आफ्नो वरिपरि
भीर, पाखा र कान्लाभरि
थुम्का थुम्का चिया, र
झुम्का–झुम्का अलैंची उमारेर
सन्तोषले एक्कासी सुस्मित उठेको झैं
हरियो भरियो इलामलाई देख्ता मलाई
नेपालभरि अलिअलि इलाम छर्न मन लाग्यो
कवि भूपि शेरचनले इलामको सुन्दरताबाट मोहित बनेर लेखेका यी कविता पंक्तिले यहाँको मोहक वातावरणको चित्रण गर्छ । हुन पनि यतिबेला इलामलगायत पहाडी जिल्लाको मौसम यसरी खुलेको छ कि, असोज–कात्तिकजस्तै । डाँडाकाँडा खुलेका छन् । हिमाल टलक्क टल्किएका छन् । इलामका अग्ला डाँडाकाँडाबाट सूर्योदय–सूर्यास्त प्रस्ट देखिँदैछ । चियाबारीको हरियाली सधैंका हिउँदभन्दा आकर्षक छ । र, बेला–बेला माटो भिजाउने पानी परेकाले बोटबिरुवामा हरियो फर्केर पहाडी पर्यटकीय क्षेत्र चाहिँ घुमौं–घुमौं लाग्ने भएका छन् ।
पर्यटन वर्ष सन् २०२० को सुरुसँगै इलामका कन्याम, अन्तुडाँडा, सन्दकपुर, माइपोखरी, फिक्कल, पशुपतिनगर, जौबारी, तुम्लिङ, मेघमा, कालपोखरी, गजुरमुखी, लारुम्बालगायत सबै पर्यटकीयस्थलको मौसम राम्रो छ । केही वर्षयता पूर्वाधारमा समेत सुधार आएकाले यहाँका पर्यटकीयस्थल पुग्न अब धेरै समस्या पनि छैन । झापाबाट इलामतिर लाग्नेबित्तिकै मेची राजमार्गको दायाँ–बायाँ आकर्षक र सुविधासम्पन्न होटल, रिपोर्ट खुलेका छन् । दूरदराजका पर्यटकीय गाउँहरूमा पनि अहिले होम–स्टे स्थापना भएकाले अब पर्यटकलाई इलाम आएर खान–बस्न समस्या छैन ।
इलामको मौसम छिनछिनमै परिवर्तन हुन्छ । एकै दिनमा घाम लाग्ने, हुस्सु लाग्ने, पानी पर्ने, फेरि त्यही प्रक्रिया दोहोरिने मौसम इलामको विशेषता नै हो । ‘बिहानले नै दिउँसोको संकेत गर्छ’ भन्ने भनाइ इलामको मौसममा चाहिँ अपवाद नै हुन्छ ।
तर, हिउँद र वर्षामा इलामका पर्यटकीयस्थल घुम्नुको विशेषता आ–आफ्नै हुन्छ । चियाको हरियो गलैंचामा नीलो आकाश र सेतो हिमाल पृष्ठभूमि राखेर फोटो खिच्न पाए स्वर्गै पुगिएला भन्ने लागेर यहाँ आएको सुनाउने पर्यटक भेटिन्छन् । भदौ दोस्रो सातादेखि चाहिँ प्रायः पर्यटकीय सिजन सुरु हुन्छ । बर्खाको हिलो, फोहोर सकिएर त्यसै पनि दसैं आएका बेला चियाका बोटका पनि ढकमक्क हरियो मुना टिप्ने सिजन बाँकी नै हुन्छ । आकाश छ्यांग खुल्छ । कन्याम, इलाम, अन्तु, पानीटारको हरियो चियाबारीको पृष्ठभूमि आफैंमा उत्कृष्ट हुन्छ । अझ सन्दकपुर, अन्तु र कन्यामबाट कञ्चनजंघालगायतका हिमालसमेत प्रस्ट देखिने भएकाले आकर्षण थपिन्छ ।
