नेपाल–यात्राको टोली १६ दिनमा पुग्यो झुलाघाट

January 17, 2020     Paryatan Yatra

विराटनगर । प्रदेश–१ मा घुम्न आउने निम्तो दिंदै पूर्वको पाँचथरबाट हिंडेका युवाहरूको टोली लगातार १६ दिनको मोटसाइकल यात्रापछि पश्चिम बैतडीको झुलाघाट पुगेको छ । १६ दिनअघि पाँचथरको फिदिमबाट हिंडेको उक्त टोली बिहीबार झुलाघाट पुगेको हो । उनीहरू मध्यपहाडी लोकमार्गबाट मोटसाइकलमा गएका थिए । शुक्रबार टोली फर्कने क्रममा डँडेलधुरा सदरमुकाममा आइपुगेको छ । ‘१६ दिनको यात्रा पूरा गरेर फर्कने क्रममा डँडेलधुरामा वर्षातका कारण रोकिएका छांै,’ टोलीका सदस्य दीपक बोहोराले भन्नुभयो, ‘तीन दिनमा फिदिम पुग्छौं ।’
‘नेपाल–यात्रा’ नाम दिएको उक्त अभियानको एउटै उद्देश्य थियो, भ्रमण वर्ष २०२० को प्रचार गर्ने, एक नम्बर प्रदेश घुम्न निम्तो दिने । उक्त टोली भ्रमण वर्षको पहिलो दिन पुस १६ गते फिदिमबाट हिंडेको थियो । नेपाल–भारतको सिमानामा पर्ने पाँचथरको चिवाभञ्याङदेखि बैतडीको झुलाघाट जोड्ने राष्ट्रिय गौरव पुष्पलाल (मध्यपहाडी) लोकमार्गको मोटरसाइकल यात्राका लागि पाँचथरका ११ जना युवाहरूले सहासिक यात्रा गरेका हुन् । टोलीमा राजनीतिकर्मी, पत्रकार, व्यवसायी, कर्मचारी र युवाहरू सहभागी थिए । दैनिक करिब २ सय किलोमिटर यात्रा टोलीले गरेको थियो । भ्रमण वर्षको प्रचार गर्ने र समुदायमा उत्साह जगाउने प्रमुख लक्ष्य रहेको यात्राका सहभागी हर्क नेम्बाङ (मिक्सो) ले बताउनुभयो । ‘मध्यपहाडी लोकमार्गको वारपार पहिलोपटक मोटरसाइकल भएर यात्रा गरेका छौं,’ उहाँले थप्नुभयो, ‘पर्यटन प्रवद्र्धनसँगै आर्थिक, सामाजिक, भौतिकलगायतका अवस्थाको अध्ययनसमेत गरेका छौं ।’
नेपालका २३ जिल्लाका २ सय १५ भन्दा बढी बस्ती छोएर झुलाघाट पुगिन्छ । १ हजार ७ सय ७६ किलोमिटर लामो मध्यपहाडी लोकमार्गले छुने सदरमुकाम र स्थानीय तहकोे केन्द्रमा अन्तरक्रियासमेत गरिएको थियो ।
यात्रामा हर्क नेम्वाङ, गिरिराज बाँस्कोटा, सुमन लामा, दीपक दुलाल, धनकुमार लावती, दीपक बोहोरा, पविन माखिम, रूपेन्द्र तामाङ, जलकुमार तामाङ, तुलाराम रिमाल र छवि चापागाईं सहभागी हुनुभएको थियो ।

तस्बिरहरू दीपक दुलालको फेसबुकबाट लिएका हुन् ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.