विराटनगर । प्रदेश–१ भएर बग्ने नदीहरूमा जलयात्राको सम्भावना र अहिले सप्तकोशी नदीको चतरा खण्डमा सञ्चालमा रहेको जलयात्राका बारेमा अध्ययन गर्न प्रदेश–१ को संसदीय समितिले स्थलगत अवलोकन गरेको छ ।
उद्योग पर्यटन तथा वातावरण समितिकी सभापति सीता थेबेको नेतृत्वमा समितिको टोली चतरा पुगी जलयात्रा गर्नुका साथै सञ्चालकहरूसँग अन्तरक्रियासमेत गरेको थियो । अन्तक्रियामा समितिका सदस्यहरू वुद्धिकुमार राजभण्डारी, काजीमान कागते, उमिता विक, बिन्दिया कार्कीलगायतले प्रदेश–१ मा जलयातायातको प्रचुर सम्भावना रहेकाले त्यसतर्फ लगानी बढाउन सरकारलाई आग्रह गर्नुका साथै सञ्चालनका लागि आवश्यक कानुन बनाउन सम्बन्धित निकायसमक्ष पहल गर्ने बताउनुभयो । कार्यक्रममा समितिकी सभापति थेबेले जलमार्गको निर्माण सम्भावनाका बारेमा थप अध्ययन आवश्यक रहेको बताउनुभयो ।
सप्तकोशी नदीमा तीनवटा पानी बोट सञ्चालनमा छन् । यी बोटले दैनिक अढाइ सयदेखि ३ सय जनासम्म यात्रु बोक्ने गरेका छन् भने मालसामानको ढुवानी पनि त्यतिकै मात्रामा गरिरहेका छन् । चतराबाट सिम्लेसम्मको करिब १८ किलोमिटरको जलयात्रा करिब १५ मिनेटमा पूरा हुन्छ । एउटा बोटले एक पटकमा २० जना ओसार्ने गर्छ । दुई वर्षदेखि व्यावसायिक रूपमा जलयात्रा सुरु भएको हो ।
जलयात्रा गर्दा यो दूरीमा एकतर्फ प्रतिव्यक्ति ५ सय रूपैयाँ भाडा तोकिएको छ भने मालवस्तु ढुवानी गर्दा प्रतिकिलो ८ रूपैयाँ मूल्य लाग्छ । यात्रुहरूको ५ लाखका दरले बिमा गरिएको छ । यहाँ सञ्चालनमा रहेका तीनवटा वोटमध्ये एउटा नेपाली युवा इन्जिनियरहरूले बनाएका हुन् । एउटा ३० सिट क्षमता भएको बोट आल्मुनियमबाट बनेको छ भने साढे चार करोड लगानी पर्छ भने फाइबरबाट बनेकोलाई सवा २ करोड मूल्य पर्छ । इटहरीका युवा नेपाली इन्जिनियहरूले करिब डेढ करोडको लगानीमा बोट बनाएर सञ्चालनमा ल्याएका छन् ।
उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराह नगरपालिकाको बीचमा रहेको सप्तकोशी पुलबाट भोजपुरको हलेदे र धनकुटाको सिम्लेसम्म जल यातायात सञ्चालन छ । बराहक्षेत्र जल यातायात तथा पर्यटन प्रालिले सुनसरीको बराहक्षेत्र–१ मा रहेको चतराघाटबाट भोजपुर, उदयपुर र धनकुटाको संगम सिम्लेसम्म जेटबोट सञ्चालनमा ल्याएको हो ।
चतराघाटबाट १५ किलोमिटर हाराहारीको धनकुटाको सिम्ले पुग्न अहिले १५ मिनेटमै पुग्न थालिएको छ । कम्पनीका प्रबन्ध निर्देशक विमलमान श्रेष्ठका अनुसार यो परियोजना पर्यटन र पारबाहन दुवै कोणमा सञ्चालन गरिए पनि यातायातका लागि बढी प्रयोग हँुदै आएको छ । बराहक्षेत्र जल यातायात तथा पर्यटन प्रालि अगाडि सुम्निमा जल यातायात प्रालिले पनि सप्तकोशीमा जेटबोट चलाएको थियो । यसैगरी सप्तकोशी टुरिजम एण्ड वाटर ट्रान्सपोटेसनले नेपालमै बनेको ८८४८ बोट सञ्चालन गर्दै आएको छ ।
जेटबोट सञ्चालनपछि भोजपुर, धनकुटा र उदयपुरकै माथिल्लो भेगका बासिन्दाहरूलाई मधेस र पहाड आवतजावतमा बरदानझैं सावित भएको छ । पर्यटकहरूलाई सप्तकोशीको मनमोहक र रमणीय दृश्यहरू अवलोकन गर्दै यात्रा गर्न सहज भएको छ । चतरापुलबाट चलेको जेटबोटले बराह मन्दिरभन्दा केही माथिबाट छुट्टिने सुनकोशी, दूधकोशी, तामाकोशी र भोटेकेशी मिसिएको पानीको बहाव प्रयोग गर्दै भोजपुरको हलेदे पु¥याँछ । अरुण, बरुण र तमोर नदी मिसिएको बहाव प्रयोग गर्दै धनकुटाको सिम्ले लैजान्छ ।
अरुण नदीतर्फको अवरोधलाई हटाउन सके तुम्लिङटारसम्मको जलयात्रा तय गर्न सकिन्छ । सुनकोशीतर्फमा उदयपुरको बेलका बेलका ७ र भोजपुरको हतुवागढी–९ को बीचमा पर्ने लामपाते घागीमा अवरोध रहेको छ । त्यसको केही माथि बेलका–७ र भोजपुरको आमचौकबीचमा पनि अवरोध छ । यदि जल मार्गमा सरकारले लगानी गर्ने हो भने खोटाङ र सिन्धुली मात्र नभई दोलालघाटसम्मकै यात्रा करिब डेढ घण्टामा पुगिन्छ । जलयात्रासँग प्रत्यक्ष जोडिएका उदयपुरको बेलका नगरपालिका, सुनसरीको बराह गाउँपालिका, भोजपुरको हतुवागढी र धनकुटाको खाल्सा छिन्ताङ सहिद गाउँपालिकाले सेवा लिएका छन् ।MVI_0668