तराईमा गर्मीको भावर उठिरहेका बेला इलामले चिसो दिन्छ र तराईमा हिउँदको स्याउस्याउ गर्नुपर्ने शीतलहरमा इलामको घमाइलोले पर्यटक लोभ्याउँछ । झापाको चारआलीबाट मेची राजमार्गतिर मोडिएर करिब १५ किलोमिटर हिँडेपछि इलामको आकर्षणले मन तरंग बनाउन थाल्छ । कोल्बुङको उकालो सुरु भएसँगै मेची राजमार्ग वरपर चियाका बुट्टामात्र होइन, इलामे किसानको पौरख पनि देखिन्छ । इस्कुस बेचेर वर्षको ६ लाख रुपैयाँसम्म आम्दानी गर्ने किसान यहीं छन् । चिया, दूध, अकबरे खोर्सानी, मौसमी र बेमौसमी तरकारी, फलफूल अनि काँक्रा खेतीबाट लाखौं रुपैयाँ आम्दानी गरिरहेका किसानको घरमै गएर उनीहरूको पौरख नियाल्न चाहने पर्यटकलाई त्यो सुविधा पनि छ । कुटीडाँडाका सिँढी उक्लिएर पाथीभराको दर्शन गरेपछि हर्कटे, कन्याम फिक्कलको बाटो इलामका पर्यटकीयस्थल छिरिन्छ ।
सूर्योदय–सूर्यास्त दृश्यावलोकनका लागि चर्चित अन्तुडाँडा मेची राजमार्गको छिपिटारबाट जानुपर्छ । त्यहाँबाट करिब १३ किलोमिटरमा रहेको अन्तुडाँडामा अवलोकन गर्न लायक वस्तु धेरै छन् । सडक कालोपत्रे भएको छ । जिप, कार, भ्यान र मोटरसाइकलमा कन्यामबाट अन्तु जान सकिन्छ । अन्तुको झुल्केघामको सिजन भदौ अन्तिममा सुरु हुन्छ । मौसम खुले पुस–माघ र वैशाखसम्म यो सिजन रहन्छ । अन्तुबाट देखिने सूर्यादय चित्ताकर्षक मानिन्छ । यहाँबाट सूर्याेदय हेर्न बर्सेनि सयौं स्वदेशी र विदेशी आउँछन् । ग्रामीण पर्यटनमा पूर्वको खचाखच रहने पर्यटकीय क्षेत्र भएको छ अन्तु ।
अन्तुबाट उत्तरका हिमशृंखला, कोणधारी धुपी–सल्ला, झुम्का–झुम्का अलैंची, सिजनअनुसार फलफूल तथा अरू बालीले पनि सिँगारिएको देखिन्छ । यहाँबाट झापा, कन्याम, भारतको दार्जिलिङ, मिरिक, सिलिगुडीलगायतका बजार वरिपरिझैं लाग्छ । झापा, मोरङ, सुनसरी, सप्तरीलगायत धेरै गर्मी हुने ठाउँबाट आउने पर्यटकका लागि अन्तु बढी आरामदायी छ । भारतको पश्चिम बंगालका सयौं पर्यटक बर्सेनि यहाँ आउँछन्, २–४ रात बिताउँछन् र जान्छन् । तराई क्षेत्रमा गर्मी बढेका बेला अन्तुको प्राकृतिक एयर कन्डिसनमा रमाउन आउनेको घुइँचो नै लाग्छ । नेपालकै पश्चिमी जिल्ला र भारतको पश्चिम बंगालबाट बढी पर्यटक आउँछन् । कतिपय स्कुलका विद्यार्थी समूहसमेत अध्ययन भ्रमणमा यहाँ आउँछन् ।
यहाँको अर्का आकर्षण अन्तुपोखरी हो । चियाबारीको बीचमा रहेको अन्तुपोखरीमा डुंगा सयर गर्न पाइन्छ । प्रतिव्यक्ति ५० रुपैयाँ तिरेपछि डुंगामा चढ्न पाइने स्थानीय खगराज घिमिरेले बताउनुभयो । ‘यहाँका आएका पर्यटक डुंगा नचढी फर्किंदैनन्,’ उहाँले भन्नुभयो ‘कहिलेकाहीं त सबैलाई डुंगा चढाउन भ्याइँदैन ।’
