको फिक्कलबाट १४ किलोमिटर पूर्व पर्ने श्रीअन्तु आगन्तुकहरूका लागि पहिलो रोजाइमा पर्छ । सूर्योदय नगरपालिका ४ इलाम भञ्ज्याङ श्रीअन्तु, बिहानीमा घामको पहिलो झुल्को हेर्नका लागि पनि पर्यटकका लागि मुख्य केन्द्र बनेको हो । महिला पत्रकारलाई क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको तालिममा सहभागिता जनाउन प्रदेश–१ का सम्पूर्ण महिला सञ्चारकर्मी भेला भएका थियौं ।
अन्तु अचेल जागेको रहेछ । घुम्नका लागि आउने हुन या तालिमको बहानामा घुम्न आउने हुन अन्तुको न्यायो माया सबैले बराबर पाउँदा रहेछन् । यहाँ दर्ता भएका ४३ र दर्ता हुन बाँकी २० वटा होमस्टे सञ्चालनमा रहेछन् । १९ वटा होटल र कटेजहरू पाहुनाको स्वागतका लागि हरदम खडा छन् । सामुदायिक अर्र्गानिक चिया प्रशोधन केन्द्र, टि फ्याक्ट्री रहेको श्रीअन्तु बहुजाति बहुभाषीको बसोबास भए पनि विशेषगरी लेप्चा जातिको बाहुल्यता भएको स्थल हो ।
विदाको दिन शुक्रबार र शनिबार यो डाँडो पर्यटकले ढपक्कै छोपिंदो रहेछ । हामी जम्मा ३५ जना महिला सञ्चारकर्मीहरू पनि अन्तुको रमाइलोमा हराएका थियौैं । चिसो ठाउँ स्थानीय उत्पादन बोडीको दाल, रायोसाग, टिमुर हालेको गुन्द्रुकको अचार अनि इस्कुसको जराले बेलुकीको खानालाई कुनै व्यञ्जनभन्दा कम बनाएको थिएन ।  खानापछिको क्याम्पफायर सँगैको गानाको कुरै नगरौं ।
भञ्ज्याङबाट ढेड किलोमिटरको दूरीमा रहेको श्रीअन्तुको प्रमुख केन्द्रविन्दु अन्तुडाँडा बिहानको पौने ७ बजे पुग्यौं । हामी पुग्नु अगावै दर्जनौं पर्यटकको भीड अन्तुडाँडामा देखिन्थ्यो । तीनतले भ्यू टावर जहाँ खचाखच पर्यटक सूर्यको प्रतीक्षामा हात मा मोबाइल र क्यामरामा जन्मिदै गरेको सूर्यतिर तेर्सिरहेका थिए । हुन त सूर्योदय हेर्ने यो समय त्यति उचित होइन रहेछ । कात्तिक मंसिर यसका लागि उत्तम समय रहेछ । उदाउँदै गरेको सूर्य नदेखे पनि अन्डाबाट फुत्किएको रानीझैं टुप्लुक्क सूर्य आकाशमा झुल्किँदा फोटो खिच्नेको भीडे थियो । अन्तुडाँडालाई अझ व्यवस्थित बनाउन केही संरचनाहरू निर्माण हुँदै गरेको छ । अन्तुडाँडामा बिहानै आउने पर्यटको सुविधालाई मध्यनजर गर्दै स्थानीय उत्पादन कोदोको रोटी, फापरको रोटी सिस्नुको झोल अनि विशेषगरी पूर्वी तराईको कोच राजवंशी समुदायको लोकप्रिय परिकार चामलको पिठोबाट बनेको भक्काले बिहानीलाई अझ ताजा बनाएको थियो । पहाडको कोदो, फापर अनि तराईको भक्का संगम देख्दा विविधतामा एकताको महसुस भएको थियो, हातले छुँदा करेन्टझैं लाग्ने पोल्ने सिस्नुको स्वाद त्यहाँ आउने र खाएर जाने जो कोहीको मानसपटलमा वर्षौंसम्म जीवित नरहला भन्न सकिन्न थियो ।
पूर्वको सुन्दर पर्यटकीयस्थल श्रीअन्तुमा घुम्नका लागि सुन्दर पोखरी, लेप्चाजातिको संस्कृति, चियाको मीठो सुगन्ध, साना–साना सुन्दर होमस्टेले सजिएको छुट्टै पहिचान बनाउन तयार भएको छ । यहाँ आएका आगन्तुकले सुन्दरता मात्र होइन अन्तुको मानवता पनि बिर्सन सक्दैनन् । एकपटक आएका आगन्तुकले यहाँको मनमोहक दृश्यमात्र सम्झदैनन् विदाइमा गरेको सम्मान अनि तीनदिन बस्ने पाहुनाका लागि गरेको सद्भाव अनि मानव व्यवहारलाई पनि सम्झीसम्झी आउँछन् ।
दुईदिने तालिमका क्रममा गरेको स्थलगत रिर्पोटिङ त्यसमा अहिले पनि याद आउँछ । यहाँका बासिन्दाले पर्यटकलाई खाना र बस्न मात्र हैन सूचना पनि त्यतिको मीठोसँग दिएको देख्दा हामीहरू निकै उत्साहित भएका थियौं । स्थानीय जडिबुटीदेखि विभिन्न जनवारहरूको मासुबाट बनाइने रक्सीको रिपोर्टिङ हामीले गरेका थियौं । त्यसका क्रममा मैले पहिलोपटक थाहा पाए अन्तुमा सबै कुरा अर्गानिक हुँदा रहेछन् । यहाँसम्मको यहाँको रक्सीसमेत अर्गानिक रहेछ । जाने हैन त चाख्न र मात्न ?

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.