इलामबाट देखिन्छन् हिमशृंखला (फोटो फिचर)

February 17, 2020     Paryatan Yatra

इलाम । इलाममा घुम्न आउने भएपछि धेरैले योजना बनाउँछन्–कन्यामको चियाबारी, अन्तुडाँडा र सन्दकपुरको सुर्योदय–सूर्यास्त हेर्ने । अनि, अलैंची, अदुवा, अम्लिसो, अकबरे हेर्ने, चाख्ने र रमाउने सपना बुन्छन् उनीहरू । इलामबाट मनमोहक हिमशृंखला देखिन्छ भन्ने चाहिँ धेरै पर्यटकलाई थाहा नहुन सक्छ ।
असोज लागेपछि इलामका सन्दकपुर, अन्तुडाँडा, कन्याम, देउराली, राँकेलगायतका दर्जनौं स्थानबाट धीत मर्नेगरी हिमाल हेर्न पाइन्छ । तर, चियाबारी, सुर्योदय र कृषि पर्यटनको मात्रै चर्चाले इलामबाट देखिने हिमालका लोभलाग्दा दृश्य चाहिँ ओझेलमा पर्दैछन् । अझ कन्याम आइपुगेर ‘यही हो इलाम’ भन्दै फर्कनेको संख्यासमेत कम छैन । तर, जो इलामका अग्ला डाँडाकाँडा पुग्छ, जो दूरका गाउँ पुग्छ, उसले मात्रै चिन्छ इलाम । चियाबारीको बीचमा रहेको सदरमुकामबाट चाहिँ नजिकै कुनै हिमाल देखिँदैनन् । तर, यहाँका पर्यटकीय उच्च पहाडी भेगको आकर्षक दृश्य भनेकै हिमशृंखलाको हो, जुन दृष्य हेर्न कि असोज–मंसिर, कि चैत–जेठमै आउनुपर्छ इलाम ।

हिमाल हेर्ने इलामका प्रमुख ठाउँ हुन्–सन्दकपुर र छिन्टापु । अन्तुडाँडा, कन्याम र माइपोखरीबाट पनि हिमालको चित्ताकर्षक दृश्य अवलोकन गर्न पाइन्छ । मौसम उघ्रिएका बेला चियाबारी, माइपोखरी वा सन्दकपुरको बहुरंगी फूल फुल्ने वनजंगलको पृष्ठभूमिमा हिमालको चमक हेर्ने सिजन यही हो । चिसो मौसममा स्थानीय उत्पादन खाएर रमाउँदै हिमाल हेर्न निम्तो छरिरहेका छन् इलामेहरू यतिबेला ।
असोज लागेसँगै इलामका पर्यटकीयस्थल पर्यटकले खचाखच हुदैछन् । केही दिनयता मौसम खुलेको छ । इलामले गर्मी बिदा गरेर चिसोलाई स्वागत गर्दैछ । असोज लागेपछि वर्षा र झरी रोकिने भएकाले मात्रै होइन, सुर्योदय, सूर्यास्त, हिमशृंखला अवलोकन गर्ने सिजन पनि सुरु हुने भएकाले पर्यटक यो बेला धेरै आउँछन् ।  सन्दकपुरबाट सगरमाथा, कञ्चनजंघालगायत नेपाल, भारत र भुटानका समेत हिमाल देखिने भएकाले यहाँ असोज–कात्तिकमा पर्यटक घुइरिन्छन् ।
भारतले सर्वोच्च शिखर सगरमाथा देखिने नेपालसँग जोडिएको एउटै मात्र विन्दु भन्दै सन्दकपुरको प्रचार भारतभर गरिरहेको छ । त्यही लोभले बर्सेनि हजारौं पर्यटक भारतीय सीमाको सन्दकपुर आइपुग्छन् । भारतको बाटो भएर अमेरिका, बेलायत, जर्मनी, अस्टेलियालगायत देशका पर्यटक मात्र होइन, ती देशका विशिष्ट व्यक्ति र राजनीतिक दलका नेतासमेत यहाँ बारम्बार आउँछन् । नजिकै माई भगवतीको शिर भएकाले यहाँ दर्शनार्थीको घुइँचो लाग्छ । मंसिरदेखि फागुनसम्म हिउँको सौन्दर्यले सन्दकपुरलाई अझ आकर्षित गर्छ ।
उसो त, असोज–कात्तिकमा इलाम घुम्न आउने पर्यटकले यहाँका होटल र होमस्टेहरूमा पहिले नै कोठा ‘बुक’ गर्छन् । अहिले जिल्लाका ग्रामीण क्षेत्रमा टाढा–टाढाका पर्यटकले होमस्टेका कोठा बुक गर्न थालेको स्थानीय व्यवसायीले बताएका छन् । ‘अहिले अन्तुडाँडाबाट सुर्योदय, हिमशृंखला हेर्न, अन्तुपोखरीमा रमाउन र चिया टिपाइको मज्जा लिन पर्यटक आइरहेका छन्,’ स्थानीय होमस्टे व्यवसायी धरणी घिमिरेले भन्नुभयो , ‘कतिपयले पहिल्यै कोठा बुक गरिसकेका छन् ।’
अन्तु र समालबुङमा लोपोन्मुख लाप्चा समुदायको संस्कृति अवलोकन गर्न पनि पर्यटक आउँछन् । यहाँ आएका पर्यटक स्थानीय होमस्टेमा होटलभन्दा सस्तो मूल्यमा खान–बस्न सक्छन् । यहाँका घरहरूमा एक रात सुतेको डेढ सयदेखि ५ सय तथा सादा खाना खाएको १ सय ५० रुपैयाँ पर्छ । स्वादअनुसार अन्य खानाको दर पनि सस्तो रहेको व्यवसायी बताउँछन् । चिसो ठाउँ र सिरेटो चल्ने भएकाले यतिबेला यहाँ आउँदा पर्यटक आनन्द अनुभूत गर्छन् ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.