चुनौतीपूर्ण भ्रमण वर्ष

November 30, 2019     Paryatan Yatra

मुना कुँवर

एक वर्षमा २० लाख पर्यटकलाई स्वागत गर्ने । यो संकल्प सन् २०२० का लागि निर्धारण गरिएको राष्ट्रिय उद्देश्य हो । त्यसैले सन् २०२० लाई भ्रमण वर्षका रूपमा घोषणा गरिसकिएको छ । निकै उत्साहका साथ घोषणा गरिएको ‘नेपाल भ्रमण वर्ष २०२०’ सुरु हुन अब एक महिना मात्रै बाँकी छ । सन् २०१८ मा करिब १२ लाख पर्यटक नेपाल आएकामा त्यसको दुई वर्षभित्रै ८ लाखभन्दा बढी पर्यटक ल्याउने लक्ष्यसहित घोषणा गरिएको भ्रमण वर्ष सफल हुनेमा सरकार आफैँ र पर्यटक व्यवसायीसमेत अझै विश्वस्त भने देखिँदैनन् ।

नेपाललाई आकर्षक, सुरक्षित, मनोरम र साहसिक पर्यटकीय गन्तव्यका रूपमा विश्व बजारमा स्थापित गर्न सरकारले आव ०७५/७६ को बजेटमार्फत भ्रमण वर्ष २०२० को घोषणा गरेको हो । तर, भ्रमण वर्षको प्रचार–प्रसार, तालिम, भ्रमण र छलफलबाहेक पूर्वाधार निर्माणको तयारीमा भने सरकारको ध्यान गएको देखिँदैन । तयारीका लागि पर्याप्त समय र बजेट हुँदाहुँदै पनि पूर्वाधार निर्माण कार्यमा सरकारले बेवास्ता गरेको पर्यटनविज्ञ चन्द्र रिजालले बताए । ‘भ्रमण वर्ष सुरु हुन एक महिना बाँकी छ । तर, भ्रमण वर्षको अनुभूत हुने गरी गतिविधि भने भएका छैनन्,’ उनले भने । 

दोब्बर पर्यटक भित्र्याउनुपर्ने 
सरकारको लक्ष्यअनुसार २० लाख पर्यटक नेपाल भित्र्याउन झन्डै दोब्बर संख्या बढाउनुपर्नेछ । पर्यटन विभागको तथ्यांकअनुसार सन् २०१८ मा नेपालमा ११ लाख ७३ हजार ७२ पर्यटक भित्रिए । सन् २०१९ को अगस्ट महिनासम्ममा भने नेपालमा ७ लाख ४२ हजार ६ सय पर्यटक भित्रिएका छन् । यो तथ्यांकलाई आधार मान्ने हो भने दैनिक २ हजार ६२ पर्यटक भित्रिएका छन् । भ्रमण वर्षको लक्ष्य पूरा गर्ने हो भने दैनिक ५ हजार ५ सय ५५ पर्यटक नेपाल भित्रिनुपर्नेछ । यो संख्या भनेको अहिले भित्रिइरहेका पर्यटकको संख्याको दोब्बर हो । पर्यटक संख्या बढाउन चुनौतीपूर्ण नरहेको पर्यटन मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङ दाबी गर्छन् । 

विमानस्थल निर्माण सुस्त
नेपाल भित्रिने पर्यटकमध्ये अधिकांश पर्यटक हवाई मार्गबाट भित्रिन्छन् । तर, नेपालमा एउटा मात्रै अन्तर्राष्ट्रिय विमानस्थल छ । त्यसैले सरकारले भ्रमण वर्षलाई लक्षित गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता वृद्धि गर्ने, गौतम बुद्ध र पोखरा विमानस्थललाई सञ्चालनमा ल्याउने बताएको थियो । 

तर, गौतम बुद्ध र पोखरा विमानस्थल तत्काल सञ्चालन नआउने निश्चित छ । पर्यटन मन्त्रालयले ०७६ भदौमा नै गौतम बुद्ध विमानस्थल सञ्चालनमा आउने बताएको थियो । सो अवधिमा निर्माण कार्य सम्पन्न नभएपछि सञ्चालन मिति पुसमा सारियो । पुसमा पनि सञ्चालन हुने सम्भावना नदेखिएपछि सञ्चालन मिति चैतमा सारिएको छ । गौतम बुद्ध विमानस्थलको निर्माण कार्य ८० प्रतिशत सकिएको पर्यटन मन्त्रालयका प्रवक्ता तामाङले बताए । ‘चैतसम्ममा निर्माणको कार्य सम्पन्न हुनेछ । त्यसपछि व्यवस्थापनको प्रक्रिया अगाडि बढाउनेछौँ,’ उनले भने । पोखरा विमानस्थल भने सन् २०२१ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

