हरित उपत्यका खुम्जुङ घुम्न जाउँ

October 19, 2019     Paryatan Yatra

सोलुखुम्बुको खुम्जुङमा पर्ने खुम्जुङ उपत्यकालाई पर्यटकीय क्षेत्रमा हरित उपत्यकाका नामले चिनिन्छ । पर्यटकको उपत्यका भनिएको नाम्चेभन्दा केही माथि समुन्द्री सतहदेखि ३ हजार ८ सय मिटरको उचाइमा रहेको खुम्जुङ उपत्यका अर्थात् ग्रिन भ्याली बिस्तारै अन्तर्राष्ट्रियस्तरमा परिचित हुन थालेको छ । 

९ वर्षअघि खुम्जुङ युवा क्लबको नेतृत्वमा सञ्चालन गरिएको अभियानले खुम्जुङको खुन्दे र खुम्जुङ गाउँलाई हरित उपत्यकामा परिणत गरेको हो । 

पर्यटक तथा पर्यावरण दुवैलाई आकर्षण गर्ने उद्देश्य राखेको यो उपत्यकाको करिब ७ सय घरधुरी सबैको छाना हरियो रंगको जस्तापाताले छाइएको छ । खुम्जुङ युवा क्लबका अध्यक्ष छिरिङ शेर्पाका अनुसार प्रत्येक घरले कम्तीमा पनि छानो हरियो रंगको प्रयोग गर्नुपर्ने अभियान चलाइएको थियो । यसले चराचुरुंगी र वन्यजन्तुलाई समेत आकर्षण गर्ने बताइएको छ । त्यहाँको नियम अनुसार अन्य रंगको छानो प्रयोग गर्ने घरपरिवारले मध्यवर्ती क्षेत्र विकासको नियन्त्रणमा रहेको सगरमाथा राष्ट्रिय निकुञ्ज भित्रको घाँस–दाउरा काट्न पाउँदैनन । 

खुम्जुङ पुग्न सोलुखुम्बु सदरमुकाम सल्लेरीबाट पैदल चारदेखि पाँच दिन लाग्छ भने हवाई यात्रा मार्फत लुक्लाबाट तीन दिन लाग्छ । अस्तित्वमा छ भनेर दाबी गरिएको रहस्यमय जीव यतीको टाउकोको छाला यही उपत्यकाको खुन्देस्थित गुम्बामा रहेकाले पनि पर्यटकहरू खुम्जुङ पुग्छन् । 

यो उपत्यका शेर्पा समुदायले देवताका रूपमा पुज्ने खुम्बिह्यूला हिमालको काखैमा छ । अधिकांश शेर्पाको घरमा सञ्चालन गरिएको होमस्टेका कारण आन्तरिक तथा बाह्य पर्यटकका लागि खाने–बस्ने समस्या हुँदैन । यहाँ पुग्ने जो–कोहीले प्रथम सगरमाथा आरोही स्व. सर एडमन्ड हिलारीले स्थापना गरेको खुम्जुङ माध्यमिक विद्यालय पनि अवलोकन गर्छन् ।

कुम्भराज राई

साभार... साप्ताहिक

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.