भारतीय पर्यटकको पहिलो रोजाइमा सन्दकपुर

December 9, 2019     Paryatan Yatra

भारतको रेल–वे डिपार्टमेन्टमा कार्यरत जलपाइगुडीका बी चौधरी घुम्नकै लागि करिब एक दर्जनपटक नेपाल आइसकेका छन् । फुर्सद मिल्नेबित्तिकै उनी घुुमघाममा निस्किहाल्छन् । उनको पहिलो रोजाइको गन्तव्य नेपाल–भारत सीमावर्ती क्षेत्रमा रहेको इलामको सन्दकपुर हो । उनले भने, ‘करिब दर्जनपटक सन्दकपुर पुगिसकेँ, तर अझै पनि धित मरेको छैन ।’

कोलकातामा व्यापार गर्ने श्रीदम गायत पनि सन्दकपुरमा भेटिए । पहिलोपटक सन्दकपुर आएका उनले ठाउँ गज्जब रमाइलो लागेको प्रतिक्रिया दिए । सन्दकपुरको केही दिनको बसाइले उनको पनि धित मरेको छैन ।

उनले फुर्सद मिलाएर परिवारसहित सन्दकपुर आउने योजना बनाइसके । ‘पहिलोपटक यहाँ आएको किन एक्लै आएँजस्तो भएको छ,’ उनले भने, ‘समय मिलाएर परिवारसहित पुनः सन्दकपुर आउँछु ।’

कोलकाताकै प्रिया मण्डल पाँच वर्षकी छोरी रुसा मण्डलसहित सन्दकपुरमा घुम्दै थिइन् । सन्दकपुरको मनमोहक दृश्यले प्रियालाई निकै मोहित बनाइरहेको थियो । उनको नानी रुसाले भने सन्दकपुरमा निकै जाडो मानिरहेको देखिन्थ्यो ।

बच्चाको चिसो हटाउन उनी तातो र झोलिलो वस्तु खुवाउँदै थिइन् । प्रियासहित उनको परिवारका १४ जना एकैपटक सन्दकपुर घुम्न आएका हुन् । धित नै नमरेको भन्दै उनले जाडो सकिएपछि पुनः आउने बताइन् ।

सिक्किम रिम्भीका हरि प्रधानले सन्दकपुरका बारेमा प्रशस्तै चर्चा सुनेका थिए । तर, सन्दकपुरबाट यति मनमोहक दृश्य देख्न पाइएला भन्ने उनले सोचेका थिएनन् । आँखैअगाडि कञ्चनजंघा हिमालको ताँती, मनै लोभ्याउने सूर्योदय र सफा वातावरणले उनलाई सधैँ सन्दकपुरमै बसौँ जस्तो बनायो ।

आठ-दश हजार भारुमै सन्दकपुर घुम्न सकिने भएपछि अहिले सन्दकपुरमा भारतीय पर्यटकको लर्को लागेको छ । तेस्रो देशबाट भारत आएका विदेशी पर्यटकसमेत सन्दकपुर आइपुग्छन् । सरकारको घुम्नै पर्ने सय गन्तव्यमा परेको सन्दकपुरमा पर्यटकको चाप बढ्दै गएको स्थानीय पेमादन्डु शेर्पाले बताए । 

खानेपानी र विद्युत् समस्या
सन्दकपुरमा १८ कोठा रहेको शेर्पा स्यालेट होटेल सञ्चालन गर्दै आएका पेमादन्डु शेर्पाले होटेलका कोठा प्रायः प्याक हुने गरेको भन्दै पछिल्लो समय आन्तरिक पर्यटक पनि निकै बढेको बताए । तर, सन्दकपुरमा खानेपानी र विद्युत्को भने अभाव छ । सन्दकपुरसम्म विद्युत् पुर्‍याउन अहिले प्रसारण लाइन विस्तारको काम भइरहेको छ । खानेपानी भने माइखोलाको शिरबाट बोकेर प्रयोग गर्नुपर्छ । 

साभारः  नयाँ पत्रिका दैनिकबाट

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.