व्यवस्थित छैन विमानस्थल
त्रिभुवन विमानस्थलको क्षमता १४ लाख पर्यटक मात्रै हो । त्यसमा पनि विमानस्थलको कमजोर व्यवस्थापनका कारण क्षमताको पनि सदुपयोग हुन नसकेको व्यवसायीको आरोप छ । पर्याप्त पार्किङ नहुँदा, विमान कम्पनी र विमानको संख्या थप भएसँगै विमानस्थलको स्तरोन्नति हुन नसक्दा हवाई ट्राफिकको समस्या विकराल बन्दै गएको छ । यही अवस्था रहने हो भने भ्रमण वर्षले अन्तर्राष्ट्रिय क्षेत्रमा राम्रो सन्देश नजाने पयर्टनविज्ञ रिजाल बताउँछन् । भ्रमण वर्षलाई लक्षित गरी त्रिभुवन विमानस्थललाई सौन्दर्यीकरण गर्न १ करोड विनियोजन भएकाले केही समयमा देखिने गरी परिवर्तन हुने विमानस्थलको दाबी छ ।

आरोपप्रत्यारोपमा सरकारनिजी क्षेत्र
भ्रमण वर्षका लागि निजी क्षेत्रले आफ्नो तयारी पूरा गरे पनि सरकारले आफ्नो दायित्व पूरा नगरेकोे होटेल एसोसिएन अफ नेपालका अध्यक्ष सिर्जना राणाको आरोप छ । सरकारले सरसफाइजस्तो अति आवश्यक समस्यासमेत सामधान गर्न नसकेको उनले बताइन् । ‘हामीले आफ्नो तर्फबाट गरेका छाैँ । सरकारले पनि त आफ्नो काम गर्नुप¥यो,’ उनले भनिन् । तर, सरकारको काम भनेको नेतृत्व गर्ने मात्रै भएको पर्यटन मन्त्रालयका प्रवक्ता तामाङको भनाइ छ । ‘हाम्रो काम नेतृत्व गरिदिने हो । हामीले व्यवसाय चलाउने होइन । त्यसैले निजी क्षेत्रले पनि यसमा सक्रियता देखाउनुपर्छ,’ उनले भने ।

नेपालले हरेक वर्ष विश्व पर्यटनको जम्मा . प्रतिशत दक्षिण एसिया भ्रमण गर्ने पर्यटकमध्ये जम्मा . प्रतिशत विदेशी पर्यटक भित्र्याउँछ त्यसैगरी, विश्व पर्यटन कारोबारको जम्मा .०३ प्रतिशत रकम दक्षिण एसियाको पर्यटन व्यापारको . प्रतिशत रकम आम्दानी नेपालको भागमा पर्छ  

भ्रमण वर्षका लागि ६२ करोड 
नेपाल भ्रमण वर्षको सचिवालयले भ्रमण वर्षको तयारीका लागि ६१ करोड ७४ लाख रुपैयाँ बजेट पारित गरेको छ । यसमध्ये ५५ करोड ८६ लाख रुपैयाँ भ्रमण वर्ष लक्षित विभिन्न कार्यक्रममा खर्च गरिनेछ भने बाँकी प्रशासनिक खर्च हुने भ्रमण वर्षको सचिवालयले जनाएको छ । 

यसमध्ये प्रचार–प्रसारका लागि सबैभन्दा बढी २६ करोड २५ लाख खर्च गर्ने भएको छ । त्यस्तै, राष्ट्रिय तथा अन्तर्राट्रिय सम्मेलनका लागि १२ करोड ७८ लाख, पर्यटन उपजका लागि १० करोड ९० लाख, खेल–पर्यटन कार्यक्रममा ३ करोड १५ लाख  विनियोजन गरेको छ । अघिल्लो वर्षको कार्यक्रमलाई निरन्तरताका लागि १ करोड २३ लाख विनियोजन गरेको छ । 

तयारीविनाका भ्रमण वर्षहरू 
सरकारले पहिलोपटक सन् १९९८ मा नेपाल भ्रमण वर्ष मनायो । ०४६ सालको आन्दोलनपछि विश्वमाझ नेपालको परिवर्तित स्वरूप देखाउनका लागि यो भ्रमण वर्षको आयोजना गरिएको थियो । उक्त भ्रमण वर्षमा सरकारले ५ लाख पर्यटक भिœयाउने लक्ष्य लिएको थियो । तर, ४ लाख ६३ हजार पर्यटक मात्रै नेपाल भित्रिए । यद्यपि, उक्त भ्रमण वर्ष पनि नेपालमा मेला र महोत्सवको सुरुवात भएको पर्यटनविज्ञ डा. लेखनाथ भण्डारी बताउँछन् । सन् २०११ लाई पनि सरकारले भ्रमण वर्षको घोषणा ग¥यो । त्यस वर्ष सरकारले १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएकोमा ७ लाख ३६ हजार पर्यटक मात्र नेपाल भित्रिए ।

