विराटनगर । क्युएफएक्सले विराटनगरमा नयाँ सिनेमा हल संचालनमा ल्याएको छ । एक औपचारिक कार्यक्रमबीच भाटभटेनी सुपरमार्केटमा सिनेमा हल शुभारम्भ गरिएको हो । शनिबार आयोजित पत्रकार सम्मेलनमा क्युएफएक्सका सीईओ नविन उद्धिमका अनुसार यो हल २७ औं हो । रिगल सिनेमाजको लगानी रहेको यसमा टिम क्वेस्टको व्यवस्था छ । यसमा डेप्थ क्यू थ्रीडी टेक्नोजोलीको प्रयोग गरिएको छ । भाटभटेनीमा दुईवटा स्क्रिन रहेका छन् । यसको सिट क्षमता चार सय २४ रहेको छ ।
यसमा रिक्लाइनर सिट संख्या २८ छ । यो सिटमा सुतेर सिनेमा हेर्न मिल्छ । भाटभटेनीसँग लिजमा ठाउँ लिएर रु. १६ करोड लगानीमा हल खोलिएको हो । कम्पनीले सिनेमाको चेनमा मोबाइल एप र लोयल्टी प्रोग्राम गोजी पनि जारी राखेको उद्धिमले जानकारी दिएका छन् । भने,‘‘विराटनगर जस्तो ठाउँमा हामी आउन पाउँदा खुसी छौं । यहाँको जनसंख्याअनुसार सिनेमाको दर्शक पर्याप्त भएकोले ठूलो उत्साह पनि छ ।’’
उनले अहलेको पुस्ताले नयाँ प्रविधिलाई अंगीकार गर्ने भएकोले सिनेमा चल्ने सम्भावना थप बढेको सुनाए । कलाकार तथा निर्माता अशोक शर्माले नेपाली सिनेमाहरु गुणस्तरीय बनेसँगै प्रदर्शन हुने थिएटर पनि त्यही गुणस्तरको बन्न थालेको बताए । भने,‘‘राम्रा हल बन्न थालेका छन् अब गुणस्तरीय सिनेमा नबनाइ निर्मातालाई पनि धर छैन ।’’
उनले नयाँ पुस्ता बाहिर सिनेमा पढेर आउने गर्न थालेको र राम्रा सिनेमा बनाउने क्रम बढ्दा बजारसमेत बढेको बताए । कार्यक्रममा दिइएको जानकारीअनुसार क्यूएफएक्सले नेपालभर १२ वटा हल सञ्चालनमा ल्याएको छ । जसमा २७ वटा स्क्रिन रहेका छन् । काठमाडौं बाहिर बिर्तामोड, बुटबल, विराटनगर, नेपालगन्जमा हल सञ्चालनमा छन ।
विराटनगरको हलमासमेत डलबी एटम्स साउन्ड सिस्टम जडान गरिएको छ । योसँगै विराटनगरमा मल्टिप्लेक्सको संख्या ६ पुगेको छ । यसअघिका हिमालय टाकिज र अरुण सिनेमा पनि सिनेमा पनि सञ्चालनमा छन् । क्युएफएक्सले टिकट दर दुई सय ५०, तीन सय ५० र ८ सय रुपैयाँ तोकेको छ । टिकट बिहानी शत्रका शोहरुमा भने ५० प्रतिशत छुटमा पाउने व्यवस्था गरिएको छ । साभार बाह्रखरीवाट