हृदयसँग सिधै ‘कनेक्सन’ हुने भूगोल !

November 14, 2022     Paryatan Yatra

गोकर्णप्रसाद उपाध्याय

पाँच-पाँच गाउँपालिका र नगरपालिका गरी जम्मा दस स्थानीय तह रहेको संखुवासभा।

हिमाली जिल्ला भए पनि तीनवटै क्षेत्रको अनुभव गर्न सकिने। संसारकै होचो अरूण उपत्यकाको होचाइ (४५७ मिटर) देखि विश्वको पाँचौं अग्लो मकालु हिमालको उचाइ (८,४६३ मिटर) सम्मको अलौकिक भूगोल भएको संखुवासभाको प्रकृतिमाथि बेग्लै गर्व महसुस हुन्छ।

मध्य भागबाट बग्ने सभा खोला र पश्चिम भागबाट बग्ने संखुवा खोला। दुई खोलाको नाम जोडेर जिल्लाको नाम संखुवासभा राखिएको मान्यता छ। उहिलेउहिले यी दुई खोलाको बीचको भूभागलाई मात्र संखुवासभा भन्ने गरिएकोमा पछि विभिन्न कालखण्डमा भएको प्रशासनिक पुनर्संरचनाको क्रममा हालको भूगोल कायम भएको हो।

संखुवा र सभाबाहेक अरूण, बरूण, केवा, हेवा, पावा, उवा, पिलुवा, इप्सुवा, आप्सुवा, केकुवा, इखुवा, कुसुवा, सिसुवा, लखुवा, निदुवा। सबै खोलाकै नाम हुन्। सभापोखरी, पाँचपोखरी, भैरवकुण्ड, सूर्यकुण्ड, दूधपोखरी, सिद्धपोखरी, भूतपोखरी, पोप्तीपोखरी, गुफापोखरी। यी जिल्लाका प्रसिद्ध पोखरीहरू।

नदी प्रणाली गज्जबै छ। त्यसैले विद्युतको प्रचुर सम्भावना बोकेको संखुवासभामा हाल कम्तीमा उनान्तीस हाइड्रोपावर निर्माणाधीन छन्। अध्ययन भन्छ- करिब ५ हजार २ सय मेगावाट उत्पादन हुन सक्छ। हाइड्रोकै कारण चहलपहल मात्रै बढेको छैन, अर्थतन्त्र पनि चलायमान भएको छ। सुरक्षा निकायहरूको पनि बाक्लै उपस्थिति छ।

नेपाल प्रहरीका ४४, नेपाली सेनाका ९ र सशस्त्र प्रहरी बल, नेपालका चार युनिटहरू छन्। त्यसका अतिरिक्त अरूण तेस्रो जलविद्युत आयोजना रहेको ठाउँमा र किमाथांका जोड्ने ट्रयाक खोल्न सुरक्षाकर्मीको अलग्गै टिम बसेको छ।

उत्तरी क्षेत्रतिर शून्यताझैं छ। मानिसको आवतजावत, चहलपहल न्यून छ। चीनतर्फको सीमामा बाइस पिलर छन्। पोप्टी भञ्ज्याङ र थुदाम गाउँबाट तिब्बत र नेपाल आवतजावत हुने भएकाले यी बेल्ट तस्करीका लागि प्रयोग हुन सक्ने सुरक्षा चुनौती पनि छ। थुदाम निकै विकट छ। मतदाता ६०-६५ जना मात्र छन्।

उत्तरी हिमाली सीमा क्षेत्रका केही गाउँका नागरिकहरू कोरोनाअघि तिब्बतमा काम गरी गुजारा गर्थे। हाल सिमाना बन्द भएकाले उनीहरू बेरोजगार छन्। सडक सञ्जाल छैन, टेलिफोन र विद्युतको पहुँच छैन। सिलिचोङ गाउँपालिकामा २०७७ सालमा आएको पहिरोका कारण विस्थापित एक सय ६ घर पुनर्स्थापनाको क्रममा छन्।

हटियागोलामा सीमा प्रशासन कार्यालय र चैनपुरमा इलाका प्रशासन कार्यालय छन्। हटियागोलाको कार्यालय विविध कारणले केही समयअघि सम्म सदरमुकाममै थियो। जिल्ला अदालत चैनपुरमा छ। सदरमुकामबाट करिब ४३ किलोमिटर टाढा। कतिपय सेवाग्राहीलाई दिनहुँ ओहोरदोहोर गर्दा समस्या छ।

