भ्रमण वर्षले छोएन स्थानीय सरकारहरुलाई

February 26, 2020     Paryatan Yatra

झापा । सरकारले सन् २०२० लाई पर्यटन भ्रमण वर्ष घोषणा गरेर २० लाख पर्यटक भित्र्याउने घोषणा गरेको छ । तर, संघीय सरकारको घोषणा र लक्ष्य अनुसारको तयारी र लगाव स्थानीय सरकारले नदेखाउँदा  लक्ष्य पूरा हुन कठिन बन्ने देखिएको छ ।

सन् २०२० को सुरुमा सरकारले देशभर तामझामका साथ भ्रमण वर्षलाई स्वागत गरेको थियो । तर, जसरी स्वागत गरियो परिणाम त्यस्तो देखिँदैन । नेपालका धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको अवलोकन गराएर पर्यटकहरुलाई नेपालको प्राकृतिक सुन्दरताको संसारभरी प्रचार प्रसारसँगै आर्थिक लाभ हाँसिल गर्ने लक्ष्य सरकारले लिएको छ । पर्यटकको नेपाल आगमनले यहाँको पर्यटन प्रवद्र्धन मात्र नभई नेपालको आर्थिक श्रोत समेत मजबुत हुने सरकारको बुझाई छ ।

सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरेसँगै पर्यटक भित्र्याउन प्रचार–प्रसारलाई सरकारले तीव्रता दिएको छ । तर, पर्यटकीय वातावरण निर्माण हुन नसक्दा सरकारको घोषणा कार्यान्वयन पक्ष कमजोर देखिन्छ ।

सन् २०१९ को जनवरीमा विभिन्न देशका १ हजार ४० जना पर्यटक पैदल मार्ग हुँदै काँकरभिट्टा नाकाबाट भित्रिएको अध्यागमन कार्यालय काँकरभिट्टाको अभिलेखमा उल्लेख छ । चालु आर्थिक वर्षको सोही महिनाको २४ दिनमा ९ सय ६० जना पर्यटक भित्रिएका छन् । यो तथ्यांकलाई हेर्ने हो भने पर्यटक भित्रिएको संख्या तुलनात्मक रुपमा बढेको देखिन्छ । चालु महिनाको तीन सातामा अस्ट्रेलियाबाट १८ जना पर्यटक भित्रिएका छन् । यो संख्या अघिल्लो आर्थिक वर्षको एक महिनामा १९ थियो ।

त्यसैगरी, बंगलादेशबाट १ सय ९४ जना पर्यटक भित्रिएका छन् । यो संख्या पनि अघिल्लो आर्थिक वर्षको १ महिनामा ९७ जना मात्र थियो । सन् २०१९ को १ वर्षको अवधिमा विभिन्न देशबाट ८ हजार ५ सय २४ जना पर्यटक भित्रिएका कार्यालयको तथ्यांकमा छ । भूटानबाट २ सय ६३ जना पर्यटक भित्रिएका छन् । कार्यालय प्रमुख जनक कोइरालाका अनुसार नेपाल प्राकृतिक रुपमा सुन्दर, रमणीय भूमि हो । यहाँका नदीनाला र हिमशृंखला तथा पर्यावरणले पर्यटकहरुलाई आकर्षित गर्ने भएकाले वर्षेनी पर्यटक भित्रिने क्रम बढ्दै गएको उनको भनाई छ ।

पर्यटन वर्षलाई सफल पार्न झापाका स्थानीय सरकारले पालिकास्तरीय समिति निर्माण गरेर पर्यटन प्रवद्र्धनका लागि दीर्घकालिन योजना बनाएर कार्यसम्पादन भइरहेको दाबी गरेका छन् । तर, उनीहरुको दाबी पत्यारयोग्य भने छैन । हल्दिबारी गाउँपालिकाले भेलागडी सामुदायिक वन समूहको हाताभित्र रहेको सीमसारलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न विभिन्न संरचनाहरु निर्माणलाई तीव्रता दिइएको जनाएको छ । गाउँपालिका र प्रदेश सरकारको पौने ६ करोडको लगानीमा पिकनिक स्पोर्ट, काठेपुललगायत विभिन्न संरचना निर्माण सुरु गरेको गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनले बताए ।


 मेचीनगर नगरपालिका पूर्वी नेपालको मुख्य प्रवेशद्धार हो । यस क्षेत्रले बाह्य पर्यटकहरुलाई प्रत्यक्ष प्रभाव पार्ने गर्दछ । मेचीनगरमा रहेका धार्मिक पर्यटकीय तथा सीमसार क्षेत्रको विकासले समग्र देशको पर्यटकीयस्थलको चित्रण गर्नसक्ने भएकाले मेचीनगरले समेत अल्पकालिन र दीर्घकालिन योजना बनाएर पर्यटन प्रवद्र्धनका काम भइरहेको  उपप्रमुख मीना उप्रेती बताउँछिन् । तर, पर्यटन अभियन्ताहरु स्थानीय सरकारले अपेक्षा अनुसार काम नगरेको बताउँछन् । ‘सामान्य सडक मर्मत पनि नगरिदिने नगरले पर्यटन प्रवद्र्धन गर्दैछ भनेर कसरी पत्याउनु ?’, पर्यटन व्यवसायी केशव लामा भन्छन् ‘यदि यही पारामा स्थानीय सरकार सुस्त भयो भने लक्ष्य भेटिने छैन ।’

कचनकवलको कथा भने अलि फरक छ । नेपालको सबैभन्दा होचो भू–भाग कचनकवल गाउँपालिकाले पर्यटन प्रवद्र्धनकै लागि ठूलो धनराशी खर्चेर दीर्घकालिन कामहरु अघि सारेको जनाएको छ । गाउँपालिकाले कचनकवल स्तम्भदेखि विभिन्न संरचना निर्माणका लागि गुरु योजना बनाएर कामको थालनी गरेको गाउँपालिका अध्यक्ष अञ्जार आलमले बताए । आलम भन्छन्–‘यो क्षेत्र नेपालको छुट्टै विशेषता बोकेको ठाउँ भएकाले यसको सम्मुनत विकासमा गाउँपालिका अगाडि बढेको छ ।’

आलमका अनुसार पर्यटन प्रवद्र्धनका लागि पालिकाबाट २ करोड ७ लाख र संघीय सरकारबाट १ करोड ३२ लाख रुपैयाँ विनियोजन भएको छ । पालिकाले कचनकवल स्तम्भ, पोखरी तथा ७० फिट लामो माछाको प्रतिक समेत निर्माण गरिसकेको छ । गाउँपालिकाले सो क्षेत्रमा भ्यूटावर समेत निर्माण गर्ने भएको छ । जहाँबाट नेपालको सबैभन्दा अग्लो भू–भाग सगरमाथाको अवलोकन गर्न सकिने पालिकाका इञ्जिनियर अमित ढंगानाले जानकारी दिए । बडो केचनामा रहेको १६ बिघाको झिल क्षेत्रमा समेत पोखरी निर्माण गर्ने योजना पालिकाको रहेको छ । पालिकाले केचना बजारमा १३ बिघा क्षेत्रफलमा रहेको पोखरीमा ३ लाख रुपैयाँको माछा पालन सुरु गरेको छ ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.