यस्तो छ अवस्था
नेपालले ३९ वटा मुलुकसँग हवाई सम्झौता छ । यो वर्ष नै नेपालले अस्टे«लियासँग हवाई सम्झौता गरेको छ भने जापानसँग पुनरावलोकन गरेको छ । अन्य मुलुकसँग पनि हवाई सम्झौताको तयारी गरेको छ । नेपालबाट २६ वटा अन्तर्राष्ट्रिय एयरलाइन्सले ११ वटा मुलुकको २२ वटा गन्तव्यमा उडान भर्छन् । यस वर्ष जजिरा एयरवेज र टिएटिए एसआइएले सञ्चालन अनुमति लिएका छन् भने स्पाइसजेटले उडान अनुमति अन्तिम प्रक्रियामा पुगेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौडेलले बताए । त्यस्तै, यो वर्ष हिमालयन्स एयरलाइन्सले चीनमा उडान सुरु गरेको छ । नेपाल एयरलाइन्सले जापानको ओसाका उडान सुरु गरेको छ । आगामी दिनमा चीनको गोन्जाओ र जापानको नारितामा उडानको तयारी गरेको छ । नेपालले हरेक वर्ष विश्व पर्यटनको जम्मा ०.१ प्रतिशत र दक्षिण एसिया भ्रमण गर्ने पर्यटकमध्ये जम्मा ५.७ प्रतिशत विदेशी पर्यटकहरू भित्र्याउँछ । त्यसैगरी, विश्व पर्यटन कारोबारको जम्मा ०.०३ प्रतिशत रकम र दक्षिण एसियाको पर्यटन व्यापारको १.४ प्रतिशत रकम आम्दानी नेपालको भागमा पर्छ ।

२०२० लाई आधार वर्ष मानेका छाैँ
रुद्रसिंह तामाङ प्रवक्ता, पर्यटन मन्त्रालय
भ्रमण वर्षलाई २०२० मा मात्रै सरकारले सीमित राखेको छैन । यो हाम्रा लागि आधार वर्ष हो । यसअघि घोषणा गरिएका भ्रमण वर्षहरूमा अस्थिर सरकारका कारण विभिन्न समस्या भए । तर, यो वर्ष यस्तो कुनै समस्या छैन । त्यसैले अहिले हामीले २० लाख पर्यटक भित्र्याउनुलाई मात्रै पर्यटन वर्ष मानेका छैनाँै । हामी गुणात्मक पर्यटक भित्र्याउने लक्ष्यमा छौँ । त्यसैले २०२० हाम्रा लागि आधार वर्ष बन्न सक्छ । २०२१ र २०२२ मा यसले गति लिनेछ । 

भ्रमण वर्ष निरन्तर चलिरहने प्रक्रिया हो
रोहिणीप्रसाद खनाल, कार्यक्रम प्रबन्धक, भ्रमण वर्ष २०२० सचिवालय 
हामीले विभिन्न मुलुकमा गएर प्रचार–प्रसार, ब्रान्डिङ गर्ने, विभिन्न मुलुकका प्रख्यात व्यक्तित्वलाई भ्रमण वर्ष एम्बेसेडर नियुक्त गरिसकेका छौँ । हाम्रो लक्ष्य भनेको अन्तर्राष्ट्रिय जगत्मा नेपाल सुन्दर, शान्त र घुम्न लायक मुलुक हो भनेर चिनाउनु हो । यो काम यो एक वर्षमा सम्भव छैन । तर, २०२० आधार वर्ष बन्छ । भ्रमण वर्ष निरन्तर चलिरहने प्रक्रिया हो ।

गुणात्मक पर्यटनको सम्भावना कम
चन्द्र रिजाल, पर्यटनविज्ञ
यसअघि घोषणा भएका भ्रमण वर्षभन्दा यसपटकको भ्रमण वर्षका लागि केही सुधारका काम भएका छन् । स्थिर सरकारका कारणले पनि कर्मचारीतन्त्रले काम गरेको देखिन्छ । तर, २० लाख भित्र्याउने गरी भने सरकारले पूर्वाधारमा लगानी र निर्माण गर्न सकेको छैन । सडकको विस्तार, हवाई मार्गको व्यवस्थापन, विमान थप तथा विमानस्थल निर्माण सम्पन्न हुन सकेको छैन । गौतम बुद्ध र पोखरा विमानस्थल समयमा नै सकिए भए केही आशा लाग्ने ठाउँ देखिन्थ्यो । तर, त्यो पनि सम्भव भए । संख्यात्मक रूपमा पर्यटक भित्रिएलान्, तर गुणात्मक पर्यटकको सम्भावना भने अहिलेको तयारीले सम्भव छैन ।

नयाँ पत्रिका दैनिकबाट

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.