इलामलाई चिनाउने अर्काे गन्तव्य हो कन्याम चियाबारी । आँखाले देखिएसम्म चियाबारी रहेको कन्याम सडक सहजताले पनि बाहैमास पर्यटकले भरिभराउ हुन्छ । अहिले चियाबारीभित्र कलात्मक रेलिङसहितको शृंगार पनि गरिएकाले पर्यटक कन्याम घुम्न लालयित हुन्छन् । ‘कन्याम आउने पर्यटक इलाम घुम्न आएको भन्दै सन्तुष्ट देखिन्छन्,’ स्थानीय होटल व्यवसायी राज अविरल भन्नुहुन्छ ‘हिउँदमा यहाँ वनभोज खान आउनेको लहर नै चल्छ ।’ अन्तु र कन्याममा लोपोन्मुख लेप्चा जातिको समेत बसोबास रहेकाले सांस्कृतिक अध्ययनका लागि आउने पर्यटकलाई अर्का गन्तव्य हुनेगर्छ ।
कन्याममा चियासँग लुकामारी खेल्न, लभडाँडाबाट हिमाल, पहाड र तराई नियाल्न अनि घोडा चढ्न चाहिँ पर्यटकले छुटाउँदैनन् । करिब १० किलोमिटरमा रहेको फिक्कल बजार चाहिँ यहाँ आउने पर्यटकको कोसेली किन्ने बजार हो । फिक्कलमा छुर्पी, बम्बइसन, ललीपप, घिउ, अकबरेलगायत पर्यटकले चाहेअनुसारका स्थानीय उत्पादन पाइन्छन् । फर्किंदा लैजाने कोसेली पहिल्यै बुक गरिराखे पनि फरक पर्दैन । कन्याम–फिक्कल–अन्तु सर्किट नेपाल सरकारको सय उत्कृष्ट पर्यटकीय गन्तव्य सूचीमा समेत परेको छ ।
पूर्वी पहाडकै आकर्षक पर्यटकीयस्थल सन्दकपुर इलामको पर्यटकीय गहना नै हो । ३ हजार ६ सय ३६ मिटर उचाइमा रहेको सन्दकपुर चाहिँ प्रायः हिउँदमा मात्र पुग्न सकिन्छ । सडक व्यवस्थित नहुँदा सन्दकपुरबाट स्थानीय बढी लाभ लिन सकेका छैनन् । नेपालकै भू–भाग भएपनि भारतपट्टि पूर्वाधार राम्रो भएकाले यसको बढी प्रयोग भारतले नै गरिरहेको छ । सन्दकपुर विश्वको सर्वाच्च शिखर सगरमाथा देखिने नेपालसँग जोडिएको एउटै मात्र विन्दु भएकाले पनि यहाँ भारतको बाटो भएर बर्सेनि हजारौं पर्यटक आउँछन् । सन्दकपुरमा १–२ वटा मात्रै व्यवस्थित होटल छन् । त्यसभन्दा केही तलको भू–भागमा चाहिँ होम–स्टे र होटल खुल्नेक्रम तीव्र छ । भारतपट्टि भने पर्यटकका लागि दर्जनौं कटेजहरू छन् । भारततिरबाट यहाँ तेस्रो बंगाली र तेस्रो मुलुकका पर्यटक आउँछन् ।
चियाबारीले ढाकेको इलाम सदरमुकाम घुम्ने सिजन पनि यही हो । नेपालमै पहिलोपटक चिया खेती गरिएको चियाबारी र देशकै पुरानो कारखाना पनि सदरमुकाममै पर्छ । यो चियाबारी सौन्दर्य र आम्दानीको स्रोतमात्र होइन, ऐतिहासिक महवको समेत छ । चीनले कोसेलीका रूपमा पठाएको चिया डेढसय वर्षअघि इलाममा रोपिएको थियो । इलामे चियाले बोकेको नेपाल–चीन सम्बन्धको ऐतिहासिक महव बुझेका व्यक्तिका लागि यो चियाबारी आकर्षणको केन्द्र भएको छ ।
