विराटनगर । अन्तर्राष्ट्रिय कृषि, औद्योगिक प्रदर्शनी (विराट एक्स्पो) आजबाट विराटनगर–२ को शंकरपुर मार्ग, (विराट नर्सिङ होम पुर्व) सुरु हुदैछ । शुक्रबार संघिय सरकारका अर्थ मन्त्री डा. युवराज खतिवडाले एक भब्य समारोह बिच एक्स्पोको उद्घाटन गर्ने आयोजक संस्था उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरेले बताउनु भयो ।
एक्स्पोको स्टल निर्माण, सडक कालोपत्रेलगायतका काम पूरा भएको एक्स्पो मूल आयोजक समितिका संयोजक भोलेश्वर दुलालले बताउनु भयो । एक्स्पोबाट उद्योगीले आफ्नो उत्पादनबारे प्रत्यक्ष रूपमा उपभोक्तालाई बुझाउने छन् भने उपभोक्ताले प्रत्यक्ष रूपमा यसबाट फाइदा लिनसक्ने छन् । एक्स्पोमा राखिएको सामना बजार भाउभन्दा धेरै सस्तो हुनेछ । यसबाट उपभोक्ताले फाइदा लिने र उद्योगीले आफ्नो सामानको प्रचार गर्न सक्ने छन् ।
प्रदर्शनीको मुख्य आकर्षणहरुमा जुम्लाको स्याउ, मार्सि चामल, हिमाली उत्पादन, पोखराको पाउ, तेह्रथुमको ढाका, उदयपुरको खरायो, वरमझियाको पेडा, सुपारीको टपरी, ईलामको ललिपप, अर्गेनिक, ग्रिन र अर्थोडक्स चिया, किवि, तेह्रथुम र संखुवासभाको अल्लो रहेका छन् । प्रर्दशनीमा हस्तकला, कृषि यन्त्रहरु, वैंक तथा विक्तिय संस्थाहरु सेवामुलक उद्योगहरुको स्टलहरुका छुट्टै पेभेलियनको व्यवस्था गरीएको छ । नेपालका प्रतिष्ठित उद्योग÷व्यवसायका दैनिक उपभोग्य वस्तु तथा उत्पादनहरु, सूचना प्रविधि, गार्मेन्टस तथा जुत्ता चप्पलहरु, ईलेक्ट्रोनिक्स तथा ईलेक्ट्रिकका सामानहरुको छुट्टै पेभेलियनका साथै भारत, पाकिस्तान र वंगलादेशका गार्मेन्ट, किचन सामाग्रि तथा औद्योगिक उत्पादनहरुको स्टल समेतको छुट्टै पेभेलियनको व्यवस्थाका साथै अटोमोवाईल्सको अलग्गै परिसरको व्यवस्था गरिएको छ । 
यसका अतिरिक्त हेलिकप्टरबाट विराटनगर अवलोकन, पाथिभरा दर्शन, हात्तीको सवारी र वालवालिकाका लागि फनपार्कका साथै अस्ट्रिचका साथै ६० प्रजातिका चराहरु राखिने छ भने नेपाली सेनाको सर्पदंश, ट्राफिक सचेतना, रोजगार सूचना केन्द्रको व्यवस्था तथा भ्रमण वर्षको प्रवद्र्धनका लागि प्रदेश १ का पर्यटकीय गन्तब्यको जानकारीहरु एक्स्पोमा राखिएको छ ।
नोबेल मेडिकल कलेज मुख्य प्रायोजक रहेको मेला ९ दिनसम्म सञ्चालन हुनेछ । मेलाको सुरक्षाका लागि मेला स्थल वरपर सिसी क्यामाराको राखिएको छ । मेला आयोजना गर्न २ करोड बढी खर्च लाग्ने अनुमान छ । एक्स्पोमा १ अर्बभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ । 
एक्स्पोमा दैनिक उपभोग्य वस्तु, कृषिजन्य उत्पादन, लत्ताकपडा तथा मनोरञ्जनका सामग्री, खानाका स्टल प्रदर्शनीका लागि राखिएको छ । एक्स्पोमा ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशका साथै सर्वसाधारणलाई ५० रुपैयाँ र विद्यार्थीलाई २५ रुपैयाँ प्रवेश शुल्कको व्यवस्था गरिएको छ । ३ सय ४० वटा स्टल रहने एक्स्पोमा ४० स्टल अन्तर्राष्ट्रिय, ६० वटा स्टल घरेलु तथा हस्तकला, १ सय ६० स्टल औद्योगिक उत्पादन, ३८ वटा अटोमोबाइल्सका छन् । यस्तै १२ वटा बैंक तथा वित्तीय संस्थाका, २० वटा जनचेतनामूलक, खानाका १० वटा स्टल रहेका छन् । एक्स्पोको अबलोकन ३ लाख बढीले गर्ने अयोजक समितिले दाबी गरेको छ ।