रमाइलो यात्रा इलाम–पाँचथर–ताप्लेजुङको

December 13, 2019     Paryatan Yatra

चिसो सिरेटो, भुइँकुहिरो र नागबेली सडक छिचोल्दै पूर्वको यात्रा तय गर्न सकिन्छ । यो यात्राको थालनी कन्याम चिया बगानबाट हुन्छ । मेची राजमार्गको दुई किनारमा देखिने चियाका थुम्काथुम्कीले केही क्षण त्यहीँ बसौं–बसौं बनाउँछन् । यहाँ कलकलाउँदो चियाको दृश्य हेरेर रमाउन सकिन्छ । कन्याम पुगेपछि लेप्चासहित अन्य जातिको पहिरनमा फोटो खिच्ने कि, घोडाको सवारी गर्ने ? आफ्नो इच्छा ।

कन्यामलाई केन्द्रमा राखेर श्रीअन्तुसम्म पुग्न सकिन्छ । सूर्योदयको दृश्यका लागि उत्कृष्ट गन्तव्य हो यो । श्रीअन्तुमा पेइङ गेस्टका रूपमा बस्न सकिन्छ । श्रीअन्तुबाट अगाडि बढेपछि इलाम बजार पुगिन्छ । इलाम बजारबाट माइपोखरी, टोड्के झरना हुँदै सन्दकपुरसम्मको यात्रा तय हुन्छ । इलाम र दार्जीलिङको सीमावर्ती सन्दकपुरबाट हिमशृंखलाको दृश्य निकै मोहक देखिन्छ ।

अब इलामको सीमा नाघेर तपाईं पाँचथर पुग्नुहुनेछ । पाँचथर प्रवेश गर्ने क्रममा साधुटार पुगिन्छ । साधुटार पाँचथर सदरमुकाम फिदिमबाट १६ किलोमिटर टाढा पर्छ । यो कृत्रिम तालमा मौसम खुलेको बेला कञ्चनजंघा र कुम्भकर्ण हिमालको प्रतिबिम्ब देख्न सकिन्छ । समुद्री सतहबाट १ हजार १ सय ५० मिटर उचाइमा पर्ने पाँचथरको फिदिम बजार उक्त क्षेत्रको सबैभन्दा ठूलो व्यापारिक केन्द्र हो । त्यसपछि फिदिमलाई केन्द्र बनाएर हिलिहाङ दरबार आदि घुम्न सकिन्छ । संस्कृति, कला आदिमा रुचि छ भने पाँचथरको यात्रा सार्थक हुनसक्छ । ताप्लेजुङ पुगेपछि सबैभन्दा महत्वपूर्ण गन्तव्य बन्नेछ–पाथीभरा । धार्मिक पयर्टनका लागि मुलुकमै परिचित यो ठाउँ नपुगे पूर्वको यात्रा पूरा हुँदैन । ताप्लेजुङको सदरमुकाम फुङ्लिङबाट जिप चढेर पाथीभरासम्मको यात्रा तय गर्न सकिन्छ । ३७ सय ९४ मिटरको उचाइमा पुग्दा चिसोको समस्या भने हुनसक्छ । त्यसैले पूर्वतयारी आवश्यक छ ।

ताप्लेजुङमा अन्य गन्तव्य पनि छन्, जस्तो कि दिकी छ्योलिङ गुम्बा । भनिन्छ यो चार सय वर्ष पुरानो गुम्बा हो । ताप्लेजुङ पुगेपछि तीनजुरेसम्मको यात्रा पनि गर्न सकिन्छ ।

छुटाउनै नहुने गन्तव्य

कन्याम, सन्दकपुर, माइपोखरी ९इलाम० । तिम्बुपोखरी, साधुटार, हिलिहाङ दरबार ९पाँचथर० । पाथीभरा, फुङफुङे झरना ताप्लेजुङ० ।

छुटाउनै नहुने स्वाद

वाचिपा, जुन किराँतको मौलिक परिकार हो । बम्बईसन, च्यांग्राको सुकुटी, सुँगुरको मासु, तोङ्वा ।

ल्याउनैपर्ने कोसेली

चौंरीको छुर्पी, ललिपप, अर्थोडक्स चिया ।

बसोबास एवं यातायात स् हवाई मार्गबाट झापाको भद्रपुरसम्म पुग्न सकिन्छ । त्यहाँबाट सबैतिर गाडी पुग्ने व्यवस्था छ । ताप्लेजुङमा भने सोझै हवाई मार्गबाट पनि जान सकिन्छ तर बीचमा पर्ने गन्तव्यहरू छुट्छन् । यहाँ खानपानको समस्या छैन । सबैतिर होटल तथा लजको व्यवस्था छ । यो यात्रामा पेइङ गेस्टका रूपमा पनि बस्न–खान सकिन्छ ।                                                                   सुनीता मुखिया, नारी म्यागेजीङवाट

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.