मेरो गृह जिल्ला बझाङको सदरमुकाम पनि चैनपुर नै हो। खाँदबारीबाट चैनपुर जाँदा यस्तो लाग्यो, म मेरै ‘चैनपुर’ जाँदैछु। सडकको बान्की उस्तै। हिमालको हावा उस्तै। भूगोल यस्तो हुँदो रहेछ, ‘कनेक्सन’ सिधै हृदयसँग हुने! मलाई मेरै बझाङ यात्रामा निस्किएजस्तो अनुभूति भयो। यस्तो लाग्यो- सैपालबाट बग्दै आउने सेतीजस्तै सुसाउँदी हुन् यहाँकी अरूण पनि! लागुऔषधको समस्या नियन्त्रणमै छ। केही ‘ब्राउन’ गाडी चालकहरू ‘सुगर’ प्रयोगकर्ता भेटिए पनि सुई हान्ने, गोटी खाने गरेको पाइँदैन। आसाम, भारततिर बस्दा ताकाको बानीका कारण साठी वर्षभन्दा बढी उमेरका केही मानिसहरू कानी (कच्चा अफिम) प्रयोग गर्ने रहेछन्।

दाहालहरूको बिर्ता मादी

चैनपुर हुँदै तेह्रथुम जाँदा पिलुवा खोलापारि दोबाटो आउँछ। बायाँतिर पिच बाटो देखेर त्यतै मोडियौं। दस-एघार किलोमिटर उक्लिएर मादी नगरपालिकाको ओखरबोटे बजार झुल्किएपछि थाहा भयो, अघि तल दायाँ मोड्नुपर्ने ठाउँमा पिच देखेर फुर्किँदै उक्लिएको बाटो गलत रहेछ!  यतैबाट तेह्रथुम जाने बाटो भए पनि खराब भएकाले फर्किँदा बेस हुने जानकारी पाइयो। बजारमै आइसकेकाले कम्तीमा एक कप चिया र अरू केही स्थानीय परिकार खाने मनसायले एउटा ‘मादी होटल एन्ड लज’ मा पस्यौं। चिया र लोकल बिस्कुट दुई पोका मगायौं।

साहुजी फरासिला लागेर गफिन मन लाग्यो। बाइस वर्ष कपडा व्यवसाय गरिसकेपछि कपडाको भविष्य नदेखेर चार वर्षदेखि होटल व्यवसायमा लागेका प्रोप्राइटर नवीन दाहाल। दाहालहरूको बिर्ता भएको ठाउँ रहेछ मादी। तेह्र पुस्तादेखि बस्न थालेका अरे! अहिले धेरै थातथलो छोडेर हिँडिसके। साहुजीको भने सकुञ्जेल यही बस्ने र होटल व्यवसाय पनि केवल दस वर्ष मात्र गर्ने योजना रहेछ। भन्दै थिए, ‘चार वर्ष भयो, अब छ बाँकी।’

छोटो समय संखुवासभाको सदरमुकाम खाँदबारीबाट बाह्र किलोमिटर टाढाको तुम्लिङटार घुमियो। फेरि तरियो तर अलि पऽऽऽऽर पहाडको टुप्पोमा अवस्थित अनौठो नुम बजार हेर्न पाइएन। न मौलिक तरिकाले तयार पारिने सख्खरको स्वाद लिन पाइयो। बरू अल्लोको कपडा र अरू कोसेली लिन पाइयो। मकालु हिमालको आँगनीझैं लाग्ने संखुवासभामा मकालुको चिसोपन नजिकैबाट महसुस गर्न नपाए पनि तुम्लिङटारको तातोपन महसुस भयो।

‘वारि जमुना, पारि जमुना’ को भाकासँगै अरूण उपत्यकाका लोक सुसेली सुन्दै हुर्किएका मजस्ता संगीत पारखीका लागि लोकभाकाको यो उर्वर भूमिमा पुग्न पाउनु नै गर्वको कुरा हो। साँच्चै संखुवासभा त वा, वा भन्न मिल्ने रहेछ। साभारः सेतोपाटीवाट

(लेखक उपाध्याय गृह मन्त्रालयमा उपसचिव पदमा कार्यरत छन्।)

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.