इलामको अर्काे महŒवपूर्ण पर्यटकीय गन्तव्य हो माइपोखरी । सदरमुकामबाट १३ किलोमिटरमा पर्ने माइपोखरीको जैविक विविधता अवलोकन र अध्ययन गर्ने सिजन भदौपछि नै सुरु हुन्छ । यो मौसम पर्यटकका लागि उपयोगी भएकाले प्रायः पर्यटकले खाली हुँदैन माइपोखरी । धार्मिक आस्थाको केन्द्र पनि भएकाले माइपोखरीमा पूजापाठ गर्ने, जल चढाउने, सदबीज छर्ने कामका लागि धार्मिक पर्यटक धुइरो लाग्छन् । यहाँ मंसिरे एकादशीमा ठूलो धार्मिक मेला लाग्छ ।
बाह्रैमास चिसो मौसम रहने माइपोखरीमा प्रायः मंगलबार र शनिबार धार्मिक पर्यटक घुइँचो लाग्ने भएपनि अरू दिनसमेत पर्यटकले खाली हुन पाउँदैन । जैविक विविधतामा धनी माइपोखरी विश्व संरक्षण सूचीमा समेत सूचीकृत छ । २८ अक्टोबर सन् २००८ मा दक्षिण कोरियाको चाङबाङमा सम्पन्न रामसार महासन्धिको दसौं बैठकले माइपोखरीलाई विश्वसम्पदा सूचीमा राखेको छ । २ हजार १ सय २१ मिटर उचाईको पहाडी थाप्लोमा ठूलो जलाशय छ । दर्जनौं प्रजातिका चाँप, गुराँस र लोपोन्मुख जडीबुटीले वरिपरिबाट पहरा दिइरहेको छ यसलाई । आकाश उघ्रेका बेला कञ्चन पानीमा देखिने कोणधारी धुपी र सल्लाघारीको छाया आशर्षक देखिन्छ । उच्च पहाडी र चिसो ठाउँ भएकाले गर्मी याममा माइपोखरीको महŒव बढ्छ । पोखरीको वरपर ९० हेक्टरको धार्मिक वन छ । २ हेक्टरमा जलाशय रहेको यो क्षेत्रको १२ हेक्टर सिमसारलाई अत्यन्त संवेदनशील मानिएको छ ।
प्रचारप्रसार नै नभएका पर्यटकीयस्थलको संख्या पनि इलाममा धेरै छ । छिन्टापु, गोरुवाले, जौबारी, नयाँबजारलगायतका पर्यटकीयस्थलको प्रचारप्रसार हुन सकेको छैन । नयाँबजारको सिद्धपोखरी, सोयाङको साततले झर्ना र मलुपोखरी, माइमझुवाको जैविक विविधता, टोड्के झर्ना पर्यटीय गन्तव्य हुन् । सदरमुकामनजिकैको बालनगाउँ, जमुनाको चोयाटार वन, प्याङको थुम्के, पानीटार चियाबारी, सिद्धिथुम्का, मिक्लाचोङलगायत दर्जनौं पर्यटकीयस्थलको पूर्वाधार विकास हुन बाँकी छ । ‘पर्यटन वर्ष सन् २०२० का लागि पूर्वाधार विकासमा सक्रिय छौं, धेरै पूर्वाधार त तयार गरिसकिएको छ,’ पूर्वीपहाको पर्यटकीय नगरी सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राई भन्नुहुन्छ ‘इलाममा पर्यटक भित्रिनुले यहाँको समृद्धिमा सघाउँछ ।’