झाडु बोकेर सडक बढार्दै महानगरका मेयर

January 18, 2020     Paryatan Yatra

विराटनगर । विराटनगर महानगरका मेयर भीम पराजुली शनिबार बिहान हातमा झाडु बोकेर सडक बढार्दै हुनुहुन्थ्यो । उहाँलाई साथ दिइरहनु भएको थियो वडा नम्बर ४ का अध्यक्ष देवेन्द्र पोखरेललगायतले । अन्य संघसंस्थाका प्रतिनिधि र स्थानीयबासीको पनि उत्तिकै सहभागिता देखिन्थ्यो । कंचनवारी चोक पश्चिम नोबेल मेडकल कलेज जाने सडक सफाइमा मेयर आफैं खटिनु भएको थियो ।
भ्रमण वर्ष २०२० समेत शुरु भइ सकेकाले अब महानगरले पर्यकटहरुलाई समेत लक्षित कार्यक्रमहरु अघि बढाउन थालेको महानगरका प्रमुख पराजुलीले बताउनु भयो । ‘अब केही समयपछि महानगर धुलो र हिलोबाट मुक्त हुन्छ,’ मेयर पराजुलीले भन्नुभयो, ‘यहाँ घुम्न आउने पर्यटकहरुले विराटनगर धुलो र हिलो छ भन्ने अवस्था नहोस भन्ने हाम्रो प्रयास हो । ’
यसैअन्तर्गत महानगरका कालोपत्रे भई सकेका सडकलाई सफा गर्ने अभियान नै चलाएको छ । नयाँ कालोपत्रे सडकमा जमेको माटो र धुलो महानगरपालिकाले हटाएर टोललाई नै जिम्मा लगाउने तयारी थालेको हो । दमकलको प्रयोग गरेर महानगरभित्रका सडक धुलोरहित बनाउने अभियान अन्र्तगत तीनैपैनीदेखि ट्राफिक चौकसम्मको सडकको सरसफाई गरिएको छ ।
टोल मेरो हो त्यसैले घर अगाडीको सडक सफा राख्नु पर्छ भन्दै माइकवाट सचेत गराउने काम सगंै मेयर आफै टोलटोलमा गएर झाडु लगाउदै आउनु भएको छ । ‘सचेतनाको पाटोलाई पनि जोड दिएका छौं,’ मेयर पराजुलीले भन्नुभयो, ‘सधै महानगरले सफा गर्न सक्दैन कमसेकम आफ्नो घर अगाडिको सडक सफा गर्ने दायित्व मेरो पनि हो भन्ने भावना जगाउने प्रयास गरेका छौं ।’
महानगरले सडकमा फोहोर पार्नेलाई कारवाही गर्ने तयारी समेत गरेको छ । सडक सफा राख्ने वडालाई पुरस्कारको समेत व्यवस्था हुनेछ । ‘हामी दण्ड र पुरस्कार दुवै गर्ने छौं’ मेयर पराजुलीले भन्नुभयो, ‘आफू केही नगर्ने अनि नम्रतालाई कमजोरी सम्झने बानी अब सबैले त्यग्नु पर्छ ।’

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.